वाचा कसम टुटी जान्छन् प्रेमकाे सुगन्ध रहिरहन्छ
कयौं साथ छुटी जान्छन् प्रेमकाे सुगन्ध रहिरहन्छ
कहिले काहीँ नसोचेकाे भइदिन्छ हाम्रो जिन्दगीमा
आफ्नैहरुले लुटी जान्छन् प्रेमकाे सुगन्ध रहिरहन्छ
नेपालकाे नवलपरासी जिल्लामा रहेर साहित्य कर्ममा रमाउँदै आउनु भएका व्यक्ति निर्दोष जीवन । उहाँसंग व्यक्तिगत रुपमा मेरो चिनजान सामान्य छ । सामान्य यस अर्थमा कि खासै लामो समय संगत छैन । एक पटक बागमती प्रदेशको राजधानी हेटौंडामा चितवनका गजलकार अविरत सुमनसँग एक दिनको दिउँसो १५-२० मिनेटको चिया गफ भएको छ भने चितवनको सम्पूर्ण किताब नारायणगढमा एक विहानको त्यस्तै १०-१५ मिनेट गफ भएका छन् ।
सामाजिक संजालमा जोडिएको केही समयपछि यी दुई भेट अप्रत्याशीत भएका हुन् । त्यो बाहेक हाम्रो सशरीर भेट तथा औपचारिक अनौपचारिक कुराकानी हुन पाएको छैन । उहाँले उक्त मुक्तक सङ्ग्रहको विमोचन हुने समय निमन्त्रणा दिएर पनि पुग्न नसकेको म पुस्तक प्राप्त हुँदा उतै भएको अनुभूति गरिरहे ।
साहित्यलाई माया गर्ने मैले पुस्तक पढेपछि केही न केही लेख्छु । समिक्षाको पाटो अलग हो, एउटा पाठकको रुपमा पुस्तक पढ्दा विधागत रुपमा जे जे पाए सरसर्ती लेख्ने जमर्को रहन्छ । मेराे लागि माया गरेर प्रेमकाे सुगन्ध पठाइ दिनु भएकाे थियाे सम्पूर्ण किताबका लेखराम सापकाेटा र सुमन घिमेरेकाे साथमा । त्यही मायाले प्राप्त गरेकाे प्रेमकाे सुगन्ध अध्ययन गर्दा केही लेख्न मन लाग्याे । पुस्तक प्राप्तीकाे केही समय पछी पाठककाे आँखाबाट पढ्दा जस्ताे बुझियाे त्यसैकाे आधारमा साहित्यलाई माया गर्ने साहित्यप्रेमी भएकाे नाताले आफ्नाे विचार व्यक्त मात्र गर्न खाेजेकाे छु ।
कुनै समय शम्भु गिरी ‘अभागी’ नामले चितवनबाट साहित्यमा पढिएको र सुनिएको नाम निर्दोष जीवन भएको भन्ने थाहा पाउन उहाँको प्रेमको सुगन्धको दोस्रो सस्करण हात पार्नु परेको छ । गीत गायन र संगीत प्रति पनि आवद्ध जीवनकाे प्रेमकाे सुगन्ध दशौं कृति हाे जुन संग्रहमा पनि आएकाे छ ।
प्रेमकाे सुगन्धमा जम्मा एक सय पृष्ठ छ । भूमिका समेत अन्य गरे केही थपिएका छन् पृष्ठ । एक सय पृष्ठभित्र दुई सय मुक्तक सजिएका छन् । गजल मञ्च चितवनले प्रकाशन गरेकाे तथा सम्पूर्ण किताब नारायणगढ वितरक रहेकाे संग्रहका भूमिकाले यसकाे वजन बढाएको छ ।
मुक्तक साहित्यको एउटा अत्यन्तै लोकप्रिय र मर्मस्पर्शी विधा हो।
’मुक्तक’ शब्द संस्कृतको ‘मुक्त’ धातुबाट बनेको हो, जसको अर्थ ‘स्वतन्त्र’ भन्ने हुन्छ। साहित्यको विधाहरु मध्ये मुक्तक कविताको उप विधा हो । मुक्त छोटो रुपमा आफ्नै संरचनामा रचना गरिन्छ जुन आफैमा पूर्ण हुन्छ ।
नेपाली साहित्यमा लेखिने मुक्तकहरू चार हरफमा लेखिन्छ
* पहिलो र दोस्रो हरफ: विषयवस्तुको उठान र पृष्ठभूमि तयार गर्छन्। यी दुई हरफमा ‘अन्त्यानुप्रास’ मिलेको हुन्छ।
* तेस्रो हरफ: यो हरफ स्वतन्त्र हुन्छ र यसले चौथो हरफमा आउने मुख्य प्रहारका लागि आधार तयार गर्छ।
* चौथो हरफ: यो सबैभन्दा शक्तिशाली हरफ हो, जसले सिङ्गो मुक्तकको अर्थ वा सन्देशलाई झट्का दिने गरी प्रस्ट पार्छ। यसमा पनि पहिलो र दोस्रो हरफकै अनुप्रास दोहोरिन्छ।
* आकारमा सानो: थोरै शब्दमा धेरै कुरा भनिएको हुन्छ।
* स्वतन्त्रता: एउटा मुक्तकले एउटा पूर्ण विचार व्यक्त गर्छ।
* तीक्ष्ण प्रहार: यसले पाठकको मनमा सिधै र गहिरो प्रभाव पार्छ।
* गेयात्मकता: मुक्तकमा लय मिलाएर गाउन वा वाचन गर्न सकिने गेयात्मकता हुन्छ
नेपाली साहित्यमा मोतीराम भट्टलाई आधुनिक मुक्तकका प्रवर्तक मानिन्छ। अचेल सामाजिक सञ्जाल र साहित्यिक कार्यक्रमहरूमा मुक्तक निकै रुचाइने विधा बनेको छ।
नेपाली मुक्तक साहित्यमा ‘निर्दोष जीवन’ एक परिचित नाम हो। उहाँको पछिल्लो कृति ‘प्रेमको सुगन्ध’ ले पाठकको मनमा एउटा छुट्टै छाप छोड्न सफल देखिन्छ। प्रकाशन भएकाे एक महिना भित्रै दोस्राे संस्करण प्रकाशन हुनुले समेत यसलाई पुष्टी गरेकाे छ । नामजस्तै पुस्तकभित्रका प्रत्येक मुक्तकले प्रेमको एउटा नयाँ र पवित्र सुगन्ध छरेका छन्।
यस सङ्ग्रहमा प्रेमलाई अतिरञ्जित नगरी निकै स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ। प्रेममा हुने मिलनको खुसी, बिछोडको पीडा र समर्पणको भावलाई लेखकले चार लाइनको कसिलो घेराभित्र जीवन्त पारेका छन्। केवल रोमान्टिक प्रेम मात्र नभएर, जीवनका भोगाइ र सानातिना खुसीलाई पनि मुक्तकको विषय बनाइनु यस पुस्तकको सबल पक्ष हो। संग्रहमा प्रेम मात्रै अटाएका छैन विकृति विसंगती देश प्रेम लगायत पनि समेटिएका छन् ।
विदेशभन्दा प्यारो लाग्छ आफ्नै सुन्दर देश
झनै प्यारो लाग्छ मलाई आफ्नै भाषा भेष
विदेशीकाे संस्कृति त भो भो चाहिँदैन
नेपालीकाे संस्कृति नै लाग्छ मलाई बेस
मुक्तक विधामा ‘मार’ को ठुलो महत्त्व हुन्छ। ‘प्रेमको सुगन्ध’ का अधिकांश मुक्तकहरूमा चौथो हरफमा पुग्दा पाठकले एउटा मीठो झट्का वा गहिरो अर्थ प्राप्त गर्छन्। अनुप्रास र लय विधानमा लेखकको पकड राम्रो देखिन्छ, जसले गर्दा यी मुक्तकहरू वाचन योग्य र कर्णप्रिय बनेका छन्। तर केही मुक्तक लेख्न सिक्दा सिक्दै गरेकाे अवस्थाकाे जस्तो समेत पाइन्छ । प्रेमका सुरुका अवस्था र अन्त्य अवस्था सम्मका मुक्तकले प्रेममय भएकाे छ संग्रह ।
आवाज विहिन प्रेमकाे गहिराई नाप्न सकिदैन् । त्यसकाे अनुभूति गर्न सकिन्छ । प्रेम भोगाई सँगै समर्पण पीडा स्मृतिकाे मौन स्वीकृत समेत भएकाे संग्रहकाे अध्ययनबाट प्राप्त गर्न सकिन्छ । त्यसैले प्रेमकाे सुगन्ध कृति मात्रै हाेइन अनुभूति पनि हाे । सरल भाषा र सहज बुझाइ तथा गहन भाव समेटिएकाे ‘प्रेमको सुगन्ध’ प्रेमको खोजीमा रहेका र जीवनलाई सूक्ष्म रूपले बुझ्न चाहने पाठकका लागि एउटा उत्कृष्ट सङ्ग्रह हो। कतिपय ठाउँमा भावहरू दोहोरिए जस्तो लागे पनि यसको सरलता र इमानदारीले ती कमजोरीहरूलाई ओझेलमा पारिदिन्छ।
सङ्ग्रहमा प्रेमिल मुक्तकहरू यथेष्ट छन् । सामाजिक विषयवस्तुका मुक्तक पनि छन् । जीवनले आफ्नो पुस्तकमा प्रेमको विषयमा खुलेर लेखेका छन् । प्रेमलाई हृदयदेखि मनन गर्न र जीवनमा लागू गर्न सकियो भने साँच्चै जीवनमा प्रेमको सुगन्ध रहिरहने छ । ‘प्रेम सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न शेखी गर्छ । प्रेम हठी हुँदैन, न ढीट हुन्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ । प्रेमको कहिल्यै अन्त्य हुँदैन ।’
अन्त कतै यति सुन्दर जून पाइँदैन
खबरदार उनकाे नजिक हुन पाँइदैन
ए दुनियाँ आँखा तरि कति मरिहत्ते गर्छस्
दाग लाग्छ अप्सरालाई छुन् पाइदैन्
साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने निर्दोषले गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका हुन् । उहाँकाे ‘आशीर्वाद’ (गजल, मुक्तक र हाइकूसङ्ग्रह) पहिलो कृति हो । ‘नयाँ जीवन’ ‘प्रार्थना’ ‘मैयाँ’ ‘कोर्राको चोट’ ‘फस्ट लभ’ ‘प्रिय साथी’ ‘मेरो गीत’ र ‘नोष्टाल्जिया’ गरी ९ वटा कृति प्रकाशित भैसकेका छन् भने नेपाली मुक्तक साहित्यलाई अगाडि बढाउन यो कृतिले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएकाे छु।
अन्त्यमा गीत गजल मुक्तक हाइकु कथा उपन्यास लगातयकाे विधामा कलम दौडाउँदै आउनु भएका लेखकलाई कृतिगत सफलताका साथै निरन्तर साहित्यिक सृजनाकाे शुभकामना ।
एबीसी पदयात्रा, प्रकृतिसँगकाे लुकामारी फरक अनुभूति
Tags: No Comments
पदयात्राकाे सुरुवात १७५० मिटर उचाइबाट सुरु हुँदा दाङका सविन शर्मा उत्साहित हुनुहुन्थ्यो । सुरुमै नाक ठाेक्किने उकालो उक्लिए पछि थाकेका गोडा पटक्कै सार्न नसके पनि उहाँकाे पद यात्रा राेकिएन । दक्षिण दिशाबाट अन्नपूर्णकाे फेदीमै पुग्ने र वरिपरी हिमालकाे दृश्यावलोकन गर्ने उहाँको इच्छाशक्ति सामु थकित शरीर र फतक्कै गलेका गोडाले अवरोध गरेनन् ।
२०८२ सालकाे तिहार पर्व मनाउन नमिल्ने र पारिवारिक कारण नमनाउनेकाे एउटा टोली पदमार्गकाे लागि निस्कियो हेटौंडाबाट । तिहारकाे केही समय अघी साथीहरुकाे मेसेन्झर ग्रुपमा एबीसी पदयात्रा तिहार पछि जाने मेसेज छोडेकाे । केहीले चासो देखाए । चासो देखाउने मध्येका एक हरेराम आचार्यसँग भेट गरेपछि तिहार पछि भन्दा अघी नै जानु उपयुक्त हुने कुरो भयो । दुई जनामात्रै नजाने थप एक/दुई जनालाई यात्रामा सहभागी गराउन सकिन्छ की भन्ने काेणबाट कुरा भए । थप एक जना आचार्य सरकाे अफिसकै स्टाफ जाने पक्का भएपछि अरु थप भए पनि नभए पनि जाने चै पक्का भयो । तर जाने तिथिमिति जुरेकै थिएन ।
तिहारकाे सुरुवातमै हिड्नेकी तिहार सकिएपछि भन्ने समय नटुङ्गिएकै बेला ३ कात्तिक २०८२ काे विहान तीनै जनाले चिया गफबाट मिति टुङ्याउने गरी बस्यौं । करिब एक घण्टा पछि हामीले निर्णय लियौं साेही दिन बेलुकाकाे बसबाट पोखरा जाने र भाेलीपल्टकाे बिहानबाट यात्रा सुरु गर्ने । तिहार पछि जाने गरी एक जना साथी (अर्जुन खतिवडा) हेटौंडा आएर सल्लाह गरौंला भन्दै हुनुहुन्थ्यो । तर तिहार पछिकाे समय हाम्राे लागि अनुकुल नहुने भएपछि मिति टुङ्याएकाे १२ घण्टापछि यात्राले पश्चिम दिशाकाे लय समाएकाे थियाे ।
नेपालमा पदयात्राका लागि असोज–कात्तिक र चैत–वैशाखको याम उत्तम मानिन्छ। गन्तव्यस्थलमा पर्यटकको आउजाउ बाक्लिएको बेला पनि यही हाे । पदयात्रामा रमाउनेको सङ्ख्या पनि बढ्दै जाने मौसम हाे । कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ। नेपालको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न मानिसहरू पदयात्रामा निस्कन्छन्। शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरूस्तीका दृष्टिले पनि वर्षमा १/२ पटक पदयात्रा गर्नु उपयुक्त मानिन्छ।
रात्रीबसमा पोखरा गएर पदयात्रा मार्ग झिनुडाँडासम्म सानो गाडीमा जाने सहमती यात्रामा सहभागी हरेराम आचार्य र म र शर्माकाे भयो । तिहार पर्वकाे रमाइलो अन्नपूर्ण क्षेत्र र पदयात्रा मै गर्ने थोरै तयारी गर्दै हामी पदयात्रामा निस्कियौं हेटौंडाबाट । पछिल्लो समय फुर्सदमा पदयात्रामा निस्कने संस्कारको विकास हुन थालेको छ। युवा पुस्तादेखि पाका पुस्तासमेत पदयात्रामा रमाउन थालेका छन्। घुम्न जाने गन्तव्यको रुपमा एबीसी दक्षिण जाने मैले गरेकाे प्रस्ताव पारित भएकाे थियो हरेराम आचार्यबाट । हामी तिनै जनाकाे तिहार विविध कारण राेकिएकाे थियाे । यसै अवसरकाे सदुपयोग गर्दै एबीसी पदयात्रा रोजेकाे थियौं ।

मैले पहिलो पटक पदयात्राको अनुभव लिदैं थिए । एक दिनकाे हाइकिङ त धेरै गरेकाे छु तर ४-५ दिन लगातार हिड्दै उचाइमा गरिने पदयात्रा पहिलो पटक । जब पदयात्रा सकेर फर्किओं प्राकृतिक दृश्यसँगै केही फरक अनुभूति गर्ने अवसर पाइएकाे तीनै जनाकाे अनुभूति रह्यो ।हामीलाई कात्तिक ४ गते बिहान ४ बजे पाेखरा उपमहानगरपालिकाकाे वडा नम्बर १ र २ काे सिमानामा रहेकाे हरिचोक बसले पुर्याइ दियो । करिब एक घण्टा जति कात्तिककाे बिहानकाे थोरै चिसोमा बिताए पछि झिनु जाने सुमोलाई फोन गर्न लाग्यौ ।
२ -३ वटा सुमो चालकलाई फोन गरेपछि ५ः३० तिर चहलपहल बढ्दै गयो । अरुपनि स्थानीय र पदयात्री थपिदै गए । सुमाेले जम्मा ७ जनामात्रै राखेर लैजाने रहेछ । हामी तीन जनाले अरु ४ जनाकाे टोलीलाई केही बेर अरु पर्खनु पर्यो । ३ जना मात्रै पनि जान सकिने तर पैसा ७ जनाकै तिर्नु पर्ने भएपछि हामीले अरु आधाघण्टा पर्खिएका थियौं । केही समयमा पदयात्राकै एउटा वेस क्याम्प छोङराेम जाने स्थानीय ४ जना आए पछि हामीले हरिचोकलाई छोड्यौ ।
पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ। विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन्। पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकहरू पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ।
पदयात्रा भनेको बाहिरी साहसिक गतिविधिको एक रूप हो । प्राकृतिक परिदृश्यहरूमा पैदल यात्रा सामान्यतया लामो दूरी र फरक-फरक भू-भागमा गरिन्छ। यो प्रायः पदयात्रा, ब्याकप्याकिङ र क्याम्पिङसँग सम्बन्धित छ, र यो विश्वभरका पहाडी क्षेत्रहरू, राष्ट्रिय निकुञ्जहरू र जंगली क्षेत्रहरूमा लोकप्रिय गतिविधि हो। पदयात्रा राम्ररी चिन्ह लगाइएका पदमार्गहरूमा अपेक्षाकृत सजिलो पैदल यात्रादेखि लिएर प्राविधिक आरोहण सीप र उपकरणहरू आवश्यक पर्ने चुनौतीपूर्ण अभियानहरूसम्म हुन सक्छ।
१७५० मिटरमा अवस्थित झिनुडाँडाबाट पहिलाे दिनकाे पदयात्रा सुरु गर्दा बिहानकाे ९ बजेकाे थियाे । त्यस अघी केही फलफुल खाएका थियौं हिड्न सहजताकाे लागि । सुरु सुरुमा साथीहरु पदयात्रा जादाँ पहाडको उकालो चढेर के हुन्छ? भन्ने लाग्थ्यो । तर यस पटक हेटौंडा कै एक जना दाइ शंकर बीसीले दशैं लगत्तैकाे भेटमा ट्रेकिङ जाने एबीसी भन्नु भयो । जती बेला म विमारी भएर भर्खरै उठेकाे थिए । मर्निङवाक समेत जान जाँगर चलेकाे थिएन । त्यसकाे दुई दिन पछि मर्निङवाक सुरु गरे । विस्तारै यसपटक पदयात्रा त जसरी पनि जाने नै हाे भन्ने अठोट गरिरहे । शंकर दाईहरुकाे टोलीमा काेटा पुगेकाे पछि कुराे हुँदा थाहा पाएपछि आफैंले साथीहरु जुटाउन सुरु गरेकाे थिए ।
अरुले पदयात्रा गरेर सामाजिक सञ्जालमा भिडियो र फोटो राखेकाे देखिरहेकाे भएपनि पदयात्राकाे मोह नबढेकाे मलाई यसपाला हिमालकाे फेदीमा हिउँकाे सामिप्यतामा र उचाईकाे अनुभव लिने रहरले तानिरह्यो । १७५० मिटरमा अवस्थित झिनुडाँडाबाट पदयात्रा सुरु गर्दा नै चिसो मौसम र बाटोबाटै नजिकै देखिने माछापुच्छ्रे र अन्नपूर्ण हिमाललाई आँखैमा राखेर एक घण्टा ३० मिनेट नाकै ठोकिने जस्तै उकालो उक्लिएपछि ठुलै युद्ध जिते जस्तै भएकाे थियाे । बाटोमा फर्कदै गरेका पदयात्रीले यात्राकाे दश प्रतिशत उकालो सकियो भन्दा भने भर्खरै उक्लिएकाे उकालो सम्झिएर जिरिङ भइयो । पदयात्रा मार्गमा पर्ने छोमरोडमा विहानकाे खाना खादै गर्दा १२ः३० बजेकाे थियाे । खाना खाएपछि शरिरले आराम खोज्ने संकेत गरेकाे थियो । पहिलाे दिनकाे निन्द्राले समेत आराम खोजेकाे हुनुपर्छ ।
छोमरोङबाट सिधै उरालाे ओर्लिएर पुनः उकालो सुरु गरी अपर सिनुवा पुगिने रहेकाे । देख्दा वल्लो पल्लो डाँडा नजिकै लागे पनि लोवर सिनुवा हुँदै अपर सिनुवा पुग्न ३ घण्टा लाग्यो । केही समय पहिला सिनुवा पुगिन्थ्यो हाेला उकालाे उक्लदै गर्दाकाे घामकाे कारण हिडाइकाे रफ्तार बढाउन सकिएन र ३ घण्टा लाग्यो । सिनुवापछि आउने अर्काे वेश क्याम्प बम्बो । एक घण्टा ३० मिनेट लाग्ने बाटो जंगलै जंगल हिड्नु पर्ने रहेछ । त्यो पदमार्गमा यो मार्गले थप आनन्दित बनाएकाे थियाे । खाेलाकाे छङछङ आवाज चिसो बतास र ठाउँठाउँमा भेटिने झरनाले अझ माेहित बनाएकाेले बिहानदेखिकाे थकानलाई शितल बनाउँदै लगेकाे थियाे ।

अर्काे तर्फ एवीसी क्याम्पबाट फर्कने तथा जानेहरुकाे बाक्लै आवतजावत बाटो भरी देख्दा जंगलमा हिडेकाे अनुभव नै नहुने । हिड्दा हिड्दा शिथिल भएकाे बेला “शरीर थाके पनि जति हिँड्यो त्यति नजिक देखिने हिमालले शरीरमा थप ऊर्जा थप्ने रहेछ” हरेराम सर बाटोमा भन्दै हुनुहुन्थ्यो । प्रायः जंगलका पाखै भरी नियालोका बाेट मात्रै देखिने हुँदा उक्त स्थानकाे नाम समेत दार्जिलिङका पदयात्रीले बम्बाे राखिदिएकाे भन्ने सुनेकाे थिए त्यहाँ जानु अघि । डेड घण्टाकाे बाटोलाई २ घण्टा लगाएरै भएपनि पहिलाे दिनकाे यात्रालाई विश्राम दिन बम्बाे पुगियो बेलुकाकाे ५ः३० बजे ।
तिहारकाे समय भएपनि फर्किने यात्रीहरुकाे उपस्थितिले गर्दा बासकाे व्यवस्थापनमा समस्या हुनसक्ने भएकाेले पहिले नै बुक गरिएकाे हाेटलमा पुगेर आराम गर्न पाउँदा थकानलाई भुल्यौ, भाेली फेरी यात्रा गर्नु पर्ने समेत विर्सिएर । बेलुका यात्रामा देखिएका नियालोलाई टुसा खाने सिजन भदौसम्म हुने भन्दै थिए साथीहरुसँग । तर बेलुकाकाे खानामा नियालोकाे मुनाकाे तरकारी र त्यसैकाे अचार खाना खादाँ बल्ल बम्बाे नामले सार्थकता पाएकाे महशुस गरियो । थाकेर हुँदा ओछ्यानमा पल्टिने बित्तैकै निदाइयो ।
कात्तिक ५ गते बिहानै हिड्ने समयतालिका बनाइएकाे भएपनि हाेटलले प्याकेजमै उपलब्ध गराउने विहानकाे खाजाकाे पर्खाइले ७ बजेकाे थियाे । अघिल्लो दिनकाे हिडाइले थाकेका हामीलाई केही राहत चिसो मौसमले दिलाएकाे थियो । खाजा लिएर बिहान ७ः२० मा हिड्न तयार हुँदा अन्नपूर्ण बेश क्याम्पबाट फर्किएर त्यहाँबास बस्न आइपुगेका पर्यटकहरुकाे भरिया दाइले तपाईंहरु अन्नपूर्ण बेश क्याम्प मै पुग्न सक्नु हुन्छ भन्दै गर्दा हामी भने हिड्दै गएपछिकाे अवस्थाले गन्तव्य कुन बनाउने तय हाेला भन्दै अघि बढ्यौं । त्यसपछि आउने दोभान, माथिल्लो दोभान र हिमालयलाई पार गर्दै देउराली पुग्दा विहानकाे ११ः३० बजेकाे थियो । हिमालकाे यात्रामा उचाई बढ्दै जादाँ हिडाइकाे रफ्तार बढाउन समेत कठिन भइरहेकाे थियो ।
देउराली (३२०० मिटर) मा बिहानकाे खाना खाएर केही बेर आराम गरी १ बजे त्यहाँबाट फेरी उकालो तर केही सजिलो बाटोबाट अन्नपूर्णकाे फेदीकाे गन्तव्य समायौं । खानापछिकाे हिडाइ र उचाइ बढ्दै जादाँ हामीले १०-१५ पाइला अगाडी बढाउँदा नै स्वाँ स्वाँ हुने थकाइ महसुस हुन थालिसेकाे थियाे । तैपनि हामीले सुस्तरी सुस्तरी पाइला चालिरह्यौ । केही हिड्दै केही बेर थकाइ मार्दै उचाइमा हिड्दा खानेकुरा खादैं हामीले अन्नपूर्ण भन्दा एक स्टेप तलकाे क्याम्प पुग्दा दिउँसोकाे ३ः४५ बजेकाे थियो । त्यो माछापुच्छ्रे वेशक्याम्पबाट अन्नपूर्ण वेश पुग्न अझै १ः३० देखि २ घण्टा लाग्ने जानकारी पाएपछि भने उचाइकाे हिसाबले माछापुच्छ्रे क्याम्पमै बस्ने निधो गर्यौ । बरु भाेलीखेर विहान ४ बजे नै उठेर हिड्ने र सुर्य उदाउँदा एबीसी पुग्ने सल्लाह गर्यौ ।
प्याकेजमै बास तथा खानाकाे व्यवस्थापन गरेर आराम गर्यौ । जब सुर्य अस्ताउँदै गयो त्यहाँबाट माछापुच्छ्रे हिमाल सुन चैं चम्किए । त्यो दृश्य यती मनमोहक रह्यो की खिचिएका फोटो हेर्दा समेत आनन्द आउँछ । केही बेर सुर्य अस्ताउँदै गर्दा देखिने हिमालकाे दृश्यलाई क्यामेरामा कैद गर्दै गर्दा हाेटल संचालकले गंगापूर्ण, ग्यासियर पिक (जुन माछापुच्छ्रे वेश क्याम्पबाट मात्रै देखिन्छ) लगायतका हिमाल, ती हिमालकाे सेरोफेरोबाट जोडिने भूगोग समेतकाे जानकारी दिनु भयो । हामी पदयात्राकाे मजा लिनुकाे अलावा हिमाल र हिउँलाई नजिकैबाट स्पर्श गर्न हिडेका यात्री न थियौ । त्यसैमा रमाउँदै रह्यौ केही बेर । लसुनकाे ताताे ताताे सुप तयार भएपछि हामीले सोध्यौ लसुनकाे सुप चैं किन?? कम उचाइबाट धेरै उचाइमा आउँदा लेक लाग्दैन भनेर लसुनकाे सुप दिइएकाे रहेकाे ।

बेलुकाकाे खाना तयारी हुँदै गर्दा पोखरा हरिचोकमा सुमो पर्खदै गर्दा आउनु भएका ६ जनाकाे टोली आइपुग्नु भयो । उहाँहरु सुमाेमा हामी भन्दा अगाडी हुनुहुन्थ्यो तर झिनुडाँडाबाट यात्रा सुरु गर्दा हामीले पछि छोडेका थियौं । बेलुकाकाे खाना खाने बेला हाेटल संचालकले बिहान ४ बजे उठेर जाँदा सुर्य उदाउने बेला माथिल्लो क्याम्प पुगिने भएकाेले त्यै गर्न सुझाउनु भयो । बिहान ४ बजे नै जान अध्यारो हुने हुँदा ६ जनाकाे टोलीका ४ जनाले सँगै जाने प्रस्ताव गर्नु हुँदा २ जना छोडिएकाे थाहा पायौ । २ जना सदस्य हिड्न केही अगाडी भएकाेले अर्कै हाेटलमा पुगेर बस्नु भएकाे रहेछ । खाना पछि बिहानै उठेर एबीसीकाे अन्तिम क्याम्प सुर्य उदाँउदै गर्दा पुग्ने भन्दै आराम गर्यौ ।
माछापुच्छ्रे क्याम्पकाे उचाई ३७०० मिटर रहेकाेले हामी कम उचाइबाट गएकालाई केही असजिलो भएकाे थियो । साथमा चिसो त अत्यधिक थियो । स्याँस्या हुने केही गारो भएकाे जस्तो महसुस भएपनि केही समय पछि त्यो विस्तारै कम भयो र केही बेर निदायौं । कात्तिक ६ गते बिहान ३ बजेदेखिनै त्यहाँ बसेका यात्री अन्नपूर्ण जान हतारिए । हामी भने केही बेरकाे अलमल पछि ४ः१५ बजे अध्यारोलाई टर्चकाे सहायताले हटाउने प्रयास गर्दै उकालाे लाग्यौ । बिहानकाे ठिहिर्याउने चिसोमा हिड्दा जाडोले केही समय सताएकाे थियो । हिड्दै गएपछि त्यो क्रम हट्दै गयो । करिब १ घण्टा हिडेपछि उज्यालिदै गयो । बाटोमा सानो पाेखरी भेटियो त्यहाँ पुग्दा हिमाल टल्किएकाे प्रष्ट देखिदै थिए । माछापुच्छ्रेलाई पछाडी छोडेर हिडेकाे हामी सबैतिर हिमालले घेरिएकाे स्थानकाे पोखरीमा पुग्दा अन्नपूर्णलाई त्यही पोखरीमा छायाँ परेकाे देख्यौ । त्यो दृश्यले केही बेर हामीलाई अलमल्याइराख्यो ।
मिसिएका साथीहरु र हामीले त्यहाँ केही बेर बितायौं । त्यहाँबाट ३० मिनेट हिडेपछि अन्नपूर्ण वेश क्याम्प (४१३० मिटर) लाई भेटायौ । अन्नपूर्ण क्याम्पमा पुग्दा घाम लाग्दै थियो हिमालका चाँदी जस्तो हिउँमा सुन मिसिदै गएकाे थियो । यी यावत कुरा जीवनमा पहिलो पटक धेरै नजिकबाट अनुभूति गरियो । त्यसकाे आनन्द महसुस ज्यादा गरियो । भाइटिकाकाे दिनकाे साइत गर्यौ हिमाललाई आँखैमा राखेर । तिहार मनायौं पदयात्रामा । मन खुसी बनाउन यसरी पनि त चाडपर्व मनाउन सकिने रहेछ । बिहान सँगै गएका साथीहरुसँग समूहमा फोटो खिचेपछि हामीले विदाइका हात हल्लायौं, उहाँहरु केही बेर त्यही अलमलिने हुनु भएपछि ।
हामीले माछापुच्छ्रे क्याम्पलाई पछ्यायौं जहाँ हाम्राे ब्याग थियो साथै बिहानकाे खाजाले समेत पर्खिरहेकाे थियो । हिड्न सहज हुने र रमाइलो लाग्नेहरुकाे लागि पैदल मार्ग उत्तम हाे तर हिड्नलाई समस्या हुने तथा समय कम हुनेहरुले अन्तिम क्याम्पसम्म हेलिकप्टरबाट समेत यात्रा गरेकाे पायौं । त्यो सेवा नेपालका निजी सेवा प्रदायक विमान कम्पनीहरुले दिने रहेछन् ।
बिहानकाे खाजापछि हामीले भाइटिकाकाे दिन पोखरा पुग्न नसकिने कम्तिमा पनि अपर सिनुवा समयले साथ दिए लोवर सिनुवाकाे वसाइ हुने निश्चित गरी उचाइ ३७०० मिटरबाट उचाइ घटाउने यात्रा सुरु गर्यौ । त्यसो त अब हामीलाई फोटो लिनु थिएन, अलमिलनु पनि थिएन, अर्काे गन्तव्य पुग्न कति समउ लाग्छ सोध्नु थिएन । गएकै बाटो फर्कदा त्यही एउटा फाइदा हाे । कसैले उचाइकाे बाटो र समय सोधे बताइदिने न हाे । उकालो भन्दा उरालो झर्न अझै गारो हुन्छ । हामीले देउराली, हिमालय, अपर दोभान, दोभान, बम्बाे समेत गरी ५ वटा क्याम्पलाई पछि पार्दै अपर सिनुवा आइपुग्दा बेलुकाकाे ५ः३० बजेकाे थियो ।

आउँदा आकाशमा बादल लागेकाे थियो । गड्याङ गुड्युङ गर्दै पानी छिटाएकाे थियो । जंगलकाे बाटो भएर खासै अनुभव भएन । बम्बोबाट अपर सिनुवासम्म आउँदा पानीले चुट्छ की भन्दै हिड्दै थियौं । तर पानी परेन । चिसो स्थानमा थप चिसोकाे महसुस गर्नु परेन । तिहारकाे टिकाकाे दिन भएकाेले फर्कने तथा जादैं गरेका विदेशी, केही केही नेपाली बाहेक खास चहल पहल थिएन । सिनुवामा बासकाे व्यवस्था भएपछि हामीले आराम गर्यौ । ओरालो झर्दा खुट्टा खादिएका थिए तिनले रामरी आराम पाउने भयो भन्दै हामी गफियौं । परिवारसँग सम्पर्कमा रह्यौं । त्यो रात हामी अली रामरी निदायौं ।
हतार गरी नहिड्ने बेलुकाकाे सल्लाह बमोजिम कात्तिक ७ गते बिहान ६ बजे खाजा लियौं र झिनुवालाई विदाई गरी हिड्यौं । लोवर झिनुवा, लोवर छोमरोङ, छोमरोङ हुँदै पदयात्रा सुरु हुने स्थान झिनु डाँडा आइपुग्दा १२ बजेकाे थियो । यो विचमा छोमरोङबाट केही तल अन्नपूर्ण संरक्षण क्षेत्रकाे अफिसमा ४ गते जाँदा इन्ट्री गरेकाे स्थानमा आउट गरायौं । साथी सविनलाई अघिल्लो दिननै केही गारो भएकाे थियो हिडाइमा । आजपनि उहाँले पछ्याइरहनु भयो । म विस्तारै विस्तारै आउँछु तपाईहरु हिड्दै गर्नुहाेस भन्दै हुनु हुन्थ्यो । हामीले केही पर भएपनि पर्खिदै हिड्दै गरेका थियो । ओरालोमा (छोमरोङबाट झिनु) गारो हुने भएकाेले हामी दुई केही अघि भयौं । केहीबेर आराम गर्दा सविन सर आइपुग्नु भयो । त्यही दिन पदयात्राकाे लागि १२ बजे झिनु आइपुग्नु भएका चितवनका साथी संकल्प पोखरेल भाउजु र बाबु (सपरिवार) भेट भयो । एक छिन भलाकुसारी पछि सेल्फी लियौं र केही जानकारी दिएर विदाई गरियो ।
कात्तिक ७ गते बिहानकाे खाना त्यही खायौं । साथीहरु अब रात्री बस चडे घर रातीकाे ११ बजेसम्म पुगिने भन्दै हुनुहुन्थ्यो । हिडाइले खादिएकाे गोडा र थाकेकाे शरीरलाई एक रात पोखरामा विसाउने र भाेलिपल्ट हेटौंडा जाने सल्लाह गरे पछि पोखरा आउने सुमोबाट पाेखराकाे लेकसाइट आइपुग्दा दिउँसोकाे ३ः३० बजेकाे थियो । हाेटल खोजेर फ्रेस भएपछि फेवालातकाे किनारामा हुने आरतीमा आनन्दित भयौं करिब १ घण्टा । लेक सांइड घुम्यौ । पोखरमा तिहार सकिएकाे रहेनछ । द्यौसे हेर्यो केही बेर । हाेटल फर्कदा रातीकाे १०ः३० बजे सकेछ । कात्तिक ८ गते बिहानकाे बसमा हामीले हेटौंडकाे बाटो समायौं फेरी अर्काे पटक अर्काे स्थानकाे पदयात्रा गर्ने आशा सहित । हिडाइकाे रन्काे छुटे पछि फेरी हिड्न मन लाग्न सक्नेछ ।
पदयात्रा सम्बन्धी थप…
पहाड चढ्नु मात्रै होइन, यात्राका क्रममा देखिने जनजीवनले थुप्रै जीवन उपयोगी कुरा सिक्न र देख्न पाइँदो रहेछ। आफ्नो देशको भूगोल, कला संस्कृति र सभ्यता बुझ्न तथा स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुर्याउन समेत पनि पदयात्रा गर्न जरुरी देखिन्छ । धेरै पदयात्रा मार्गहरू दुर्गम गाउँहरू र जातीय समुदायहरू हुँदै जान्छन्, जसले गर्दा स्थानीय मानिसहरूसँग सांस्कृतिक आदानप्रदान र अन्तरक्रियाको अवसर प्रदान गर्दछ। पदयात्रीहरूले आदिवासी संस्कृति, परम्परा, भाषा र जीवनशैलीको बारेमा सिक्न सक्छन्।
शरीर चुस्त राख्न र मस्तिष्कलाई ताजा बनाउन पदयात्रा उपयुक्त हुन सक्छ । पछिल्ल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्नुमा घुम्ने संस्कृतिको विकास भएकाेले पनि हाे । आन्तरिक पर्यटक वृद्धि हुँदा प्रादेशिक अर्थतन्त्रमा टेवा पुग्ने तर राष्ट्रिय अर्थतन्त्र उकास्न चाहिँ विदेशी पर्यटक नै मूलस्रोत हाे । पदयात्रा मार्गहरूले प्रायः हिउँले ढाकिएका पहाडहरू, हरिया वनहरू, अल्पाइन घाँसे मैदानहरू, झरनाहरू र वन्यजन्तुहरू सहित प्राकृतिक परिदृश्यहरूको मनमोहक दृश्यहरू प्रदान गर्ने भएकाेले यात्रा आफैंमा गन्तव्यमा पुग्नु जत्तिकै अनुभवको एक हिस्सा बन्ने रहेछ ।
पदयात्रा भनेको बाहिरी साहसिक गतिविधिको एक रूप हो । प्राकृतिक परिदृश्यहरूमा पैदल यात्रा सामान्यतया लामो दूरी र फरक-फरक भू-भागमा गरिन्छ। यो प्रायः पदयात्रा, ब्याकप्याकिङ र क्याम्पिङसँग सम्बन्धित छ, र यो विश्वभरका पहाडी क्षेत्रहरू, राष्ट्रिय निकुञ्जहरू र जंगली क्षेत्रहरूमा लोकप्रिय गतिविधि हो। पदयात्रा राम्ररी चिन्ह लगाइएका पदमार्गहरूमा अपेक्षाकृत सजिलो पैदल यात्रादेखि लिएर प्राविधिक आरोहण सीप र उपकरणहरू आवश्यक पर्ने चुनौतीपूर्ण अभियानहरूसम्म हुन सक्छ।

तपाईं पनि पदयात्राका लागि कुनै गन्तव्य रोज्दै हुनुहुन्छ भने त्यसका लागि गर्नुपर्ने बन्दोबस्ती र तयारीबारे केही जानकारी यहाँ प्रस्तुत गरेकाे छु (आफूलेकाे गरेकाे पदयात्राकाे अनुभव समेतकाे आधारमा)
- तपाईं कुन गन्तव्यमा जाँदै हुनुहुन्छ भन्ने कुराले खर्चको निर्धारण गर्छ। सामान्यतया दिनको तीनदेखि चार हजारसम्म जोहो गर्नुहोस्। सगरमाथा क्षेत्र जाँदै हुनुहुन्छ अझ बढी पैसा लाग्छ। छोटो, मध्यम या लामो दूरीमध्ये जुन रोज्नुहुन्छ त्यसअनुसार खर्च तलमाथि हुनुसक्छ। पर्यटकीय क्षेत्रको सेवासुविधा यसै पनि महङ्गो हुन्छ। अहिले प्रायः पदमार्गमा इन्टरनेट र अनलाइन सुविधा पुगेको छ। अनलाइन भुक्तानी सेवा पनि छ। विकट गाउँबस्ती र भूगोलतिर त्यो सेवा नहुन पनि सक्छ। नगद पैसा पनि बोकेर जाँदा सजिलो हुन्छ ।
- आफू घुमफिरमा जान लागेको गन्तव्य र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी लिनुहोस्। सूचना बटुल्नुहोस्। त्यस क्षेत्रमा रहेका होटल, रेष्टुराँ र चिया घरबारे बुझ्नुहोस्। गुगल या अन्य नक्साको सहायता लिएर पनि गन्तव्यस्थलबारे धेरै कुरा थाहा पाउन सकिन्छ। कति लामो र उचाइसम्मको पदयात्रा हो त्योबारे पहिल्यै थाहा पाएर आफूलाई शारीरिक र मानसिक रूपमा तयार राख्नुपर्छ। नयाँ ठाउँबारे जान्ने जिज्ञासा र उत्साहसहित पदयात्रामा निस्कनुपर्छ।
- ऋतु याम, मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनुपर्छ। सामानको जोहो गर्दा हतार गर्नुहुँदैन। झोलामा राख्नुपर्ने महत्वपूर्ण सामान छुट्न सक्छ। ट्रेकिङ झोला, जुत्ता, लठ्ठीलगायत सामग्री पदयात्राका लागि नभई हुँदैन। हलुका र धेरै सामान अट्ने झोला रोज्नुहाेस। बजारमा ट्रेकिङका लागि चाहिने सामग्री सजिलै पाइन्छ। ती सामग्री किन्न समेत केही हजार खर्च हुनेछ ।
- जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ। नेपाली ब्राण्डका ट्रेकिङ जुत्ता पनि अहिले बढी प्रयोगमा आइरहेको छ। ट्रेकिङ ज्याकेट, टिसर्ट, ट्र्याक, ट्राउजर, टोपी, मोजा र पञ्जा आवश्यक पर्छ। गर्मीयाम छ भने सोही अनुसारको लुगा चाहिन्छ। जाडोयाम छ र हिमाली क्षेत्रमा जाँदै हुनुहुन्छ भने फेदर डाउन ज्याकेट लगायत न्यानो लुगा बोक्नुहोस्। पदयात्रामा जाँदा आँखाको सुरक्षाका लागि चश्मा अनिवार्य चाहिन्छ। गर्मीयाममा घामबाट जोगिने चस्मा प्रयोग गर्नुपर्छ। टोपी र ह्याट पनि त्यहीअनुसार चाहिन्छ। छालालाई घामबाट जोगाउने क्रिम, लोसन पनि प्रयोग गर्न सकिन्छ।
- पदयात्रामा निस्कँदा प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्छ। आफूले कुनै नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नुहोस्। उचाइमा जाँदा लेक लाग्ने समस्या हुनसक्छ। कसैलाई तीन हजार मिटरदेखि माथि जाँदा ‘अल्टिच्युड सिकनेस’ को लक्षण देखिन थाल्छ। त्यसकार एकैदिन धेरै हिँड्नु हुँदैन। विश्राम लिँदै पदयात्रा गर्नुपर्छ। तीन हजार मिटरदेखि माथिको यात्रा छ भने दिनमा पाँच सय मिटर मात्र उकालो चढ्नु उपयुक्त मानिन्छ। यात्रामा कहिलेकाहीँ आपतकालीन अवस्था आइपर्न सक्छ। त्यसैले पर्यटक सूचना केन्द्र, प्रहरी, होटललगायत स्थानीयबासीको सम्पर्क नम्बर लिनुपर्छ। पदयात्रामा जाँदा पानीलगायत हलुका खानेकुराको प्रबन्ध गर्नुपर्छ। बिस्कुट, चक्लेट, काजु, बदाम आदि साथमा राख्दा राम्रो हुन्छ।
- नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रामा निस्कनुहुँदैन। नजिक र मानिसको आउजाउ बाक्लो हुने ठाउँ छ भने छोटो दूरीको पदयात्रा एक्लै पनि गर्न सकिन्छ। पदयात्रामा जाँदा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ। समूहमा पदयात्रा गर्दा झनै सजिलो। सुरक्षादेखि अन्य व्यवस्थापकीय तयारीका लागि पनि समूहमा जाँदा उपयुक्त हुन्छ। पछिल्लो समय पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने नीति पनि सरकारले ल्याएको छ। एक्लै हिँड्दा सुरक्षा जोखिम हुन्छ । दुर्घटना भइहालेमा उद्धार जटिल बन्छ। हिमाली भेग छ भने विशेष ख्याल गर्नुपर्छ। हाम्रो हिमालय क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन्।



अन्नपूर्ण हिमालकाे आधार शिविर (दक्षिण ४१३० मिटर) एउटा अवस्मरणीय पदयात्रा गर्न सकिने स्थान हाे । सिजनकाे समयमा दैनिक ४०० देखि ५०० जना आधार शिविर पुग्ने गरेका छन् । कास्कीकाे अन्नपूर्ण गाउँपालिकाकाे वडा नम्बर ११ घान्द्रुककाे अधिकांस भाग यो क्षेत्रमा परेकाे छ । झिंनुडाडा (१७५० मिटर) बाट सुरु हुने पदयात्रामा छोमरोङ, तल्लो सिनुवा, माथिल्लो सिनुवा, बम्बाे (bamboo), दोभान, माथिल्लो दोभान, हिमालय, देउराली (३२०० मिटर), माछापुच्छ्रे बेश क्याम्प (३७०० मिटर) हुँदै अन्नपूर्ण बेश क्याम्प (४१३० मिटर ) पुग्न सकिन्छ । पदयात्राकाे सुरुदेखि नै माछापुच्छ्रे हिमाल (६९०० मिटर) र अन्नपूर्ण हिमाल (८०९१ मिटर) लाई अबलोकन गर्दै जान सकिन्छ भने यात्रामा हिमालबाट बगेकाे खोला, झरना,जङ्गलको प्राकृतिक आनन्द भरपुर लिदै गर्न सकिने छ ।
पचहत्तर वर्षअघि जुन ३ अर्थात जेठ २० गते फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । हर्जोग सँगै लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरे सँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो ।
अन्नपूर्ण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।
फोटो फिचरः

चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेलिने गरिन्छ लिङ्गे पिङ । लिङ्गे पिङ नेपालीहरूले दशैंमा बनाउने र खेल्ने गर्छन्। नेपालका गाउँघरमा वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन अझै छ।
पछिल्लो समयमा हराउँदै गएकाे पिङ्ग संस्कृतिलाई परम्पराकाे जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरूको समूहहरु बनाएर पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् । सशस्त्र प्रहरी वलले समेत दशैंकाे समयमा पिङ राख्न सहयोग गर्दै आएकाे छ । तस्विरः सहिखबर
कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हाे…..।
महाकवि लक्ष्मी प्रसाद देवकोटाले ‘यात्री’ कविताका माथिका हरफ सबैकाे मनमा बसेकाे हुनु पर्छ । देवकाेटाले त्यही कविता लेखेकाे चित्लाङकाे गुर्जुधारा ।
भनिन्छ देवकाेटा उक्त धारा नजिकै धर्मशालामा बास बस्ने गरेका थिए । पशुपति दर्शनका लागि भारतदेखि आएका तीर्थयात्रु पहाडी बाटोमा हिँड्न नसकेर भरियामार्फत बोकिएर हिँडेको, उनीहरुसँग अशक्त, अपाङ्ग तथा माग्नेले भिखको लागि हारगुहार गरेको तर उनीहरुले बेवास्ता गरेको देवकाेटाले देखे।
हेर्दा निकै नै धनाढ्य देखिने ती यात्रीहरुले धर्मशाला वरिपरि बसेका भिखारीकाे याचनालाई बेवास्ता गरेकोप्रति भावुक भएर देवकाेटाले ‘यात्री’ कविता लेखेको चित्लाङका अग्रजबाट सुन्ने गरेकाे बताउँछन् पूर्व शिक्षक तथा होमस्टे व्यवसायी बुद्धरत्न मानन्धर ।