मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको आधुनिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।
हेटौंडा ४ स्थित आधुनिक माविमा २ दशक अध्यापन गरेका सहायक प्रध्यानाध्यापक श्यामप्रसाद पराजुलीको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिएको हो । कोषको लागि परिवारका तर्फबाट छोरीहरु काठमाडौं निवासी कल्पना पराजुली र अमेरिका निवासी सम्झना पराजुलीले सोमबार १ लाख २६ हजार नगद विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
‘प्राप्त नगदले छात्रवृत्ति कोष प्रारम्भ गर्न महत्वपूर्ण सहयोग पुगेको छ’ प्रअ रामसागर गुरागाईंले भने ‘छात्रवृत्ति कोषमा सहयोग गर्न चाहने महानुभावहरुलाई हार्दिक आह्वान समेत गर्छौ ।’
४ नम्बर वडामा रहेका विद्यालय सुधारमा वडा अध्यक्ष नविन सिग्देलले पहल गर्दै आएका छन् । छात्रवृत्तिका लागि अब कार्यविधि बनाइने वडा अध्यक्ष सिग्देलले बताए । उनले कोषको लागि वडाको तर्फबाट सहयोग गरिने समेत जानकारी दिए ।
उक्त विद्यालय लगातार चौध पटक एसएलसी/एसईई परीक्षामा जिल्ला प्रथम भएको छ । विद्यालयमा हाल २ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।

