मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा महिला शिक्षक भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौडाको आयोजनामा १६ र १७ फागुनमा नगरमा पहिलाे पटक महिला शिक्षक मैत्रीपूर्ण भलिवल प्रतियोगिता हुने भएकाे हाे ।
आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा नगरका १० विद्यालयको सहभागिता रहने बिहीबार आयोजकले पत्रकार भेटघाट गर्दै जानकारी दिएकाे हाे । प्रतियोगितामा हेटौंडाका श्रीकृष्ण आधारभूत विद्यालय, वंश गोपाल मावि, भूटनदेवी मावि, चन्द्रोदय मावि, आधुनिक राष्ट्रिय मावि, त्रिभुवन मावि, प्रगति मावि, जनप्रिय मावि, ज्याेति मावि र सिद्धार्थ माविकाे सहभागी रहने अतिरिक्त क्रियाकलाप संयोजक बालकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अतिरिक्त क्रियाकलाप संयोजक बालकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी १ जनालाई ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।बिहीबार नै प्रतियोगिताकाे खेलतालिका सार्वजनिक गरिएको छ । उद्घाटन खेल ज्याेति माध्यमिक विद्यालय हेटौंडा हर्नामाडी र सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा २ बिच हुने भएकाे छ ।
महिला शिक्षकलाई हेर्ने नजर परिवर्तनका साथै सहभागी विद्यालयबिच सम्बन्ध सुमधुर बनfउँदै शैक्षिक सहयाेग आदानप्रदानमा समेत सहकार्यकाे भावना वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएकाे नगरस्तरीय शैक्षिक समन्वय समिति अध्यक्ष भोगेन्द्र लुँइटेलले बताए । ‘शिक्षणमा महिला सहभागिता वृद्धि भइरहेकाे सन्दर्भमा सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षणिक योजनाका अन्तरवस्तुहरुलाई खेल विधिबाट सिकाउन समेत सकिने भएकाेले प्रतियाेगिता आयोजना गरिन लागिएकाे हाे’ उनले भने ।
जिल्ला भलिवल संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिता सञ्चालनका लागि ७० हजार खर्च हुने आयोजकको अनुमान छ । नगर शैक्षिक समन्वय समिति हेटौंडा उपमहानगर भित्रका सामुदायिक विद्यालयहरुकाे अध्ययन अध्यापनसँग सम्बन्धित समस्याहरु पहिचान गरी शैक्षिक गतिविधिहरुलाई सञ्चालन गर्ने तथा शैक्षिक गुणस्तर विकास गर्न सहयाेग पुर्याउने छाता संगठनकाे रुपमा २० बैशाख २०५३ मा स्थापना भएकाे संस्था हाे ।

