मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ११ करोडको सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्रका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएकाे टोलीले उनीहरुकाे साथबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार शनिबार बिहान प्रहरी टोलीले रातोमाटे चेकपोष्टमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त सुन बरामद भएको हो ।
प्रहरीका अनुसार उक्त परिणामकाे सुनको बजार मुल्य ११ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबर हुन्छ । बाड र कुटीले शरीरको विभिन्न भागमा लुकाएर बिस्कुटको आकारको ८ थान सुन सुन ल्याएकाे प्रहरी प्रमुख खड्काले जानकारी दिए । उनीहरुले काठमाडौंको गौशालामा सुन बुझाउने गरी जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी प्रमुख खड्काले बताए ।
प्रहरीका अनुसार उनीहरूले जनकपुरबाट सुन लिएर पथलैयासम्म बस आएका थिए । पथलैयाबाट उनीहरु स्कुटरमा हेटौंडा तर्फ आउँदै थिए । बरामद भएको सुन र पक्राउ परेका कुटी र बाडलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइने प्रहरीले जनाएको छ ।

