मकवानपुर । बागमती प्रदेश संस्कृत पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले सहकारीको कारण सर्वसाधारणलाई सानोतिनो गर्जो टार्न सहज भएको बताएका छन् । युवा बचत तथा ऋण सहकारी संघको १८ औं बार्षिक साधारण सभामा मन्त्री ठकुरीले यस्तो बताए हुन् ।
सर्वसाधारणको सुख दुखको साथी सहकारीहरू नियम संगत चल्नुपर्नेमा सधै सचेत हुनुपर्ने उनले बताए । “सहकारीले मानिसको भविष्य्य सुनिश्चित गरी सुनौलो बनाउँछ” उनले भने ।
“सहकार्य गरौ सुनौलो भविष्य बनाऔं” भन्ने मुल नाराका साथ स्थापित युवा साकोस स्थापनाको १८ बर्षमा मकवानपुर जिल्लामा रहेका सहकारीहरुमध्ये बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुमा मकवानपुर जिल्ला भरी कार्यक्षेत्र भएको एकमात्र पहिलो अब्बल दर्जाको सहकारीको रुपमा स्थापित भएको छ ।
सहकारीले आर्थिक वर्ष २०७९/०८० मा शेयर सदस्य संख्या २ हजार ५९२ बाट वृद्धिगरी २ हजार ६८७ पुऱ्याईएको छ । संस्थाको बचत हाल २१ करोड ३१ लाख ३९ हजार ६९७ रहेको छ । यसैगरी शेयर पूँजी रकम २ करोड ५० लाख ९४ हजार ३०० रहेको अध्यक्ष राजु गौतमले बताए । संस्थाले हाल कर्जामा २० करोड ३१ लाख ४१३ लगानी गरेको छ ।
साधारण सभाले अध्यक्ष राजु गौतम सचिव सुरेश रेग्मी, कोषाध्यक्ष प्रकाश लम्साल, ऋण उपसमिति संयोजक सुर्यप्रसाद घिमिरे, लेखा संयोजक सन्तोष घिमिरेको प्रतिवेदन पास गरेको छ ।
साधारणसभामा जिल्ला सहकारी संघ/ जिल्ला दुग्ध संघको अध्यक्ष हरी प्रसाद कंडेल, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत संघ अध्यक्ष कल्पना श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका रामेश्वर अर्याल, कृषि विकास बैंक प्रबन्धक नुर प्रसाद गौतमलगायतको उपस्थिति रहेको थियोे ।

