मकवानपुर । बालविकासको सवाल सबैभन्दा महत्त्वपूर्ण भएको हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले बताएकी छिन् । हेटौंडाको शैक्षिक गुणस्तर बढाउने क्रममा समन्वय सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरिन ।
नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा शनिबार हेटौंडामा आयोजित शैक्षिक अन्तरक्रिया तथा चाडपर्व विशेष शुभकामना कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा ४ का अध्यक्ष नवीन सिग्देलले विकास भनेको बाटो मात्रै नभई शिक्षाको विकास मुख्य भएको बताए । सबैको समन्वय र सहकार्यबाट शिक्षामा सुधार संभव भएको अध्यक्ष सिग्देलले बताए। “शिक्षामा योगदान गर्नेहरू जिम्मेवार हुनुपर्छ साथमा अभिभावक विद्यार्थीको योगदान त चाहिन्छ नै” उनले भने ।
कार्यक्रममा राष्ट्रिय शिक्षक संगठन अध्यक्ष श्रीराम दाहालले शिक्षक तालिममा लगानी आवश्यक रहेको बताए । प्रविधिक सीप, शिक्षामा स्थानीय तहले लगानी गर्नुपर्ने दाहालले बताए । निजि विद्यालय र सामुदायिक विद्यालयमा स्रोत साधनको समानता नभएको कारण नतिजामा फरकपना भएको उनले बताए । सबैको सहयोग र समन्वयले नतिजा सुधार हुनसक्ने, सामुदायिक विद्यालयलाई उच्च गुणस्तरीय बनाउन सकिने उनको सुझाव थियो।
यसैगरी नेपाल शिक्षक महासंघ अध्यक्ष जिधराज ढकालले शैक्षिक क्षेत्रमा छुट्याइने बजेट नगन्ने हुने गरेको प्रती गुनासो गरे । केही वडाहरूले शिक्षाको लागि किन बजेट राख्ने भन्नमा समेत चासो कम हुने गरेको ढकालले बताए ।
यसैगरी शैक्षिक व्यक्तित्व ऋषिराम पोखरेलले शिक्षकले आफूलाई समेत सन्तुष्टि मिल्ने गरि पढाउन पर्ने, कक्षामा कष्टका साथ समय बिताउने भन्दा पनि विद्यार्थीसंग अन्तक्रिर्या गरेर, बुझाएर रमाइलो मानेर समय बिताउने परिपाटीले गुणस्तरमा सुधार आउने बताए । विद्यार्थीलाई सिकेर काम गर्ने बनाउन तर्फ ध्यानाकर्षण गराउंदै पोखरेलले भने “पढाउने कि सिकाउने/ कक्षा कार्य गराउने भन्ने मुख्य सवाल हो ।”
कक्षाकोठालाई सिकाई कोठा बनाउन पर्ने उनको सुझाव थियो ।
समन्वय समितिको अध्यक्ष भोगेन्द्र लुइँटेलको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । अध्यक्ष लुइँटेलले आगामी दिनमा समन्वय समितिले सबै निकायको सहकार्यमा शैक्षिक उन्नयनको लागि कार्य गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास महाशाखा हेटौडाका हरिशचन्द्र सापकोटा, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको संगिता घलेलगायतको उपस्थिति रहेको समिति उपाध्यक्ष प्रतिमा गौतमले जानकारी दिइन ।

