मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ । मनहरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुन लागेकाे महाेत्सवलाई गाउँ कार्यपालिकाको संरक्षण रहने तथा एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहने छ ।
२१ फागुनदेखि ४ चैतसम्म हुने मनहरी खेलकुद तथा व्यापार महोत्सव मनहरीकाे वडा नम्बर ८ स्थित सिम्पानीको खेल मैदानमा हुने समिति सदस्य चन्द्र सिंह स्याङ्तानले पत्रकार भेटघाट मार्फत जानकारी दिए । मनहरीकाे लामिटार स्थित प्रशासनिक भवन आयोजित पत्रकार सम्मेलनमा स्थानीय स्तरमा खेलाडीको पहिचान गराउन, खेलको प्रवर्द्धन गर्न, व्यापार प्रवर्द्धन गर्न र भातृत्वको सम्बन्ध कायम गराउन खेलकुद तथा व्यापार महोत्सव गर्न लागेको उनले बताए ।
महोत्सवमा करिब २ सय संख्यामा स्टलहरु रहने छन् भने विभिन्न राष्ट्रियस्तरको कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएकाे छ । महोत्सवमा फुटबल, भलिबल, ब्याडमिन्टन, टी–१० क्रिकेट, एथ्लेक्टिक्सलगायतका खेलहरूखेलाइने छ । ५ करोड रूपैयाँको कारोबार हुने अनुमान रहेको महोत्सवमा १ लाखको हाराहारीमा दर्शकहरूले अवलाेकन तथा भ्रमण गर्ने समेत अनुमान गरिएको स्याङ्तानले जानकारी दिए ।
महाेत्सव अवधीमा संचालन हुने अध्यक्ष कप फुटबल प्रतियाेगिताकाे उपाधि विजेता टिमले १ लाख रूपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । यसैगरी उपाध्यक्ष कप भलिबल प्रतियाेगितको विजेता टिमले ५० हजार रूपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । क्रिकेट प्रतियोगिताकाे विजेता र उपविजेता टिमकले क्रमशः ३० हजार र २० हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएकाे छ । व्याड्मिन्टनको बिजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
ब्याडमिन्टन (डबल) प्रतियोगिता तर्फ विजेता तथा उपविजेता टिमले क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ प्राप्त गर्ने छन् । एथलेटिक्स तर्फ २ सय मिटर खुल्ला दौड विजेता र उपविजेताले क्रमशः १५ हजार रुपैयाँ र ७ हजार ५ पाँच सय रुपैयाँ प्राप्त गर्दा १ सय मिटर खुल्ला दौडको विजेता र उपविजेताले क्रमशः १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यसका साथै हरेक प्रतियोगिताका विधागत उत्कृष्ठ खेलाडीलाई नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएकाे छ ।
महोत्सवमा समावेश गरिएको खेलहरु मनहरी गाउँपालिका वडा नम्बर ७ र ८ मा संचालन हुनेछ । फुटबल, क्रिकेट र एथलेटिक्स मनहरी ७ रमौली स्थित मनहरी क्षेत्रीय रंगशालामा संचालन गरिनेछ । त्यस्तै ब्याडमिन्टन मनहरी ७ रमनटार स्थित रविन स्मृति कभर्डहलमा संचालन हुनेछ भने उपाध्यक्ष भलिबल प्रतियोगिता मनहरी ८ सिम्पानी स्थित गणेशधारा फुटबल चौरमा संचालन हुने बताइएकाे छ।
मकवानपुर । शिक्षा ऐनकाे माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाकाे ध्यानाकर्षण गराइएकाे छ । नेपाल शिक्षक महासंघ मकवानपुरको नेतृत्वमा शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
शिक्षक तथा विद्यालय कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै जारी गर्नु पर्ने माग गर्दै मुख्यमन्त्री लामालाई ध्यानाकर्षणपत्र बुझाइएको हो । चरणबद्व आन्दोलन अन्तर्गत बिहीबार शिक्षा ऐन जारी गर्न सरकारले अनेक बाहना गर्दै टार्न खाेजेकाे भन्दै विगतमा भएका सहमति सम्बोधन हुने गरी शिक्षा ऐन जारी गर्न ध्यानाकर्षण गराइएको हाे ।
विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षकको उचित तलबमान, शिक्षकको ग्रेड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, मासिक तलब भुक्तानी, बालकक्षा शिक्षककाे न्यूनतम तलबमान व्यवस्थापन लगायतका विषय अब आउने शिक्षा ऐनमै सम्बोधन गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाइएको हो ।
गत माघ १६ र १७ गते बसेको नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको बैठक निर्णयअनुसार गत फागनु ६ गतेबाट पहिलो चरणको आन्दोलन सुरु गरिएको हो । सोही क्रममा नेपाल शिक्षक महासंघका विभिन्न समितिले बिहीबार ७ वटै प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री लामाले ध्यानाकर्षण पत्र बुझ्नुहुँदै शिक्षकको ध्यानाकर्षणपत्रलाई संघीय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरे । यसअघि शिक्षक महासंघले सबै स्थानीय सरकारका साथै शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ । नेपाल शिक्षक महासंघ आन्दाेलन परिचालन समिति बागमती प्रदेशकाे आयाेजनामा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेशकाे नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाइएकाे हाे ।
दिपक सिंखडा अध्यक्ष, नेपाल शिक्षक संघ, बागमती प्रदेश समिति, राजेन्द्रकुमार श्रेष्ठ अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन, बागमती प्रदेश समिति, शंकर अधिकारी अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन, बागमती प्रदेश समिति, विनोद सुबेदी अध्यक्ष, अखिल नेपाल शिक्षक संगठन, बागमती प्रदेश समिति, हरिबहादुर थापा अध्यक्ष, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, बागमती प्रदेश समिति, गंगा पौडल अध्यक्ष, अखिल नेपाल शिक्षक संघ, बागमती प्रदेश समिति, रामशरण फुयाँल अध्यक्ष, नेपाल विद्यालय कर्मचारी परिषद्, बागमती प्रदेश समितिद्वारा ध्यानाकर्षण पत्र बुझाइएकाे थियाे ।
ध्यानाकर्षण पत्र बुझाउनु अघि शिक्षकका विभिन्न संघ संगठनका पदाधिकारी तथा शिक्षकहरुकाे उपस्थितिमा विधालय शिक्षा ऐन जारी गर्न माग सहित खवरदारी जुलुस गरिएकाे थियाे । जुलुसपछिकाे काेण सभलाई सम्बोधन गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश अध्यक्ष शंकर अधिकारीले हाम्रो भाग्य र भविश्य सामुदायिक विद्यालय नै भएकाे बताए ।
‘सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीलाई शिक्षण सहजिकरण गर्दै आएका शिक्षकहरु नीजि तथा सरकरी कोटामा रहेका छौ ’ उनले भने ‘विद्यार्थीको भविश्यको निम्ति लागिरहँदा आफ्नै भविश्यको टुंगो नभएकाले आन्दोलन गर्नु परेकाे हाे ।’ उनका अनुसार शिक्षा ऐेन जारी गर्न माग गर्दै फागुन २४ गते काठमाडौंको सिंहदरबार केन्द्रित आन्दोलन समेत गरिने छ ।
मकवानपुर । बागमती प्रदेश प्रमखु दीपक प्रसाद देवकोटाले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
विभिन्न जातजाति तथा भाषाभाषीयुक्त सम्प्रदाय रहेकाे नेपालमा सबैको संस्कृति राज्यको निधि भएकाे उल्लेख गर्दै उहाँले शुभकामना सन्देश प्रकट गर्नु भएको हो । ‘शेर्पा समुदायको नयाँ वर्ष (बाघ वर्ष) सुरु भएको अवसरमा देश तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु’ सन्देशमा भनिएको छ ।
‘भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण छ, ग्याल्पो ल्होसारजस्ता पर्व नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग बनेका छन्’ सन्देशमा उल्लेख गरिएकोछ । आपसी भाइचारा, सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्न पर्वले मद्दत पुऱ्याउने भन्दै प्रमुख देवकोटाले चाडपर्वका माध्यमबाट कायम हुने सामाजिक एकता तथा सद्भावलाई दिगो र दरिलो बनाउनु सबैको दायित्व भएको बताउनु भएकाे छ ।
ग्याल्पो ल्होसार पर्वले नयाँ उत्साह र उमङ्ग छर्दै आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन गई राष्ट्र थप सुदृढ बनाउन सघाउ पुगोस् भन्ने कामना व्यक्त गर्नु भएको छ ।
मकवानपुर । नारायणी यातायात व्यवसायी संघको ३६ औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशन १७ फागुन शनिबार हेटौंडामा हुने भएको छ। संघले बिहीबार पत्रकार भेटघाट गरी उक्त कुरा जानकारी गराएकाे हाे ।
संघका महासचिव सरोजकुमार खनालका अनुसार साधारण सभाको दिन नेपाल मेडिसिटी अस्पताल, काठमाडौंका विशेषज्ञ चिकित्सकहरूको टोलीले किड्नी सम्बन्धी स्वास्थ्य परीक्षण गरिने छ । यातायात व्यवसायी तथा स्थानीय नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै उक्त सेवा संघले सञ्चालन गर्न लागेको खनालले जानकारी दिए ।
संघ अध्यक्ष हिरालाल श्रेष्ठले संघले सेवा प्रदान गर्ने संस्था भए पनि नेपाल सरकारलाई नियमित रूपमा कर तिर्दै आएको उल्लेख गरे । उनले संघलाई अहिले पनि ठूलो मात्रामा कर तिर्नुपर्ने बाध्यता रहेको र आर्थिक अभावको सामना गरिरहेको जानकारी दिए । यातायात क्षेत्रको व्यवस्थापन, व्यवसायीहरूको हकहित तथा यात्रु सुविधासँग सम्बन्धित विविध विषयहरूमा साधारण सभामा छलफल गरिने भएकाे छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा संघका विभिन्न पदाधिकारी, यातायात व्यवसायी, सरोकारवालाहरू तथा सरकारी अधिकारीहरूको उपस्थिति रहने बताइएको छ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा महिला शिक्षक भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौडाको आयोजनामा १६ र १७ फागुनमा नगरमा पहिलाे पटक महिला शिक्षक मैत्रीपूर्ण भलिवल प्रतियोगिता हुने भएकाे हाे ।
आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा नगरका १० विद्यालयको सहभागिता रहने बिहीबार आयोजकले पत्रकार भेटघाट गर्दै जानकारी दिएकाे हाे । प्रतियोगितामा हेटौंडाका श्रीकृष्ण आधारभूत विद्यालय, वंश गोपाल मावि, भूटनदेवी मावि, चन्द्रोदय मावि, आधुनिक राष्ट्रिय मावि, त्रिभुवन मावि, प्रगति मावि, जनप्रिय मावि, ज्याेति मावि र सिद्धार्थ माविकाे सहभागी रहने अतिरिक्त क्रियाकलाप संयोजक बालकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अतिरिक्त क्रियाकलाप संयोजक बालकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी १ जनालाई ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।बिहीबार नै प्रतियोगिताकाे खेलतालिका सार्वजनिक गरिएको छ । उद्घाटन खेल ज्याेति माध्यमिक विद्यालय हेटौंडा हर्नामाडी र सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा २ बिच हुने भएकाे छ ।
महिला शिक्षकलाई हेर्ने नजर परिवर्तनका साथै सहभागी विद्यालयबिच सम्बन्ध सुमधुर बनfउँदै शैक्षिक सहयाेग आदानप्रदानमा समेत सहकार्यकाे भावना वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएकाे नगरस्तरीय शैक्षिक समन्वय समिति अध्यक्ष भोगेन्द्र लुँइटेलले बताए । ‘शिक्षणमा महिला सहभागिता वृद्धि भइरहेकाे सन्दर्भमा सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षणिक योजनाका अन्तरवस्तुहरुलाई खेल विधिबाट सिकाउन समेत सकिने भएकाेले प्रतियाेगिता आयोजना गरिन लागिएकाे हाे’ उनले भने ।
जिल्ला भलिवल संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिता सञ्चालनका लागि ७० हजार खर्च हुने आयोजकको अनुमान छ । नगर शैक्षिक समन्वय समिति हेटौंडा उपमहानगर भित्रका सामुदायिक विद्यालयहरुकाे अध्ययन अध्यापनसँग सम्बन्धित समस्याहरु पहिचान गरी शैक्षिक गतिविधिहरुलाई सञ्चालन गर्ने तथा शैक्षिक गुणस्तर विकास गर्न सहयाेग पुर्याउने छाता संगठनकाे रुपमा २० बैशाख २०५३ मा स्थापना भएकाे संस्था हाे ।