मकवानपुर । शुक्रबार विहान २ बजेर ५१ मिनेटमा गएकाे भूकम्पबाट सामान्य भौतिक क्षति भएकाे छ भने मानविय क्षति नभएकाे जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ । प्रशासन कार्यालयले भूकम्पको क्षति विवरणकाे जानकारी विज्ञप्ति मार्फत दिएकाे छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रशासन कार्यलायबाट प्राप्त विवरण अनुसार भूकम्पले हल्लाउँदा सिन्धुपाल्चोक कारागारमा रहेका एक जना कैदी बन्दी आत्तिएर भाग्दा घाइते भएका छन् । उपचारपछि उनी डिस्चार्ज भएको विज्ञप्तिमा उल्लेख छ ।
भूकम्पका कारण इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ भने भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा टोली परिचालन गरिएको र अनुगमन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकले जानकारी दिएको छ ।
हाल जिल्लाको अवस्था तथा जनजीवन सामान्य रहे पनि भूकम्पको असरले विभिन्न स्थानहरूमा सुख्खा पहिरो, सडक माथिबाट ढुङ्गा खस्ने जस्ता जोखिम हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ । सिन्धुपाल्चोकका पत्रकार ज्ञानेन्द्र तिमल्सिनाले शुक्रबारकाे भूकम्पले जिल्लामा सामान्य क्षति भएकाे तर अन्य क्षति नभएकाे जानकारी दिए ।

