मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१८, ठुलोदमारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएकाे छ । हेटाैंडा १८ मा रहेकाे वैदिक वानप्रस्थ आश्रमको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आइतबारबाट सुरु भएको हाे ।
हेटौंडा–१८, ठूलोदमारस्थित वैदिक संस्कृत गुरूकुलको प्राङ्गणमा महायज्ञ सुरु भएकाे मूल समारोह समिति सचिव हर्क रम्तेलले जानकारी दिए । महायज्ञ सुरु हुनु अघी विहान ९ बजे गुरूकुल प्राङ्गणबाट कलशयात्रा सहित हेटौडा १८ परिक्रममा गरिएकाे थियाे ।
महायज्ञमा डा. स्वामी चक्रपाणी आचार्य प्रमुख वाचक रहेका छन् । यस्तै गुरुकुलका प्राचार्य खगेन्द्राचार्य स्वामी उपवाचक हुनुहुने छ । ३० मंसिरसम्म संचालन हुने महायज्ञको मुख्य उद्देश्य एक सय जनासम्म पढ्न सक्ने बटुकहरूको आवासीय गुरुकुलको व्यवस्थापन गर्ने रहेकाे रम्तेलले बताए ।
यस्तै पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच तत्वहरू प्राप्त हुने पञ्चतत्व पार्क बनाएर मानव जगतलाई स्वस्थ पार्ने, २ सय भन्दा बढी जडीबुटीको संग्रह गरी प्रत्येक जडीबुटीको नाम, गुण, धर्म सहितको जडीबुटी वाटिका निर्माण गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएकाे बताइएकाे छ ।
यस्तै विभिन्न फलहरूको उद्यान बनाएर विरुवाहरू निशुल्क उपलब्ध गराउने, स्थानीय प्रजातिका गाईहरूको संरक्षण, सम्बर्धन गर्न गौशाला बनाउने, आयुर्वेदिक औषधी निर्माण गर्ने र ऋषिकुल तयार गर्ने उद्देश्य रहेको छ ।
संस्कृति र संस्कार जोगाउने उद्देश्यले गत वैशाखदेखि आश्रम सञ्चालनमा ल्याइएको आश्रममा सामुदायिक विद्यालयमै पठनपाठन हुने ५ सय पूर्णाङ्कका विषय पढाइन्छ । यस्तै २ सय पूर्णाङ्कको संस्कृत व्याकरण र संस्कृत साहित्य अध्यापन गरिन्छ । नेपाली, गणित, विज्ञान, सामाजिक र अंग्रेजी विषय समेत अध्यापन गराउने गरिएको आश्रममा मकवानपुरसहित पर्सा, उदयपुर, सिन्धुली, सर्लाहीलगायत जिल्लाका बालक संस्कृत भाषा पढिरहेका छन्।

