मकवानपुर । बागमती प्रदेश सरकारले बाढीपहिरोले क्षति पुर्याएको ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ सहायता प्रदान गर्ने भएको छ ।
शनिबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशका ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय गरेकाे हाे ।
असोज १० गतेदेखि १२ गतेसम्म परेकाे वर्षाका कारण बाढीपहिरोबाट धेरै क्षति पुगेको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका काभ्रेपलाञ्चोकको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका, ललितपुरको महांकाल गाउँपालिकालाई बढी जोखिमयुक्त क्षेत्र भएकाले २० लाखका दरले १ करोड ४० लाख रकम निकासा गरिने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
यसैगरी मकवानपुरको बागमती गाउँपालिका, काठमाडौंको चन्द्रागिरी र नागार्जुन नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, सिन्धुपाल्चोकको जुगल र लिसंखुपाखर गाउँपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, दोलखाको बिगु र धादिङको गजुरी गाउँपालिकामा १५ लाखका दरले १ करोड ८० लाख रुपैयाँ रकम निकासा गर्ने निर्णय भएको मन्त्री लामिछानेले बताए ।
यस्तै दोलखाको शैलुङ, गौरीशंकर र तामाकोशी गाउँपालिका, धादिङको बेनिघाट रोराङ, नेत्रावती डब्जोङ गाउँपालिका र धुनिवेशी नगरपालिका, रामेछापको मन्थली र रामेछाप नगरपालिकासहित गोकुलगंगा, दोरम्बाशैलुङ, सुनापति, लिखुतामाकोशी र उमाकुण्ड गाउँपालिकामा १० लाखका दरले रकम निकासा हुने भएको छ ।
यस्तै, मकवानपुरको बकैया गाउँपालिका, सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, भोटेकोशी, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका, काभ्रेको नमोबद्ध र मण्डनदेउपुर नगरपालिका तथा चौरीदेउराली, महाभारत गाउँपालिका र चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई १०–१० लाख गरी २ करोड ६० लाख रुपैयाँ निकासा दिने निर्णय भएको कानूनमन्त्री लामिछानेले जानकारी दिए ।
उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद व्यवस्थापन कोषमा पठाइने भएकाे छ । प्रदेश विपद् व्यवस्थापन कोषमा रकम न्यून रहेको भन्दै मन्त्रिपरिषद्ले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय समेत गरेकाे मन्त्री लामिछानेले बताए ।
यसैगरी प्रदेश सरकारले चणिकलाल तामाङलाई १ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद् शनिबारकाे बैठकले तामाङलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
गत असोज १२ मा नख्खु खोलामा आएको बाढीमा पसेका २ जनाको जीवन रक्षा गरेको भन्दै उनलाई प्रदेश सरकारले सम्मान गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रीहरूकाे १५ दिनको तलब विपद् कोषमा
बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने भएका छन् । शनिवार प्रदेश राजधानी हेटौँडामा मन्त्रीहरूको छलफलले विपद् प्रभावित नागरिकहरूका लागि १५ दिनको तलब प्रदेश विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
उक्त रकम प्रदेशका विपद् प्रभावित नागरिकको उद्धार राहत तथा पुनः स्थापनाको लागि खर्च गरिने छ । प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेका अनुसार प्रदेश विपद् कोषमा १३ जना मन्त्रीको १५ दिनको तलब बापत ४ लाख २७ हजार ४४५ रुपैयाँ जम्मा हुनेछ ।
मन्त्रीहरूले मासिक प्राप्त गर्दै आएको ६० हजार २२० रुपैयाँको आधा रकम ३० हजार १६० रुपैयाँ र मुख्यमन्त्रीलाई मासिक प्राप्त हुने ७० हजार ७३० रुपैयाँको आधा रकम ३५ हजार ३६५ रुपैयाँ प्रदेश विपद् काेषमा जम्मा हुनेछ ।
प्रदेशमा विपदबाट क्षतिको यकिन विवरण तयार गर्न प्रदेश नीति तथा योजना आयोगलाई निर्देशन दिइएकाे छ । आयोगले विषयगत मन्त्रालय र क्षेत्रका आधारमा क्षति विवरण सङ्कलन गरी प्रतिवेदन बुझाउने छ ।

