मकवानपुर । मकवानपुरको हेटौंडामा भएको शुभकामना खुला दौड प्रतियोगितामा सन्तोष गौतम प्रथम भएका छन् । हेटौंडा २ मनकामना चोकदेखि मनकामना मन्दिर मकवानपुरगढी सम्म २.५ किमिको दौड प्रतियोगिता बकैया गाउँपालिका वडा–७, हात्तीखोलाका गौमतले १४ मिनेट ५८ सेकेण्डमा पूरा गर्दै प्रथम भएका हुन् ।
यस्तै हेटौंडा–१४ का सञ्जिव मिजारले १५ मिनेट ५२ सेकेण्डमा निर्धारित दुरि पार गर्दै द्वितीय भए । यसैगरी हेटौंडा–४, कमलडाँडाका सुवास योञ्जनले १६ मिनेट २३ सेकेण्डमा दौड पूरा गर्दै तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरियो ।
विजयादशमीकाे अवसरमा दि रिभाइभल युथ क्लब हेटौंडा २ को आयोजन तथा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा बिहीबार भएको शुभकामना दौड प्रतियोगितामा ४६ जनाको सहभागिता रहेको थियो । मनकामना मन्दिरको पर्यटन प्रबर्धनका साथै र मन्दिरलाई धार्मिक आकर्षणको केन्द्र बनाउने उद्देश्यले फरक ढंगबाट प्रतियोगिताको आयोजना गरेको बताइएको छ ।
यस वर्षको पहिलो प्रतियोगितामा उल्लेखनीय उपस्थिति रहेकोले यसलाई निरन्तरता दिने प्रयास गरिने क्लब अध्यक्ष चन्द्र शाही बताउँछ्न ।प्रतियोगितामा नेपाल एथ्लेटिक्स संघका राष्ट्रिय निर्णायक राजाराम पोखरेल, जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डेले निर्णायकको भूमिकाबाट सहयोग गरेका थिए । मनकामनाचोकमा उद्घाटन गरिएकाे प्रतियाेगिताकाे पुरस्कार वितरण कार्यक्रम मनकामना मन्दिर परिसरमा गरिएकाे थियाे ।
दि रिभाइबल युथ क्लबका अध्यक्ष शाहीको सभाध्यक्षमा तथा २ नम्बर वडाध्यक्ष विष्णुगोपाल महजर्नको प्रमुख आतिथ्यमा प्रतियोगिताको शुभारम्भ तथा पुरस्कार वितरण कार्यक्रम भएको हो ।

