मकवमनपुर । बागमती प्रदेशकाे २ जिल्लामा भएकाे छुट्टाछुट्टै घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । प्रदेशकाे मकवानपुर र चितवनमा भएकाे घटनामा ३ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुरकाे बकैया गाउँपालिका ११ घट्टेपाखास्थित कान्ति लोकपथमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरसफाइ सामग्री लोड गरिएको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा चालक ३३ वर्षीय कृष्ण यादव घाइते भएका छन्। उनलाई उपचारका लागि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ।
वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रक बुधबार बिहान करिब ३ बजे दुर्घटनामा परेको थियो। ट्रक अनियन्त्रित भई सडक नजिक रहेको खालि घरमा ठोक्किएर करिब १५० मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ। ट्रकले ठक्कर दिएको घर ओमानसिंह तितुङको रहेको बताइएकाे छ।
यसैगरी चितवनकाे भरतपुर महानगरपालिका–२७ मा स्कुटरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ भने त्रिशूली नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।
भरतपुर महानगरपालिका–२७, पर्साढाप बजारमा स्कुटरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार दिउँसो १ बजेको समयमा जितपुरबाट चनौलीतर्फ जाँदै गरेको बा प्र ०६–०१ प ००९० नम्बरको स्कुटरले साइकलयात्री भरतपुर–२७, पर्साढापका ६२ वर्षीय रामजी अर्याललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
स्कुटरकाे ठक्करबाट घाइते अर्याललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा मंगलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक भरतपुर–२८ का २८ वर्षीय सतिस मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै चितवनको इच्छाकामना गाउँपालिका–६ त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । मंगलबार दिउँसो ३ बजेको समयमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान हुन सकेको छैन ।
मकवानपुर । हिजो शुक्रबारबाट बदली भएकाे मौसम आज शनिबार समेत देशभर बदली रही अधिकांश स्थानमा आकाशमा बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हुरीबताससहित मध्यमसम्मको वर्षा भइरहेको छ।महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना/हुरीबताससहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति पनि कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ र बाँकी तराईमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थान, मधेस र बागमती प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा अनि हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यसैगरी आइतबार भने पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यसदिन पहाडी तथा हिमाली भूभागका थोरै स्थान र कोशी तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मकवानपुर । इस्लाम धर्मावलम्बीहरूले आज ईद-उल-फित्र मनाउँदै छन्। पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि चन्द्रमा देखिएसँगै ईदको पर्व मनाउने परम्परा रहेको छ।
इस्लाम धर्मका संस्थापक पैगम्बर हजरत मुहम्मदले बद्रको युद्धमा प्राप्त गरेको विजयको स्मरणमा पनि यो पर्व विशेष रूपमा मनाइने विश्वास गरिन्छ। ईदलाई शान्ति, सद्भाव र भाइचाराको प्रतीकका रूपमा लिइन्छ। यस दिन मुस्लिम समुदायले विगतका मनमुटाब बिर्सेर एक अर्कालाई अँगालो हाल्दै शुभकामना आदानप्रदान गर्छन्। ३० दिनसम्मको उपासनापछि अल्लाहप्रति कृतज्ञता व्यक्त गर्दै मिठाई साटासाट गर्ने, उपहार दिने र प्रेम बाँड्ने चलन रहेको छ।
नेपालमा पनि मुस्लिम समुदायले उल्लासका साथ ईद मनाएका छन्। बागमती प्रदेशकाे राजधानी हेटौंडा, संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा मस्जिदहरूमा विशेष नमाज अदा गरिएको छ।
हेटौंडाकाे जामे मस्जिदमा बिहानैदेखि श्रद्धालुहरूको भीड देखिएको थियो। नमाजपछि एक अर्कालाई अँगालो हाल्दै शुभकामना आदानप्रदान गरिएको छ भने बालबालिकादेखि वृद्धसम्म नयाँ लुगा लगाएर उत्सवमा सहभागी भएका छन्। यसरी ईद पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश फैलाउने विश्वास गरिन्छ।
इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र – ईद र ईदुज्जुहा – बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा – राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय कुरबानी -बलिदानको सम्झना हो जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए ।
इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्राय: एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदछ्न् । बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान गरिन्छ ।
ईदको शाब्दिक अर्थ अरबी भाषामा ‘त्यहार’ वा ‘भोज’ हो । इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख ईदहरू छन्- ईद-अल-फित्र वर्षको सुरुमा र ईद-अल-अधा अन्त्यमा ।
ईद अल-फित्र तीन दिन लामो चाड हो र यसलाई ‘कम’ वा ‘सानो ईद’ भनेर पनि चिनिन्छ । यस्तै ईद-अल-अधा चार दिन मनाइन्छ र ‘बृहत्तर ईद’ भनेर चिनिन्छ ।
इद-उल-फित्र कसरी मनाइन्छ ?
ईद-अल-फित्रले दुईदेखि तीन दिनको उत्सवहरू समावेश गर्दछ जुन विशेष बिहानको प्रार्थनामा गरिन्छ । मानिसहरूले एकअर्कालाई ‘ईद मुबारक’ भन्छन् जसको अर्थ ‘धन्य ईद’ हुन्छ र औपचारिक अंगालोमा अभिवादन गरिन्छ ।
घरमा मिठा परिकार बनाइन्छ र बालबालिका र खाँचोमा परेकाहरूलाई उपहार दिइन्छ । यस्तै क्षमा गर्न र क्षमा खोज्न प्रोत्साहित गरिन्छ । देश अनुसार अभ्यासहरू केहि फरक हुन्छन् ।
अर्को चाड, ईद-अल-अधा, बलिदानको पर्व हो । ईद-अल-अधाले विश्वासको परीक्षाको रूपमा आफ्नो छोरा इस्माइललाई बलिदान गर्न इब्राहिमलाई कसरी आज्ञा दिनुभयो भन्ने कथालाई सम्झन्छ ।
कुरानमा वर्णन गरिएझैं कथाले इब्राहिमलाई प्रलोभनमा पार्ने शैतानको प्रयासलाई वर्णन गर्दछ ताकि उसले परमेश्वरको आदेशलाई अवज्ञा गर्दछ । तथापि इब्राहिम अचल रहन्छ र बलिदान गर्न इच्छुक इस्माइललाई सूचित गर्दछ ।
तर, जसरी इब्राहिमले आफ्नो छोरालाई मार्ने प्रयास गर्छ, भगवानले हस्तक्षेप गर्नुहुन्छ र इस्माइलको सट्टामा एउटा भेडा बलिदान गरिन्छ । ईद-अल-अधाको समयमा, इब्राहिमको बलिदानलाई सम्झन र ईश्वरको इच्छामा आत्मसमर्पण गर्नुपर्ने आवश्यकताको सम्झना गर्न जनावरको हत्या गरिन्छ ।
कहिले मनाइन्छ ?
इद-अल-फित्र इस्लामिक क्यालेन्डरमा १० औं महिनाको पहिलो दिन मनाइन्छ । इस्लामिक क्यालेन्डरमा अन्तिम महिनाको १० औं दिनमा ईद-अल-अधा मनाइन्छ ।
इस्लामिक क्यालेन्डर एक चन्द्र पात्रो हो र मितिहरू चन्द्र चरणहरूमा आधारित गणना गरिन्छ । इस्लामिक क्यालेन्डर वर्ष सौर्य ग्रेगोरियन क्यालेन्डर वर्षभन्दा १० देखि १२ दिन छोटो भएकोले, ग्रेगोरियन क्यालेन्डरमा रमजान र ईदको मितिहरू वर्ष अनुसार फरक हुन सक्छ ।
ईद-अल-फित्रको आध्यात्मिक अर्थ
ईद-अल-फित्रले जसरी रमजानको उपवास पछ्याउँछ, अल्लाहको शक्ति र सहनशीलताको एक आध्यात्मिक उत्सवको रूपमा पनि हेरिन्छ ।
प्रतिबिम्ब र रमाईलोको बीचमा, ईद-अल-फित्र दानको लागि समय हो, जसलाई जकात अल-फित्र भनिन्छ । ईद भनेको आनन्द र आशीर्वादको समय हो र आफ्नो सम्पत्ति बाँडफाँड गर्ने समय हो ।
कुरानले भन्छ, ‘अल्लाह र उहाँका सन्देशवाहकको विश्वास गर्नुहोस्, र आफूले सकेको दान दिनुहोस् । खुला मनले जसले अल्लाहको विश्वास गर्छन् र दान दिन्छन् उनीहरूका लागि ठूलो इनाम हुनेछ ।’
निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको समग्र परिणाम र विवरण समेटिएको प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरे। यो प्रतिवेदन बुझाएसँगै अब नयाँ सरकार गठनका लागि संवैधानिक ढोका औपचारिक रूपमा खुलेको छ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल राजनीतिक परिस्थितिका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उनले निर्वाचन आयोग, कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिँदै यो निर्वाचनले लोकतन्त्रलाई थप मजबुत बनाएको दाबी गरे।
राष्ट्रपति पौडेलले भने, ‘फागुन २१ को निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गरेर आयोगले ठूलो जिम्मेवारी पूरा गरेको छ। यसले निर्वाचन प्रणालीप्रति नागरिकको विश्वास बढाएको छ र हाम्रो लोकतन्त्र अझ सुदृढ भएको महसुस गरेको छु।’
अबको प्रक्रिया के ?
आयोगले प्रतिवेदन बुझाएसँगै राष्ट्रपतिले अबको केही दिनभित्रै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछन् । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत ल्याएकाले संविधानको धारा ७६ (१) अनुसारकै एकल बहुमतको सरकार बन्ने निश्चित देखिएको छ।
आयोगका अनुसार यो निर्वाचनमा समानुपातिकतर्फ ११० र प्रत्यक्षतर्फ १६५ गरी कुल २७५ सांसदको नामावली समेटिएको प्रतिवेदन आजै राजपत्रमा समेत प्रकाशित गरिनेछ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँ मूल्य वृद्धि गरेको छ । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
निगमका अनुसार अब तेस्रो वर्ग अन्तर्गत पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।दोस्रो वर्ग अन्तर्गत अन्तरगत पेट्रोलको मूल्य १७१, डिजेल र मट्टितेलको मूल्य १५१ पुगेको छ ।
निगमले पहिलो वर्ग अन्तरगत पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल र आसपासका क्षेत्र पर्छन् । यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ,सुर्खेत र आसपासका क्षेत्र पर्छ भने पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी, वीरगञ्ज र आसपासका क्षेत्र पर्छन् ।
निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।
‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ । यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमलाई इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ र डिजेल प्रतिलिटर ५४ रुपैयाँले बढेर आएको थियो । निगमले उपभोक्तालाई प्रत्यक्ष मार नपरोस् भनेर मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गरी कम मात्र मूल्य बढाएको बताएको छ ।
निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २१६ रुपैयाँले मूल्य बढेर आएको छ, तर उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै यसको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ ।