मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा रहेका धार्मिक तथा पर्यटकीय सम्पदाहरुको प्रचारप्रसारकाे लागि हेटौंडा सम्पदा यात्रा हुने भएको छ ।
हेटौंडा-७ नागस्वतीको हेटौंडा एडभेन्चर क्लबको आयोजनामा ५ असोजमा हेटौंडा सम्पदा यात्रा २०८१ हुने क्लबले विहीबार पत्रकार भेटघाट गर्दै जानकारी दिएकाे हाे । पत्रकार भेटघाटमा क्लब अध्यक्ष सुशील सुवेदीले धार्मिक तथा पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गर्दै भ्रमण गर्न लागेको पहिलो पटक भएकाे बताए ।
दुईपाङ्ग्रे सवारी साधनमा उक्त यात्रा गरिने उनले बताए । उनका अनुसार यात्रामा ६५ वटा मोटरसाइकल तथा स्कुटरमा करिब १३० भन्दाबढी व्यक्तिहरुको सहभागिता रहने छ । मकवानपुरसहित बारा र चितवन जिल्लाबाट पनि यात्रामा सहभागी हुने उनले बताए ।
करिब १२० किलोमिटर हुने यात्रा हेटौंडा ४ पशुपति मन्दिरबाट सुरु भई भुटनदेवी मन्दिर, पाथिभरा, पुण्यक्षेत्र, स्मारक, वृन्दावन, कुष्माण्ड सरोवर, फरेष्टि गुम्बा, कर्रा गुम्बा, चुरियामाई मन्दिर, जुरेथुम, गुम्बाडाँडा, राजदेवी गुफा, सालक पार्क हुँदै मकवानपुरगढी दरवार क्षेत्र, वंशगोपाल मन्दिर, मनकामना मन्दिर, वनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, मनमोहन पार्क कमाने हुँदै वनदेवी मन्दिरबाट पशुपति मन्दिर हेटौंडा ७ न्यूरेनीमा समापन हुने बताइएकाे छ ।
सुवेदीले यस कार्यक्रमको माध्यमबाट हेटौंडा र मकवानपुरगढीमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचार हुनुका साथै मोटरसाइकल मार्फत हेटौंडा घुम्न आकर्षण पैदा हुनु रहेको बताए । यात्रामा सहभागी बन्न दर्ता शुल्क तीन सय रुपैया लाग्ने आयोजकले जनाएकाे छ । सहभागी भए बापत एक थान जर्सी उपलब्ध गराउनुका साथै खाजा र खानाको व्यवस्था रहेको क्लबले जनाएकाे छ ।
क्लबले आगामी दिनमा ४२ किलोमिटर म्याराथुन दौड गर्ने तयारी गरेकाे छ भने पाँच किलोमिटर सिटी दौड कार्यक्रम गर्ने तयारीमा रहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।