मकवानपुर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य र पूर्वी तराइ तथा उपत्यका धेरै भू-भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ।सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।
सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
मंगलबारबाट मौसममा सुधार हुने समेत महाशाखाले जानकारी दिएको छ ।
तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध गरेको छ ।

