मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशमा स्वास्थ्य सेवा सहज, सर्वसुलभ र प्रभावकारी बनाइने बताएका छन् ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सुरु आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठीमा उनले उक्त कुरा बताएका हुन् । ‘समिक्षा गोष्ठीले कार्यक्षमताको मूल्यांकन गर्न र आगामी योजना बनाउन मार्गनिर्देशन गर्छ’ मन्त्री थापाले भने । ‘यो वर्ष स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन र प्रविधि सुधारमा विशेष जोड दिने हाम्रो योजाना छ’ उनले भने ‘स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सरकारले काम गरिरहेको छ ।’
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य सेवा प्रवाहका मुख्य चुनौतीहरू पहिचान गर्दै समाधानका लागि समन्वय आवश्यक रहेको बताइन् । ‘सेवा गुणस्तर सुधारका लागि दक्ष जनशक्ति व्यवस्थापन, प्रविधिको अधिकतम उपयोग तथा प्रभावकारी अनुगमन प्रणालीलाई अगाडि बढाउछौ’ उनले भनिन् । त्यस्तै, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दिपेन्द्र श्रेष्ठले नीति निर्माणलाई तथ्यांक र वास्तविकतामा आधारित बनाउनु आवश्यक रहेको बताए। ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अनुसन्धान र प्रविधिमा लगानी बढाउनुपर्छ’ उनले भने ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झाले समिक्षात्मक गोष्ठीबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रमहरूमा समावेश गरिने बताए । ‘प्रदेशको स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सबै निकायहरूले समन्वयात्मक रूपमा काम गर्न आवश्यक छ’ उनले भने ‘समीक्षाले कमजोरीहरू पहिचान गर्दै सुधारका लागि मार्गनिर्देशन गर्ने अवसर दिन्छ।’
प्रदेशका स्वास्थ्य संस्थाहरूको मूल्यांकन गर्दै आगामी वर्षका लागि प्रभावकारी रणनीति निर्माण गर्ने उद्देश्यले आइतबारबाट सुरु सनिक्षा गोष्ठी ३ दिनसम्म संचालन हुनेछ । पहिलो दिन अस्पतालको प्रस्तुति रहेको समिक्षामा दोस्रो दिन जनस्वास्थ्य र तेस्रो दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको प्रस्तुति रहने निर्देशनालयले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनमा नयाँ समिति चयन भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे निर्वाचन अन्तरगत संगठनबीचकाे सहमतीमा आइतबार दिवस सिलवालकाे नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
समिति उपाध्यक्षमा सजना घिमिरे, सचिवमा सुवास राई, कोषाध्यषमा आशाराम गोले, सहसचिवमा आशिष भोलन निर्वाचित भए । यस्तै सदस्यमा आयुषा बुढाथोकी, निश्चल गजुरेल, सन्तोष पुडासैनी, पूजा लम्साल, सुष्मा गौतम, सुशील तिमल्सिना सर्वसम्मत चयन भएका छन् ।
क्याम्पस प्रमुख लक्ष्मण कँडेलले सूचना जारी गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष उज्वल चौलागाईको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत नयाँ समिति चयन गरेको जानकारी दिएका छन् । स्ववियु निर्वाचन कार्यक्रमअन्तर्गत वंशगोपाल बहुमुखी क्याम्पसमा ५ वटा संगठन दर्ता भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त वंशगोपालमा स्नातक तहमा बीबीएस र बीएड कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मकवानपुरको मनहरी बहुमुखी क्याम्पसमा स्ववियुको नयाँ समिति सर्वसम्मत चयन भइसकेकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे फोहाेर संकलन दौड प्रतियोगिता आयाेजना गरिएकाे छ । राष्ट्रिय युवा संघ नेपाल ९ नम्बर वडा कमिटिले आयोजना गरेकाे फोहोर संकलन दौडमा दिवस लामा प्रथम भए ।
हेटौंडा ९ कर्रास्थित गुम्बा चोकदेखि मानव सेवा आश्रमसम्म ४० मिनेटभित्र फोहोर संकलन गर्ने गरी नियम बनाईएको दौड प्रतियाेगितामा ६ दशमलब ९८ केजी प्लाष्टिक संकलन गर्दै लामा प्रथम भएका हुन् । यस्तै ५ दशमलब ९४ के जी फोहोर संकलन गर्दै दिपु डंगोल द्वितीय हुँदा ५ दशमलब ०६ केजी फोहोर प्लाष्टिक संकलन गर्दै दिवस खतिवडा तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैया पुरस्कार प्राप्त गरे । युवा संघ नेपाल लेखा आायोग संयोजक सन्तोष चौलागाईले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
युवा सहभागिता सचेतना र सरसफाईलाई प्रस्तुत गर्ने गरी प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएकाे छ । ६० जना युवाहरु सहभागी प्रतियोगीमा सहभागीलाई फोहोर संकलन गर्न प्लास्टिकको झोला प्रदान गरिएको थियो । तोकिएको समयभित्र धेरै तौल प्लाष्टिकजन्य फोहोर संकलन गर्नेहरुबाट प्रथम, द्वितिय र तृतीय चयन गरि पुरस्कृत गरिएकाे युवा संघ नेपाल मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिए । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–९ का अध्यक्ष सुदर्शन भट्टराईका अनुसार प्रतियोगितामा सहभागी ६० जनाले ८० किलो प्लाष्टिजन्य फोहोर संकलन गरेका छन् ।
युवा संघ नेपाल हेटौंडा–९ का अध्यक्ष भट्टराईको सभाध्यक्ष तथा युवा संघ नेपाल लेखा समिति संयोजक चौलागाईको प्रमुख आतिथ्यमा भएकाे दौड प्रतियोगिता कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना, बागमती प्रदेश कमिटि सदस्य एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ लगायतकाकाे उपस्थित रहेकाे थियाे ।
१.
कसरी घर बिग्रेर पनि अर्को घर बन्छ?
जस्तो कि अक्षर बिग्रेर हस्ताक्षर बन्छ।
मलाई हरदम “म ” बन्न मन छ टुक्रेर पनि,
जसरी पत्थर टुक्रिएर फेरि पत्थर बन्छ।
जिन्दगी फूल जस्तो रहेछ यस कारण पनि,
कहिले भाँचिन्छ फेरि कहिले अत्तर बन्छ।
वर्षा छेल्नकै लागि नयाँ छाता समायो हातले,
यस्तो लाग्छ यो वर्षा पनि एउटा अवसर बन्छ ।
नाजवाफ भएपछि न, उत्तर भेटियो आँखामा,
जसरी कयौं रहर पिल्सेर पनि नयाँ रहर बन्छ।
२.
सुकेको खरमा झिल्को पर्यो अब के हुन्छ?
मन जलेकै बेला आगो पर्यो अब के हुन्छ ?
बिधुवा आमाकै अगाडि फागु खेल्यो छोराले,
सेतो सारीमा रातो छिटो पर्यो अब के हुन्छ?
बगरमा भएको घरलाई बाढीको पिर थिएन,
पाखो खसेर घरमै पहिरो पर्यो अब के हुन्छ?
छिमेकीसँग झगडा गरेरै आँगन राखेको हो,
हेर्दाहेर्दै बलेसीमै खोलो पर्यो अब के हुन्छ?
साँढेको पिरले घरमा पर्खाल लगाउनु भो बा’ले,
आखिर जालमा पाठो पर्यो अब के हुन्छ?
भरतपुर-५ चितवन
मकवानपुर । बागमती प्रदेश सरकारले राजश्वकाे स्राेत खोज्न समिति गठन गरेकाे छ । प्रदेश सरकारले नेपाल सरकारका पूर्वसहसचिव किशोरजङ्ग कार्कीको संयोजकत्वमा गठन राजस्व सुधार अध्ययन समिति गठन भएकाे हाे ।
उक्त समितिले गत तीन वर्षको राजस्व सुधार कार्ययोजना तर्जुमा, राजस्व परिचालनमा सुधारका क्षेत्र पहिचान र राजस्व प्रक्षेपणका क्षेत्रको अध्ययन गर्ने छ । संघीय सरकारले दिने अनुदानमा कटौती हुने भएपछि प्रदेशकाे विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन अन्य विकल्प नभएकाेले राजस्व संकलनको दायरामा वृद्धि गरिनु पर्ने भएकाे हाे ।
प्रदेश सरकारले राजस्वकाे सुधार तथा स्रोतको खोजी गर्न गठित समितिमा पूर्वसहसचिव लेखनाथ पङ्गेनी, अर्थविज्ञ डा. सञ्जीव हुमागाईं, बैंकर गंगा सापकोटा र अनुसन्धानकर्ता प्रेम दवाडी सदस्य रहेका छन् । देशमा संघीयता लागूपछि प्रदेश निर्माण भएकाे सात वर्षपछि राजस्वमा सुधारकाे लागि बागमती प्रदेश सरकारले स्रोतको खोजी गर्न थालेको हो । राजस्वमा सुधार गर्न तथा राजश्वकाे दायरा बढाउन प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले समिति नै गठन गरेर काम थालेको छ ।
संघीय सरकारले दिने अनुदानमा कटौती र भएका राजस्वको स्रोतसमेत खुम्चन थालेपछि गठन भएकाे उक्त समितिले सरोकारवालासँग छलफल गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपाल, प्रदेशका प्रमुख सचिव महादेव पन्थलगायत प्रदेश सरकारका सचिवलगायतका सरोकारवालासँग समितिले छलफल गरेको हो ।
समितिले कर, गैरकरको आधार, दर, दायरा र प्रशासनका साथै प्रदेशको कुल गार्हस्थ उत्पादन र राजस्वको अवस्था, बजेट, नीति तथा कार्यक्रम एवं प्रतिवेदन अध्ययन गर्ने भएको छ । समितिलाई प्रदेशको राजस्व परिचालन क्षमता एवं प्रभावकारिता अभिवृद्धिलगायतका लागि तहगत सहकार्यको उपयुक्त संयन्त्र सिफारिस गर्ने गरी जिम्मेवारी दिइएको बताइएकाे छ ।
समितिले विभिन्न क्षेत्रबाट उठ्ने करका समस्या, चुनौती र अवसरका अध्ययनसहित सुझाव दिने भएकाे छ । खर्च कटौती, प्रभावकारी योजना निर्माण र कार्यान्वयनबारे समेत समितिले सुझाव दिने भएको छ । समितिलाई आगामी तीन महिनाभित्र आफ्नो अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाउने गरी जिम्मेवारी दिइएको छ ।
प्रदेशको राजस्व संकलनमा संकुचन तथा बढ्दाे खर्चकाे समस्या समाधान गर्न अध्ययन समिति गठन गरी काम थालिएको आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले जानकारी दिए । प्रतिवेदनले दिएका सुझावलाई आगामी बजेटमा सम्बोधन गरिने उनले बताए ।