मकवानपुर । देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले अहिले कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
यसैगरी देशभर मनसुनी वायुको प्रभाव रहेकोले कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो बागमतीसहित कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
वर्षाका कारण उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यसैगरी पछिल्लो २४ घन्टामा विभिन्न कोशी बगमती र गण्डकीमा उल्लेख्य वर्षा भएको छ । मकवानपुरको हात्तीसुँढेमा ७०, मकवानपुरको गढीमा ६१.२, इलामको टी इस्टेटमा ६५.८, विराटनरमा ४९.६, सुनसरीको तरहरामा ४४.२, भोजपुरमा ४२.४, नवलपरासीको दुम्कौलीमा ४७.६, कास्कीका ६५, लुम्लेमा ५३.६ मिलिमिटर पानी परेको छ।

