मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । बिहीबार पत्रकार भेटघाट गरी वडाध्यक्ष जुना दहालले वडालाई शनिबार बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिने जानकारी दिइन् ।
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ विशेष कार्यक्रम गरेर वडालाई निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने वडाअध्यक्ष दहालले बताईन् । दहालका अनुसार वडाले बालमैत्री घोषणाको लागि करिब दुई वर्षदेखि विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको छ।
हेटौंडालाई बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गर्न २०७९ भाद्र ५ गते सरोकारवालाहरुको उपस्थितिमा प्रतिबद्धतामा हस्ताक्षर गरिएकाेमा ११ नम्बर वडाले २०७९ मंसिर २१ गते उक्त प्रतिबद्धतालाई सरोकारवालाकाे उपस्थितिमा हस्ताक्षर गरी अभियानलाई आत्मासात गर्दै कार्यान्वयन गर्न लागि परेकाे थियाे । साेही अनुसार प्रत्येक विद्यालय, टोल, समुदायमा बालमैत्री सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताईन् ।
‘बालमैत्री सम्बन्धी नेपाल सरकारले निर्धारण गरेका बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता तथा संस्थागत विकासका ५१ वटा सूचकहरु पूरा भएकाेले वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणाको तयारी गरिएकाे हाे’ उनले भनिन् ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ सूचकमध्ये ४४ वटा सूचकमा शत प्रतिशत नतिजा प्राप्त भएको छ ।’ बाँकी ६ वटा सूचकमा ८० देखि ९९ प्रतिशतसम्म नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आइपुगेको छ ।
घरधुरी सर्वेक्षण २०७९ अनुसार वडाको कुल जनसंख्या ११ हजार १ सय ५ रहेकोमा ५ हजार ४ सय ५१ महिला र ५ हजार ६ सय ५४ पुरुष रहेको छ । सामुदायिक र संस्थागत गरी ५ विद्यालयहरु सञ्चालनमा रहेको वडामा बालक १ हजार ७ सय ९८ र बालिका १ हजार ६ सय १९ गरी ३ हजार ४ सय १७ जना बालबालिका रहेकाे बताइएकाे छ ।
शनिबार बिहान निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुअघि वडा कार्यालयको प्राङ्गणमा भेला भई प्रभातफेरी मार्फत वडा परिक्रमा गरि एक कार्यक्रमका बिच वडालाई बालमैत्री घोषणा गरिने कार्यक्रम रहेकाे उनले बताईन् ।

