जुनु घिमिरे
हिजोआज मेरा सपनाहरू
आफ्नै आमाका गाला झैँ लाग्छन् ।
जसरी ,जीवनको वृतमा घुम्दा घुम्दै
आमाका पोटिला गाला
विस्तारै विस्तारै खुम्चिएको देखेँ
त्यसैले ,
आफ्नै आँखा अगाडी
चाउरिदै छन् मेरा सपनाहरू ।
आँसु रितिएका आँखा भित्र
सम्भावना, लाचार भएर फर्किए झैँ लाग्छ
न मनले उमंग फूलाउन सहयोग गर्छ
न ओठले हाँसोको प्रभाह भर्छ
मात्र जीवन ठडिएको छ
हिमाल भएर
खुसी थोपा थोपा भएर पग्लिरहे छ
अनि ,
सम्झन्छु आमाका गाला
जहाँबाट, आमाको सुन्दरता चुहियो
हिउँ जसरी
जीवनमा आइलाग्ने सुख दुखका रापले
पगाली रहयो
आमा पग्लि रहनु भो
र त आमाका गाला समय भन्दा छिटो खुम्चिए
हो, ठ्याक्कै त्यस्तै
मेरा सपनाहरू एक एक गर्दै
सम्झौताको वृतमा घुमेर
चाउरी परिरहेछन्
तर पनि मेरा सपनाहरू
आमाले झैँ खित्का छोडेर हाँसिरहे छन् ।
भक्तपुर

