मकवानपुर । बागमती प्रदेश सरकारकाे आर्थिक वर्ष २०८०/०८१ को बजेट आज शुक्रबार सार्वजनिक हुने भएकाे छ । नेपालकाे संविधानमा व्यवस्था भए अनुसार प्रदेश सरकारले शुक्रबार वार्षिक बजेट सार्वजनिक गर्ने भएकाे हाे ।
शुक्रबार अपराह्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएकाे छ । गत जेष्ठ १४ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे प्रदेश सरकारले आव २०८०/०८१ को लागि करिब ५१ अर्बको बजेट ल्याउने तयारी गरेको बताइएकाे छ ।
विशेषगरी कृषि, पर्यटन, भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालगायत विषय प्राथमिकतामा राखेर बजेट सार्वजनिक हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएकाे छ ।
आज काेशी प्रदेश बाहेकका प्रदेश सरकारले बजेट सार्वजनिक गर्दैछ । कोशी प्रदेश सरकारले जेठ ३२ गते अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको अनुमानित बजेट सार्वजनिक गरिसकेकाे छ ।
मकवानपुर । नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञावलीले नेकपा एमालेले भ्रष्टाचार गर्न नदिने र गर्नेले छुट नपाउने बताएका छन । नेकपा एमाले, मकवानपुर जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भ्रष्टाचारकाे उजागर गर्ने, भ्रष्टाचारीलाई कार्वाही गर्ने र भ्रष्टाचार विरूद्व संघर्ष गर्ने पार्टी नेकपा एमाले भएकाे बताए ।
राष्ट्रियता रक्षा, संघीय लाेकतान्त्रिक गणतन्त्रकाे सुदृढीकरण, विकास र समृद्वि तथा सुशासनमा नेकपा एमाले कुनै सम्झाैता नगर्ने बताउँदै पार्टीप्रति चाैतर्फी घेराबन्दी हुनु र मुलुकमा भ्रष्टाचार व्यप्त हुनु, राष्ट्रियता कमजाेर हुनु, लाेकतन्त्रकाे विरूद्वका शक्ति सल्बलाउनु कुनै संयाेग नभएर मुलुकलाई कमजाेर बनाउने याेजनाबद्व षडयन्त्र भएकाे ज्ञवालीले दावी गरे । ‘पार्टी सदस्य र कमिटीलाई चुस्त राख्दै जनताकाे समस्या र दुःखमा सहभागी भएर सबैखाले भ्रमहरूलाई चिर्दै नेकपा एमालेलाई सुदृढ बनाउँदा मात्र विराेधीहरूकाे जस्ताेसुकै षडयन्त्र समाप्त पार्न सकिन्छ’ उनले भने ।
प्रशिक्षण कार्यक्रममा पाेलिटव्यूराे सदस्य तथा स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले दर्शनले सही दिशा देखाएन, सिद्धान्तले व्यवहारमा सिद्धि प्राप्त गरेन, नीति-कार्यक्रम कार्यान्वयनमा गएनन् , कार्यशैली जीवन शैली बनेन, इच्छा शक्ति कार्य शक्तिमा रूपान्तरण भएन, कर्तव्यले गन्तव्य देखेन र निजी स्वार्थहरू सामुहिक स्वार्थमा वदलिएन भने कम्युनिष्ट राजनीतिको मूल्य ह्रास हुँदै जाने बताए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरू रामेश्वर राना, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डाेरमणि पाैडेल, केन्द्रीय निर्वाचन विभागकाे सदस्य अनन्त पाैडेल, प्रदेश कमिटीका सदस्यहरू, सल्लाहकार परिषद् र विभागका सदस्यहरूकाे अथित्यतामा भएकाे प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरू, जिल्ला सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च तथा लेखा कमिटीका पदाधिकारीहरू, पालिका र विशेष ईलाका कमिटीका अध्यक्षहरू, जनसंगठनका केन्द्रबाट जिल्ला ईन्चार्ज तथा जिल्ला अध्यक्षहरूसहितकाे १ सय ५० जनाकाे उपस्थिति रहेकाे नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले बताए ।
जेठ ३१ र ३२ दुई दिन भएको प्रशिक्षण कार्यक्रममा वाईवी आचार्यले सूचना प्रविधिकाे प्रयाेगबारे प्रशिक्षण दिएको सचिव सिग्देले बताए । पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा भएकाे प्रशिक्षण कार्यक्रम भएको हो । अब जिल्लाव्यापी रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताईएकाे छ ।
जुनु घिमिरे
हिजोआज मेरा सपनाहरू
आफ्नै आमाका गाला झैँ लाग्छन् ।
जसरी ,जीवनको वृतमा घुम्दा घुम्दै
आमाका पोटिला गाला
विस्तारै विस्तारै खुम्चिएको देखेँ
त्यसैले ,
आफ्नै आँखा अगाडी
चाउरिदै छन् मेरा सपनाहरू ।
आँसु रितिएका आँखा भित्र
सम्भावना, लाचार भएर फर्किए झैँ लाग्छ
न मनले उमंग फूलाउन सहयोग गर्छ
न ओठले हाँसोको प्रभाह भर्छ
मात्र जीवन ठडिएको छ
हिमाल भएर
खुसी थोपा थोपा भएर पग्लिरहे छ
अनि ,
सम्झन्छु आमाका गाला
जहाँबाट, आमाको सुन्दरता चुहियो
हिउँ जसरी
जीवनमा आइलाग्ने सुख दुखका रापले
पगाली रहयो
आमा पग्लि रहनु भो
र त आमाका गाला समय भन्दा छिटो खुम्चिए
हो, ठ्याक्कै त्यस्तै
मेरा सपनाहरू एक एक गर्दै
सम्झौताको वृतमा घुमेर
चाउरी परिरहेछन्
तर पनि मेरा सपनाहरू
आमाले झैँ खित्का छोडेर हाँसिरहे छन् ।
भक्तपुर
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा करेण्ट लागि २ जनाको मृत्यु भएको छ ।
करेण्ट लागि मृत्यु हुनेमा बकैया ८ गोठडाडा बस्ने ६० वर्षीय खर्क बहादुर थिङ र ५० वर्षीय पूर्ण बहादुर लो रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
जेठ ३१ गते दिउँसो ३ बजेको समयमा बकैया ८ तल्लो बिरेफाटस्थित जीत बहादुर बम्जनको मकै बारीमा लत्रीएको बिजुलीको नाङ्गोतार उठाउन पोल गाड्न खाडल खन्ने क्रममा तारले फलामको खन्ती छुदा करेण्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेण्ट लागि थिङ र लोको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा हात्तीसुडे प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कृष्ण गौतम सहितको टोली गई घटनास्थल सुरक्षीत राखिएको तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सहितको टोली खटिएको बताइएको छ ।
मकवानपुर । हेटौंडामा आगामी असार ३० गते ‘कोरा’ साइकलयात्रा हुने भएकाे छ । हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा ‘कोरा’ साइकलयात्रा हुने भएकाे हो ।
साइकलयात्रामा २ सय जना साइकलयात्रीले सहभागिता जनाउने हिमालयन राइडर्स सोसाइटी मकवानपुरले जनाएकाे छ । सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले हेटौंडा कोरा च्यालेन्ज २०२३ मा सहयात्रा गर्न इच्छुक साइकलयात्रीलाई सहभागी हुन आग्रह गरेका छन् ।
यो वर्षको कोरा साइकलयात्रा हुप्राचौरको पशुपतिनाथ मन्दिरबाट सुरु भई कुष्माण्ड सरोबर (त्रिवेणीधाम), जलेश्वर, मुक्तिनाथ, बिन्द्यवासिनी, बनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, भुटनदेवी मन्दिर परिक्रमा गरी करिब २१ किमिको हुने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताए ।
‘कोरा’ साइकलयात्रा विश्वभरीका साइकलयात्रीहरुले स्थानीय मठ मन्दिरहरुको परिक्रमा गरी धार्मिक महोत्सवको रुपमा मनाउँदै आएका छन् । साेही अनुसार हेटौंडामा ‘कोरा’ साइकलयात्रा मनाइने भएको हाे।
