मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले संविधानको व्यवस्था अनुसार सबै नागरिकको भाषा सम्बन्धी अधिकारलाई सुनिश्चित गरेको छ बताएका छन् ।
भाषा आयोगले हेटौंडामा आयोजना गरेको सरकारी कामकाजमा मातृभाषाः वार्षिक शिक्षाको नमूना विकास सम्बन्धी सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् । संघीयताको आलोचना भइरहेको समयमा नागरिकको अपनत्व हुनेगरी प्रदेश सरकारले सरकारी कामकाजी भाषा सम्बन्धी ऐन जारी गरेको उनले बताए ।
‘प्रदेशमा बोलिने भाषा तथा संस्कृतिको संरक्षणमा सरकार गम्भीर रहेको छ । प्रदेशमा बोलिने सबै भाषाहरूलाई सन्तुलित रूपमा विकास र सम्वर्द्धन गर्नुपर्छ’ उनले भने । ‘सरकारले संविधानको व्यवस्था अनुसार सबै नागरिकको भाषा सम्बन्धी अधिकारलाई सुनिश्चित गरेको छ’ उनले भने ‘प्रदेश सरकारले बहुसंख्यक नागरिकले बोल्ने तामाङ्ग र नेवार भाषालाई सरकारी कामकाजमा लागू गरेको छ ।’
प्रदेश सरकारले भाषा ऐन कार्यान्वयनका लागि पहिलो चरणमा प्रदेशसभामा २ वटा दरबन्दी सृजना गरी अनुवादक नियुक्त गर्ने र भाषा अनुवाद यन्त्र खरिद तथा एप्लीकेशन निर्माणको तयारीमा रहेको उनले बताए ।
कार्यक्रममा प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले प्रक्रियागत रूपमा प्रदेश सरकारले भाषा सम्बन्धी ऐनका व्यवस्थाहरूलाई कार्यान्वयनमा अघि बढ्ने उनको भनाई छ । संघीयताको सबल पक्षको रूपमा रहेको भाषा सम्बन्धी अधिकार आम नागरिकमा पुर्याउन प्रदेश सरकारले भूमिका खेल्ने उनले बताए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा रहेका धार्मिक तथा पर्यटकीय सम्पदाहरुको प्रचारप्रसारकाे लागि हेटौंडा सम्पदा यात्रा हुने भएको छ ।
हेटौंडा-७ नागस्वतीको हेटौंडा एडभेन्चर क्लबको आयोजनामा ५ असोजमा हेटौंडा सम्पदा यात्रा २०८१ हुने क्लबले विहीबार पत्रकार भेटघाट गर्दै जानकारी दिएकाे हाे । पत्रकार भेटघाटमा क्लब अध्यक्ष सुशील सुवेदीले धार्मिक तथा पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गर्दै भ्रमण गर्न लागेको पहिलो पटक भएकाे बताए ।
दुईपाङ्ग्रे सवारी साधनमा उक्त यात्रा गरिने उनले बताए । उनका अनुसार यात्रामा ६५ वटा मोटरसाइकल तथा स्कुटरमा करिब १३० भन्दाबढी व्यक्तिहरुको सहभागिता रहने छ । मकवानपुरसहित बारा र चितवन जिल्लाबाट पनि यात्रामा सहभागी हुने उनले बताए ।
करिब १२० किलोमिटर हुने यात्रा हेटौंडा ४ पशुपति मन्दिरबाट सुरु भई भुटनदेवी मन्दिर, पाथिभरा, पुण्यक्षेत्र, स्मारक, वृन्दावन, कुष्माण्ड सरोवर, फरेष्टि गुम्बा, कर्रा गुम्बा, चुरियामाई मन्दिर, जुरेथुम, गुम्बाडाँडा, राजदेवी गुफा, सालक पार्क हुँदै मकवानपुरगढी दरवार क्षेत्र, वंशगोपाल मन्दिर, मनकामना मन्दिर, वनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, मनमोहन पार्क कमाने हुँदै वनदेवी मन्दिरबाट पशुपति मन्दिर हेटौंडा ७ न्यूरेनीमा समापन हुने बताइएकाे छ ।
सुवेदीले यस कार्यक्रमको माध्यमबाट हेटौंडा र मकवानपुरगढीमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचार हुनुका साथै मोटरसाइकल मार्फत हेटौंडा घुम्न आकर्षण पैदा हुनु रहेको बताए । यात्रामा सहभागी बन्न दर्ता शुल्क तीन सय रुपैया लाग्ने आयोजकले जनाएकाे छ । सहभागी भए बापत एक थान जर्सी उपलब्ध गराउनुका साथै खाजा र खानाको व्यवस्था रहेको क्लबले जनाएकाे छ ।
क्लबले आगामी दिनमा ४२ किलोमिटर म्याराथुन दौड गर्ने तयारी गरेकाे छ भने पाँच किलोमिटर सिटी दौड कार्यक्रम गर्ने तयारीमा रहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
जिल्ला लिगमा गोरखा ब्वाइज र पदमपोखरी विजयी
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियाेगिता अन्तरगत बिहीबार ४ खेल भएका छन् । प्रतियोगिताबाट गोरखा ब्वाइज र पदमपोखरीले जीत हात पारेकाे छ ।
यसैगरी बिहीबार हटिया स्पोर्ट्स र ७ न वडा तथा एफसी नामटार र सानोपोखराले बराबरी खेले । गोर्खा ब्वाइजले महाबीर क्लवलाई बिहीबार ११–० गोल अन्तरले पराजीत गर्यो । गोर्खा ब्वाइजको लागि मनोज घलानले ८, सुरज लामा २ र प्रताप थोकरले एक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच गोर्खा ब्वाइजका मनोज घलान घोषित भए ।
अर्को खेलमा पदमपोखरी क्लवले न्यू कम्बाइन क्लवलाई १–० ले हरायो । पदमपोखरीका लागि दिवश गोलेले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच पदमपोखरीका गोलरक्षक रोजक थिङ भए । बिहीबारै भएको अर्को खेलमा हटिया स्पोर्टस् एकेडेमी र ७ नम्बर फुटबल टिमले एक/एक गोलको बराबरी खेले । हटियाकाे लागि विवेक माझी र ७ नम्बरकाे लागि सुरेश राईले गोल गरे । खेलको म्यान अफ द म्याच ७ नम्बरका कुशल अधिकारी घोषित भए ।
अर्को खेलमा एफसी नामटार र सानोपोखरा क्लवले २/२ को बराबरी खेल्ला अंक बाडेका छन् । नामटारबाट साजन जिम्बा र सुदिप तामाङले गोल गर्दा सानोपोखराका सुमन राई र कमल मोक्तानले गोल गरे । खेलको म्यान अफ द म्याच सानोपोखराका कमल मोक्तान भए ।
जारी प्रतियोगितामा शुक्रबार ४ खेल खेलाइने छ । १४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा चाडपर्व लक्षित सवारी दुर्घटना न्युनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम संचालन गरिएकाे छ ।
प्रदेश प्रहरी कार्यालय हेटौडाले आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेकाे उपस्थिति बिहीबार कार्यक्रम सुरु गरिएकाे हाे । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मातहत रहेका १० जिल्लाबाट एकैपटक चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूसँगको प्रतिवद्धता कार्यक्रम सुरु गरिएको हो ।
मकवानपुरको हेटौँडालगायत बागमती प्रदेशका ९ जिल्लाहरुमा पनि उक्त अभियान संचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार सवारी चालकहरूलाई सिकाउने, अनुभव गराउने, जानकारी गराउने, प्रतिवद्धता गराउने र आफ्नो सुरक्षाबारे जानकारी गराउने सचेतनामूलक कार्यक्रम हो ।
सार्वजनिक सवारी साधनहरूको हकमा जिल्लास्थित बसपार्कहरुमा रहेका सवारी चालकहरुलाई र मोटरसाइकल चालकहरूको लागि प्रत्येक जिल्लाका राजमार्गको सुरक्षित तथा उपर्युक्त स्थानमा चालकहरूलाई ट्राफिक प्रहरीहरूबाट निरन्तर रूपमा जानकारी गराइने प्रवक्ता बस्नेतले जानकारी दिए । ‘ट्राफिक जरिवाना नगरी विशुद्ध रूपमा सवारी चालकहरूलाई सुरक्षित यात्रा के कसरी गर्न सकिन्छ, सडक/ट्राफिक नियम पालना गर्न स्वयं सचेत गराई सवारी दुर्घटना न्यूनीकरण गराउनु कार्यक्रमको उद्देश्य हाे’ उनले भने ।
मकवानपुर । सिस्नुपानी नेपालको मकवानपुर शाखाकाे अध्यक्षमा सम्प्रस पौडेल चयन भएका छन् ।
सिस्नुपानी मकवानपुरकाे बिहीबार भएको अधिवेशनबाट सम्प्रसको अध्यक्षतामा १० सदस्यीय जिल्ला शाखा सर्वसम्मत चयन गरेको हो । यसैगरी सिस्नुपानी मकवानपुर उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सुमार्गी हुमागाई, कोषाध्यक्षमा शुभद्रा हुमागाईं, सहसचिवमा अमृता लामिछाने चयन भएका छन् । यस्तै सदस्यमा चिरञ्जीवि लामिछाने, स्वस्तिका दाहाल, अजर फुयाँल, बैकुण्ठ लामिछाने र सुबास सजल चयन भएका छन् ।
सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षता तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा विभिन्न साहित्य संघ संस्थाका प्रतिनिधि, समाजसेवी, साहित्यकारहरुको उपस्थिती रहेको थियो ।
हाँस्यव्यङ्ग्य साहित्य विधाको विकासका लागि स्थापित सिस्नुपानीले मकवानपुरमा हास्यव्यङ्ग्य रचना लेखन, वाचन, क्यारिकेचर, प्यारोडी गायन, कार्टुन प्रदर्शनीका विविध कार्यक्रममा सक्रिय रहँदै आएकाे छ ।