मकवानपुर । हिजो शुक्रबारबाट बदली भएकाे मौसम आज शनिबार समेत देशभर बदली रही अधिकांश स्थानमा आकाशमा बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हुरीबताससहित मध्यमसम्मको वर्षा भइरहेको छ।महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना/हुरीबताससहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति पनि कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ र बाँकी तराईमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थान, मधेस र बागमती प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा अनि हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यसैगरी आइतबार भने पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यसदिन पहाडी तथा हिमाली भूभागका थोरै स्थान र कोशी तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

