मकवमनपुर । बागमती प्रदेशकाे २ जिल्लामा भएकाे छुट्टाछुट्टै घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । प्रदेशकाे मकवानपुर र चितवनमा भएकाे घटनामा ३ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुरकाे बकैया गाउँपालिका ११ घट्टेपाखास्थित कान्ति लोकपथमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरसफाइ सामग्री लोड गरिएको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा चालक ३३ वर्षीय कृष्ण यादव घाइते भएका छन्। उनलाई उपचारका लागि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ।
वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रक बुधबार बिहान करिब ३ बजे दुर्घटनामा परेको थियो। ट्रक अनियन्त्रित भई सडक नजिक रहेको खालि घरमा ठोक्किएर करिब १५० मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ। ट्रकले ठक्कर दिएको घर ओमानसिंह तितुङको रहेको बताइएकाे छ।
यसैगरी चितवनकाे भरतपुर महानगरपालिका–२७ मा स्कुटरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ भने त्रिशूली नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।
भरतपुर महानगरपालिका–२७, पर्साढाप बजारमा स्कुटरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार दिउँसो १ बजेको समयमा जितपुरबाट चनौलीतर्फ जाँदै गरेको बा प्र ०६–०१ प ००९० नम्बरको स्कुटरले साइकलयात्री भरतपुर–२७, पर्साढापका ६२ वर्षीय रामजी अर्याललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
स्कुटरकाे ठक्करबाट घाइते अर्याललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा मंगलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक भरतपुर–२८ का २८ वर्षीय सतिस मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै चितवनको इच्छाकामना गाउँपालिका–६ त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । मंगलबार दिउँसो ३ बजेको समयमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान हुन सकेको छैन ।

