- मकवानपुर । “युद्ध प्रसाद मिश्र स्मृति साहित्य सम्मान”बाट निभा शाह सम्मानित हुने भएकी छिन् । प्रगतिशील लेखक संघ मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएकाे उक्त सम्मानबाट यस बर्ष प्रगतिवादी कवि तथा अग्रज साहित्यकार शाहलाई सम्मानित गरिने भएकाे हाे ।
प्रगतिशील लेखक संघ, मकवानपुरद्वारा २२ हजार राशीकाे उक्त सम्मान शाहलाई प्रदान गर्ने निर्णय भएकाे संघ अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए । २० पुष २०८१ गते शनिवार हुने प्रलेसकाे नवौं जिल्ला सम्मेलनकाे उक्त पुरस्कार प्रदान गरिने उनले बताए ।
उक्त सम्मान मकवानपुरे साहित्यकार तथा हास्य-व्यङ्ग्यकार आरसी रिजालले स्थापना गरेका हुन् । यस अघि उक्त सम्मानबाट साहित्यकार डा.पशुपतिनाथ तिमल्सीना,जनवादी गायक तथा संगीतकार रामेश श्रेष्ठ र प्रगतिवादी युवा कवि पुरुषोत्तम आचार्य सम्मानित भएका छन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा अन्तरविद्यालय गायन प्रतियोगिता हुने भएको छ । हेटौंडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको आयोजनामा तेस्रो संस्करणको गायन प्रतियोगिता हुने भएको हो ।
गायक तथा संगीतकार भीम विरागको स्मृतिमा विगत २ वर्षदेखि गायन प्रतियोगिताको आयोजना गर्दै आएको प्रतियोगिता संयोजक आल्देन लिङ्देनले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ र ५ हजार रुपैयाँ प्रदान गरिने छ । यसैगरी १ जनालाई प्रोत्साहन स्वरुप २ हजार ५ सय रुपैयाँ नगद प्रदान गरिने लिङ्देनले बताए ।
बालबालिकामा रहेको प्रतिभा प्रस्तुत गराउन विद्यालयले १५ फागुन २०८१ मा सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुन पाउने गरी प्रतियोगिताको आयोजना गर्न लागिएकाे विद्यालयका संस्थापक प्रिन्सिपल श्यामकुमार बानियाँले जानकारी दिए ।
सामुदायिक तथा संस्थागत विद्यालहरुबाट एक/एक जना छात्र र छात्रालाई छनोट गरेर प्रतियोगितामा सहभागी गराउन अनुरोध गरिएको छ । प्रतियोगितामा सहभागी भएका विद्यार्थीले नेपालीपन झल्काउने स्वदेशी गीत गाउनुपर्ने विद्यालयद्वारा सूचनामा उल्लेख छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको आधुनिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।
हेटौंडा ४ स्थित आधुनिक माविमा २ दशक अध्यापन गरेका सहायक प्रध्यानाध्यापक श्यामप्रसाद पराजुलीको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिएको हो । कोषको लागि परिवारका तर्फबाट छोरीहरु काठमाडौं निवासी कल्पना पराजुली र अमेरिका निवासी सम्झना पराजुलीले सोमबार १ लाख २६ हजार नगद विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
‘प्राप्त नगदले छात्रवृत्ति कोष प्रारम्भ गर्न महत्वपूर्ण सहयोग पुगेको छ’ प्रअ रामसागर गुरागाईंले भने ‘छात्रवृत्ति कोषमा सहयोग गर्न चाहने महानुभावहरुलाई हार्दिक आह्वान समेत गर्छौ ।’
४ नम्बर वडामा रहेका विद्यालय सुधारमा वडा अध्यक्ष नविन सिग्देलले पहल गर्दै आएका छन् । छात्रवृत्तिका लागि अब कार्यविधि बनाइने वडा अध्यक्ष सिग्देलले बताए । उनले कोषको लागि वडाको तर्फबाट सहयोग गरिने समेत जानकारी दिए ।
उक्त विद्यालय लगातार चौध पटक एसएलसी/एसईई परीक्षामा जिल्ला प्रथम भएको छ । विद्यालयमा हाल २ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।
काठमाडौं । “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ। रोमान्टिक शैलीको गीतले पोखराको अनुपम प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेम र जीवनशैलीलाई समेटेको छ।
यस गीतमा गायक मुकुन्द त्रिपाठी र अस्मिता अधिकारीले स्वर दिएका छन्। शब्द, संगीत, र निर्देशन मुकुन्द त्रिपाठीकै रहेको यो सिर्जना नेपाली सांगीतिक बजारमा एउटा रोचक प्रस्तुति हो। एरेन्जर राजु सुनाम र मिक्सिङ बिनोद परियारले यो गीतलाई प्राविधिक हिसाबले उत्कृष्ट बनाएका छन्।
भिडियोमा गायक मुकुन्द त्रिपाठीसँगै सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय रहेको छ। सिनेमाटोग्राफी सुबास सुबेदीले गरेका छन् भने सम्पादन र कलरिङ सुबास अम्गाईले गरेका छन्। भिडियोमा युमी बलामीको कोरियोग्राफी रहेको छ। दुर्गा न्यौपाने त्रिपाठीद्वारा प्रस्तुत यो गीत मुकुन्द त्रिपाठीको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१८, ठुलोदमारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएकाे छ । हेटाैंडा १८ मा रहेकाे वैदिक वानप्रस्थ आश्रमको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आइतबारबाट सुरु भएको हाे ।
हेटौंडा–१८, ठूलोदमारस्थित वैदिक संस्कृत गुरूकुलको प्राङ्गणमा महायज्ञ सुरु भएकाे मूल समारोह समिति सचिव हर्क रम्तेलले जानकारी दिए । महायज्ञ सुरु हुनु अघी विहान ९ बजे गुरूकुल प्राङ्गणबाट कलशयात्रा सहित हेटौडा १८ परिक्रममा गरिएकाे थियाे ।
महायज्ञमा डा. स्वामी चक्रपाणी आचार्य प्रमुख वाचक रहेका छन् । यस्तै गुरुकुलका प्राचार्य खगेन्द्राचार्य स्वामी उपवाचक हुनुहुने छ । ३० मंसिरसम्म संचालन हुने महायज्ञको मुख्य उद्देश्य एक सय जनासम्म पढ्न सक्ने बटुकहरूको आवासीय गुरुकुलको व्यवस्थापन गर्ने रहेकाे रम्तेलले बताए ।
यस्तै पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच तत्वहरू प्राप्त हुने पञ्चतत्व पार्क बनाएर मानव जगतलाई स्वस्थ पार्ने, २ सय भन्दा बढी जडीबुटीको संग्रह गरी प्रत्येक जडीबुटीको नाम, गुण, धर्म सहितको जडीबुटी वाटिका निर्माण गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएकाे बताइएकाे छ ।
यस्तै विभिन्न फलहरूको उद्यान बनाएर विरुवाहरू निशुल्क उपलब्ध गराउने, स्थानीय प्रजातिका गाईहरूको संरक्षण, सम्बर्धन गर्न गौशाला बनाउने, आयुर्वेदिक औषधी निर्माण गर्ने र ऋषिकुल तयार गर्ने उद्देश्य रहेको छ ।
संस्कृति र संस्कार जोगाउने उद्देश्यले गत वैशाखदेखि आश्रम सञ्चालनमा ल्याइएको आश्रममा सामुदायिक विद्यालयमै पठनपाठन हुने ५ सय पूर्णाङ्कका विषय पढाइन्छ । यस्तै २ सय पूर्णाङ्कको संस्कृत व्याकरण र संस्कृत साहित्य अध्यापन गरिन्छ । नेपाली, गणित, विज्ञान, सामाजिक र अंग्रेजी विषय समेत अध्यापन गराउने गरिएको आश्रममा मकवानपुरसहित पर्सा, उदयपुर, सिन्धुली, सर्लाहीलगायत जिल्लाका बालक संस्कृत भाषा पढिरहेका छन्।