मकवानपुर । शिक्षा ऐनकाे माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाकाे ध्यानाकर्षण गराइएकाे छ । नेपाल शिक्षक महासंघ मकवानपुरको नेतृत्वमा शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
शिक्षक तथा विद्यालय कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै जारी गर्नु पर्ने माग गर्दै मुख्यमन्त्री लामालाई ध्यानाकर्षणपत्र बुझाइएको हो । चरणबद्व आन्दोलन अन्तर्गत बिहीबार शिक्षा ऐन जारी गर्न सरकारले अनेक बाहना गर्दै टार्न खाेजेकाे भन्दै विगतमा भएका सहमति सम्बोधन हुने गरी शिक्षा ऐन जारी गर्न ध्यानाकर्षण गराइएको हाे ।
विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षकको उचित तलबमान, शिक्षकको ग्रेड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, मासिक तलब भुक्तानी, बालकक्षा शिक्षककाे न्यूनतम तलबमान व्यवस्थापन लगायतका विषय अब आउने शिक्षा ऐनमै सम्बोधन गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाइएको हो ।
गत माघ १६ र १७ गते बसेको नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको बैठक निर्णयअनुसार गत फागनु ६ गतेबाट पहिलो चरणको आन्दोलन सुरु गरिएको हो । सोही क्रममा नेपाल शिक्षक महासंघका विभिन्न समितिले बिहीबार ७ वटै प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री लामाले ध्यानाकर्षण पत्र बुझ्नुहुँदै शिक्षकको ध्यानाकर्षणपत्रलाई संघीय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरे । यसअघि शिक्षक महासंघले सबै स्थानीय सरकारका साथै शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ । नेपाल शिक्षक महासंघ आन्दाेलन परिचालन समिति बागमती प्रदेशकाे आयाेजनामा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेशकाे नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाइएकाे हाे ।
दिपक सिंखडा अध्यक्ष, नेपाल शिक्षक संघ, बागमती प्रदेश समिति, राजेन्द्रकुमार श्रेष्ठ अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन, बागमती प्रदेश समिति, शंकर अधिकारी अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन, बागमती प्रदेश समिति, विनोद सुबेदी अध्यक्ष, अखिल नेपाल शिक्षक संगठन, बागमती प्रदेश समिति, हरिबहादुर थापा अध्यक्ष, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, बागमती प्रदेश समिति, गंगा पौडल अध्यक्ष, अखिल नेपाल शिक्षक संघ, बागमती प्रदेश समिति, रामशरण फुयाँल अध्यक्ष, नेपाल विद्यालय कर्मचारी परिषद्, बागमती प्रदेश समितिद्वारा ध्यानाकर्षण पत्र बुझाइएकाे थियाे ।
ध्यानाकर्षण पत्र बुझाउनु अघि शिक्षकका विभिन्न संघ संगठनका पदाधिकारी तथा शिक्षकहरुकाे उपस्थितिमा विधालय शिक्षा ऐन जारी गर्न माग सहित खवरदारी जुलुस गरिएकाे थियाे । जुलुसपछिकाे काेण सभलाई सम्बोधन गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश अध्यक्ष शंकर अधिकारीले हाम्रो भाग्य र भविश्य सामुदायिक विद्यालय नै भएकाे बताए ।
‘सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीलाई शिक्षण सहजिकरण गर्दै आएका शिक्षकहरु नीजि तथा सरकरी कोटामा रहेका छौ ’ उनले भने ‘विद्यार्थीको भविश्यको निम्ति लागिरहँदा आफ्नै भविश्यको टुंगो नभएकाले आन्दोलन गर्नु परेकाे हाे ।’ उनका अनुसार शिक्षा ऐेन जारी गर्न माग गर्दै फागुन २४ गते काठमाडौंको सिंहदरबार केन्द्रित आन्दोलन समेत गरिने छ ।

