११ करोडको सुनसहित २ जना पक्राउ
Tags: #police #hetauda #goldNo Comments
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ११ करोडको सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्रका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएकाे टोलीले उनीहरुकाे साथबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार शनिबार बिहान प्रहरी टोलीले रातोमाटे चेकपोष्टमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त सुन बरामद भएको हो ।
प्रहरीका अनुसार उक्त परिणामकाे सुनको बजार मुल्य ११ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबर हुन्छ । बाड र कुटीले शरीरको विभिन्न भागमा लुकाएर बिस्कुटको आकारको ८ थान सुन सुन ल्याएकाे प्रहरी प्रमुख खड्काले जानकारी दिए । उनीहरुले काठमाडौंको गौशालामा सुन बुझाउने गरी जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी प्रमुख खड्काले बताए ।
प्रहरीका अनुसार उनीहरूले जनकपुरबाट सुन लिएर पथलैयासम्म बस आएका थिए । पथलैयाबाट उनीहरु स्कुटरमा हेटौंडा तर्फ आउँदै थिए । बरामद भएको सुन र पक्राउ परेका कुटी र बाडलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइने प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा रहेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा भिमसागर गुरागाईं नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवालीको सिफारिसमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गुरागाईंलाई शुक्रबार रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।
उनलाई स्वास्थ्य मन्त्री किरण थापाको सहमति गराएको छ । जनस्वास्थ्य अधिकृत सातौं तहका गुरागाईंकाे दरवन्दी स्वास्थ्य कार्यालय मकवानपुरमा रहेकाे छ । काजमा रजिष्ट्रारमा नियुक्त उनकाे अवधि ४ वर्षको हुनेछ । त्यस्तै प्रतिष्ठानको संयोजकमा चिरञ्जीवी चुडाल नियुक्त भएका छन् । उनी दोस्रो कार्यकालका लागि संयोजक पदमा नियुक्त भएका हुन् । यसअघि पनि २०७७ मा उनी प्रतिष्ठानको संयोजकमा नियुक्त भएका थिए । भिसी डा. ज्ञवालीले रजिस्ट्रार गुरागाई र संयोजक चुडाललाई शुक्रबार नै सपथ गराएका छन् ।
यसअघि प्रतिष्ठानका उपकुलपति प्रा.डा.प्रदीप ज्ञवालीले शुक्रबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाबाट सपथ ग्रहण गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । बिहीबार पत्रकार भेटघाट गरी वडाध्यक्ष जुना दहालले वडालाई शनिबार बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिने जानकारी दिइन् ।
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ विशेष कार्यक्रम गरेर वडालाई निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने वडाअध्यक्ष दहालले बताईन् । दहालका अनुसार वडाले बालमैत्री घोषणाको लागि करिब दुई वर्षदेखि विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको छ।
हेटौंडालाई बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गर्न २०७९ भाद्र ५ गते सरोकारवालाहरुको उपस्थितिमा प्रतिबद्धतामा हस्ताक्षर गरिएकाेमा ११ नम्बर वडाले २०७९ मंसिर २१ गते उक्त प्रतिबद्धतालाई सरोकारवालाकाे उपस्थितिमा हस्ताक्षर गरी अभियानलाई आत्मासात गर्दै कार्यान्वयन गर्न लागि परेकाे थियाे । साेही अनुसार प्रत्येक विद्यालय, टोल, समुदायमा बालमैत्री सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताईन् ।
‘बालमैत्री सम्बन्धी नेपाल सरकारले निर्धारण गरेका बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता तथा संस्थागत विकासका ५१ वटा सूचकहरु पूरा भएकाेले वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणाको तयारी गरिएकाे हाे’ उनले भनिन् ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ सूचकमध्ये ४४ वटा सूचकमा शत प्रतिशत नतिजा प्राप्त भएको छ ।’ बाँकी ६ वटा सूचकमा ८० देखि ९९ प्रतिशतसम्म नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आइपुगेको छ ।
घरधुरी सर्वेक्षण २०७९ अनुसार वडाको कुल जनसंख्या ११ हजार १ सय ५ रहेकोमा ५ हजार ४ सय ५१ महिला र ५ हजार ६ सय ५४ पुरुष रहेको छ । सामुदायिक र संस्थागत गरी ५ विद्यालयहरु सञ्चालनमा रहेको वडामा बालक १ हजार ७ सय ९८ र बालिका १ हजार ६ सय १९ गरी ३ हजार ४ सय १७ जना बालबालिका रहेकाे बताइएकाे छ ।
शनिबार बिहान निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुअघि वडा कार्यालयको प्राङ्गणमा भेला भई प्रभातफेरी मार्फत वडा परिक्रमा गरि एक कार्यक्रमका बिच वडालाई बालमैत्री घोषणा गरिने कार्यक्रम रहेकाे उनले बताईन् ।
मकवानपुर । मकवानपुरको हेटौंडामा भएको शुभकामना खुला दौड प्रतियोगितामा सन्तोष गौतम प्रथम भएका छन् । हेटौंडा २ मनकामना चोकदेखि मनकामना मन्दिर मकवानपुरगढी सम्म २.५ किमिको दौड प्रतियोगिता बकैया गाउँपालिका वडा–७, हात्तीखोलाका गौमतले १४ मिनेट ५८ सेकेण्डमा पूरा गर्दै प्रथम भएका हुन् ।
यस्तै हेटौंडा–१४ का सञ्जिव मिजारले १५ मिनेट ५२ सेकेण्डमा निर्धारित दुरि पार गर्दै द्वितीय भए । यसैगरी हेटौंडा–४, कमलडाँडाका सुवास योञ्जनले १६ मिनेट २३ सेकेण्डमा दौड पूरा गर्दै तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरियो ।
विजयादशमीकाे अवसरमा दि रिभाइभल युथ क्लब हेटौंडा २ को आयोजन तथा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा बिहीबार भएको शुभकामना दौड प्रतियोगितामा ४६ जनाको सहभागिता रहेको थियो । मनकामना मन्दिरको पर्यटन प्रबर्धनका साथै र मन्दिरलाई धार्मिक आकर्षणको केन्द्र बनाउने उद्देश्यले फरक ढंगबाट प्रतियोगिताको आयोजना गरेको बताइएको छ ।
यस वर्षको पहिलो प्रतियोगितामा उल्लेखनीय उपस्थिति रहेकोले यसलाई निरन्तरता दिने प्रयास गरिने क्लब अध्यक्ष चन्द्र शाही बताउँछ्न ।प्रतियोगितामा नेपाल एथ्लेटिक्स संघका राष्ट्रिय निर्णायक राजाराम पोखरेल, जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डेले निर्णायकको भूमिकाबाट सहयोग गरेका थिए । मनकामनाचोकमा उद्घाटन गरिएकाे प्रतियाेगिताकाे पुरस्कार वितरण कार्यक्रम मनकामना मन्दिर परिसरमा गरिएकाे थियाे ।
दि रिभाइबल युथ क्लबका अध्यक्ष शाहीको सभाध्यक्षमा तथा २ नम्बर वडाध्यक्ष विष्णुगोपाल महजर्नको प्रमुख आतिथ्यमा प्रतियोगिताको शुभारम्भ तथा पुरस्कार वितरण कार्यक्रम भएको हो ।
मकवानपुर । बागमती प्रदेश संस्कृत पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले सहकारीको कारण सर्वसाधारणलाई सानोतिनो गर्जो टार्न सहज भएको बताएका छन् । युवा बचत तथा ऋण सहकारी संघको १८ औं बार्षिक साधारण सभामा मन्त्री ठकुरीले यस्तो बताए हुन् ।
सर्वसाधारणको सुख दुखको साथी सहकारीहरू नियम संगत चल्नुपर्नेमा सधै सचेत हुनुपर्ने उनले बताए । “सहकारीले मानिसको भविष्य्य सुनिश्चित गरी सुनौलो बनाउँछ” उनले भने ।
“सहकार्य गरौ सुनौलो भविष्य बनाऔं” भन्ने मुल नाराका साथ स्थापित युवा साकोस स्थापनाको १८ बर्षमा मकवानपुर जिल्लामा रहेका सहकारीहरुमध्ये बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुमा मकवानपुर जिल्ला भरी कार्यक्षेत्र भएको एकमात्र पहिलो अब्बल दर्जाको सहकारीको रुपमा स्थापित भएको छ ।
सहकारीले आर्थिक वर्ष २०७९/०८० मा शेयर सदस्य संख्या २ हजार ५९२ बाट वृद्धिगरी २ हजार ६८७ पुऱ्याईएको छ । संस्थाको बचत हाल २१ करोड ३१ लाख ३९ हजार ६९७ रहेको छ । यसैगरी शेयर पूँजी रकम २ करोड ५० लाख ९४ हजार ३०० रहेको अध्यक्ष राजु गौतमले बताए । संस्थाले हाल कर्जामा २० करोड ३१ लाख ४१३ लगानी गरेको छ ।
साधारण सभाले अध्यक्ष राजु गौतम सचिव सुरेश रेग्मी, कोषाध्यक्ष प्रकाश लम्साल, ऋण उपसमिति संयोजक सुर्यप्रसाद घिमिरे, लेखा संयोजक सन्तोष घिमिरेको प्रतिवेदन पास गरेको छ ।
साधारणसभामा जिल्ला सहकारी संघ/ जिल्ला दुग्ध संघको अध्यक्ष हरी प्रसाद कंडेल, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत संघ अध्यक्ष कल्पना श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका रामेश्वर अर्याल, कृषि विकास बैंक प्रबन्धक नुर प्रसाद गौतमलगायतको उपस्थिति रहेको थियोे ।