मकवानपुर । मकवानपुरकाे हेटौंडामा अन्तरविद्यालय गायन प्रतियोगिता हुने भएको छ । हेटौंडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको आयोजनामा तेस्रो संस्करणको गायन प्रतियोगिता हुने भएको हो ।
गायक तथा संगीतकार भीम विरागको स्मृतिमा विगत २ वर्षदेखि गायन प्रतियोगिताको आयोजना गर्दै आएको प्रतियोगिता संयोजक आल्देन लिङ्देनले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ र ५ हजार रुपैयाँ प्रदान गरिने छ । यसैगरी १ जनालाई प्रोत्साहन स्वरुप २ हजार ५ सय रुपैयाँ नगद प्रदान गरिने लिङ्देनले बताए ।
बालबालिकामा रहेको प्रतिभा प्रस्तुत गराउन विद्यालयले १५ फागुन २०८१ मा सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुन पाउने गरी प्रतियोगिताको आयोजना गर्न लागिएकाे विद्यालयका संस्थापक प्रिन्सिपल श्यामकुमार बानियाँले जानकारी दिए ।
सामुदायिक तथा संस्थागत विद्यालहरुबाट एक/एक जना छात्र र छात्रालाई छनोट गरेर प्रतियोगितामा सहभागी गराउन अनुरोध गरिएको छ । प्रतियोगितामा सहभागी भएका विद्यार्थीले नेपालीपन झल्काउने स्वदेशी गीत गाउनुपर्ने विद्यालयद्वारा सूचनामा उल्लेख छ ।

