मकवानपुर । नारायणी यातायात व्यवसायी संघको ३६ औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशन १७ फागुन शनिबार हेटौंडामा हुने भएको छ। संघले बिहीबार पत्रकार भेटघाट गरी उक्त कुरा जानकारी गराएकाे हाे ।
संघका महासचिव सरोजकुमार खनालका अनुसार साधारण सभाको दिन नेपाल मेडिसिटी अस्पताल, काठमाडौंका विशेषज्ञ चिकित्सकहरूको टोलीले किड्नी सम्बन्धी स्वास्थ्य परीक्षण गरिने छ । यातायात व्यवसायी तथा स्थानीय नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै उक्त सेवा संघले सञ्चालन गर्न लागेको खनालले जानकारी दिए ।
संघ अध्यक्ष हिरालाल श्रेष्ठले संघले सेवा प्रदान गर्ने संस्था भए पनि नेपाल सरकारलाई नियमित रूपमा कर तिर्दै आएको उल्लेख गरे । उनले संघलाई अहिले पनि ठूलो मात्रामा कर तिर्नुपर्ने बाध्यता रहेको र आर्थिक अभावको सामना गरिरहेको जानकारी दिए । यातायात क्षेत्रको व्यवस्थापन, व्यवसायीहरूको हकहित तथा यात्रु सुविधासँग सम्बन्धित विविध विषयहरूमा साधारण सभामा छलफल गरिने भएकाे छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा संघका विभिन्न पदाधिकारी, यातायात व्यवसायी, सरोकारवालाहरू तथा सरकारी अधिकारीहरूको उपस्थिति रहने बताइएको छ।

