मकवानपुर । हेटौंडामा आगामी असार ३० गते ‘कोरा’ साइकलयात्रा हुने भएकाे छ । हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा ‘कोरा’ साइकलयात्रा हुने भएकाे हो ।
साइकलयात्रामा २ सय जना साइकलयात्रीले सहभागिता जनाउने हिमालयन राइडर्स सोसाइटी मकवानपुरले जनाएकाे छ । सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले हेटौंडा कोरा च्यालेन्ज २०२३ मा सहयात्रा गर्न इच्छुक साइकलयात्रीलाई सहभागी हुन आग्रह गरेका छन् ।
यो वर्षको कोरा साइकलयात्रा हुप्राचौरको पशुपतिनाथ मन्दिरबाट सुरु भई कुष्माण्ड सरोबर (त्रिवेणीधाम), जलेश्वर, मुक्तिनाथ, बिन्द्यवासिनी, बनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, भुटनदेवी मन्दिर परिक्रमा गरी करिब २१ किमिको हुने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताए ।
‘कोरा’ साइकलयात्रा विश्वभरीका साइकलयात्रीहरुले स्थानीय मठ मन्दिरहरुको परिक्रमा गरी धार्मिक महोत्सवको रुपमा मनाउँदै आएका छन् । साेही अनुसार हेटौंडामा ‘कोरा’ साइकलयात्रा मनाइने भएको हाे।

