१.
कसरी घर बिग्रेर पनि अर्को घर बन्छ?
जस्तो कि अक्षर बिग्रेर हस्ताक्षर बन्छ।
मलाई हरदम “म ” बन्न मन छ टुक्रेर पनि,
जसरी पत्थर टुक्रिएर फेरि पत्थर बन्छ।
जिन्दगी फूल जस्तो रहेछ यस कारण पनि,
कहिले भाँचिन्छ फेरि कहिले अत्तर बन्छ।
वर्षा छेल्नकै लागि नयाँ छाता समायो हातले,
यस्तो लाग्छ यो वर्षा पनि एउटा अवसर बन्छ ।
नाजवाफ भएपछि न, उत्तर भेटियो आँखामा,
जसरी कयौं रहर पिल्सेर पनि नयाँ रहर बन्छ।
२.
सुकेको खरमा झिल्को पर्यो अब के हुन्छ?
मन जलेकै बेला आगो पर्यो अब के हुन्छ ?
बिधुवा आमाकै अगाडि फागु खेल्यो छोराले,
सेतो सारीमा रातो छिटो पर्यो अब के हुन्छ?
बगरमा भएको घरलाई बाढीको पिर थिएन,
पाखो खसेर घरमै पहिरो पर्यो अब के हुन्छ?
छिमेकीसँग झगडा गरेरै आँगन राखेको हो,
हेर्दाहेर्दै बलेसीमै खोलो पर्यो अब के हुन्छ?
साँढेको पिरले घरमा पर्खाल लगाउनु भो बा’ले,
आखिर जालमा पाठो पर्यो अब के हुन्छ?
भरतपुर-५ चितवन

