मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा सम्पन्न अन्तरपालिका फुटसल प्रतियोगितामा विजयी भएका हेटौंडा उपमहानगरपालिकाका खेलाडीलाई सम्मान गरीएको छ ।
हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै खेलमा सहभागी खेलाडीले जिल्लामा रहेका अन्य पालिकाहरुलाई पछाडि पार्दै उपाधि उचालेपछि उपमहानगरले सम्मान गरेको हो ।
बुधबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले बिजेता बनेका खेलाडीलाई खादा लगाउँदै सम्मान गरेका हुन् । मकवानपुरगढी खेलकुद विकास समितिको आयोजना भएको सहिद रुद्र पाख्रिन, बासुदेव घिमिरे स्मृति दोश्रो अन्तरपालिका फुटसल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै उपमहानगरले उपाधिमाथि कव्जा जमाएको थियो । आयोजक टिम खेलकुद विकास समितिलाई ७ –४ गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि उचालेको थियो । उपाधी सँगै हेटौंडाले १ लाख २५ हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गरेको थियो ।
उपमहानगरले गरेको खेलाडी सम्मानमा नगर प्रमुख लामाले खेल र खेलाडीको लागि लगानी गर्न तयार रहेको बताइन् । उनले नगरको नामलाई अघि ल्याउने खेलाडी गहना भएको भन्दै आगामि दिनमा पनि उपमहानगरको प्रतिनिधित्व गर्दै खेलहरुमा सहभागि हुन आग्रह गरीन । नगरको खेलकुदको विकासका लागि बजेट छुट्याएर प्रतियोगिता सहित खेल मैदान र खेलाडि उत्पादनमा लगानी गरीरहेको बताइन् ।
सम्मान कार्यक्रममा उपप्रमुख बानियाँले खेल र खेलाडीको बिकासका लागि उपमहानगर सधै तयार रहने बताए । उनले भौतिक बिकासका लागि नेतृत्वले काम गरेपनि नगरको नामलाई चर्चामा ल्याउनका लागि खेलाडीको भूमिका महत्वपुर्ण हुने बताए । मकवानपुरगढीमा बिजेता बनेको टोली पोखरामा हुने राष्ट्रिय स्तरको फुटसल प्रतियोगितामा उपमहानगरको तर्फबाट सहभागि बन्ने भएको छ ।
मकवानपुर । जनसरोकारका सवालमा प्रदेश सरकारको उपस्थिति कमजोर भएको भन्दै नेकपा एमाले खबरदारी गरेको छ ।
बागमती प्रदेशको नेकपा (एमाले) संसदीय दलको बैठकमा यस्तो खबरदारी गरिएको हो ।
सरकारले अनावश्यक हल्ला फिजाउँदा एमाले अब सशक्त भएर लाग्ने दलले निर्णय गरेको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा हेटौंडामा बसेको बैठकमा अधिकांश सदस्यले सरकार प्रति प्रतिपक्षको व्यबहार आवश्यकभन्दा नरम र लचिलो भएकोले सरकारले पेलेर अघिबढ्ने नीति लिएको बताए । एमालेका प्राय प्रदेश सभा सदस्यहरुले प्रतिपक्ष सरकार जस्तो लचिलो र सरकार चाहिँ प्रतिपक्ष जस्तो कडा भएको भन्दै टिप्पणी गरेका थियो ।
बैठकमा बोल्दै प्रदेश सभा सदस्य तथा नेकपा(एमाले ) मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जनताको आवश्यकता परिपूर्ति गर्ने र समानुपातिक तथा समतामूलक विकासका लागि एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा बताए ।
नेकपा ( एमाले) का केन्द्रीय सदस्य समेत रहनुभएका प्रदेश सभा सदस्य भारती पाठकले सरकारका केही मन्त्रीले विकास बजेट दिनुलाई आफ्नो ढुकुटीबाट दान दिएको रूपमा व्यबहार गर्न थालेको टिप्पणी गरिन । उनले सरकारको दम्भ र स्वेच्छाचारीतामा मलजल पुग्ने काम नगर्न नेतृत्वलाई खबरदारी गरिन ।
सरकारले आफूहरूको मागको गलत ब्याख्या गर्दै सर्वसाधारण अनावश्यक हल्ला फिजाएकोमा संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले आक्रोश व्यक्त गरे ।
“संसदीय समितिको पदाधिकारी टुङ्ग्याइनु पर्ने एमालेको मागलाई सरकारको एक मन्त्रीले एमालेले सबै समितिको सभापति माग्यो भनेर हल्ला गर्दै हिडेको समेत पाइएको छ,पार्टीले आफ्नो धारण स्पष्ट रुपमा बाहिर ल्याउनु पर्छ,हामीले यस्तो माग राखेकै हैनौ” पौडेलले भने “हामीले समानुपातिक र समावेशी विकास हुनुपर्ने र त्यसका लागि बजेट पुस्तकमा नपारिएका तर आमनागरिकका सवालमा गर्नै पर्ने योजनाको विवरण पेश गर्यौ, सरकारले त्यो कार्यान्वयन गर्ने लिखित सम्झौता पनि गर्यो , तर त्यो कार्यान्वयन गर्नुको साटो एमालेले पैसाको कुरा नमिलेर संसद चल्न दिएन भन्ने जस्ता हल्ला चलाएको छ ।”
संसदीय दलका नेता थपलियाले हाल सरकार प्रतिपक्षीको माग प्रति केही लचिलो देखिए पनि स्वेच्छाचारी गतिविधि गर्न नछाडेकाले विश्वास गर्न नसकिने बताए। एमाले जनताको पार्टी भएकोले जनताका पक्षमा डटेर लागिरहनु पर्ने बताए। आफ्ना दलका प्रदेश सभा सदस्यलाई प्रदेश सभाको आगामी बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिदै नेता थपलियाले परिस्थिति अनुसार चल्न तयार रहन आग्रह गरे।
देवघाट चितवन । धार्मिक क्षेत्र देवघाटधाममा माघेसंक्रान्ति स्नान गर्नेको माघ १ गते सोमवार बिहान सवेरैदेखि घुइँचो लागेकाे छ । याे क्रम सोमबार दिनभर रहने छ ।
पुष २९ गते आइतबार बिहान त्रिशुली र कालीगण्डकीकाे संगमस्थल बेणीमा ओमकार अङ्कित बासँको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरी उद्घाटन गरिएसँगै देवघाटमा स्नानका लागि खुला हुने गरेकाे छ । तर भक्तजनको घुइँचो सोमवार बिहानैबाट देखिएकाे हो । देवघाटमा स्नान गर्न लाखौँ स्वदेशी तथा विदेशी भक्तजन अहिले देवघाटमा छन् ।
भक्तजनको आवतजावतकाे ब्यवस्थापनकालागि देवघाटको झोलुङ्गे पुल ओहोर दोहोर पङ्क्तिबद्ध रूपमा गराउन प्रहरी र स्वयंसेवकले सतर्कता अपनाएका छन् । यस्तै नदी वारपार गर्न सःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।

यसै गरी सवारी साधनकालागि आँपटारी देवघाटको मूल सडकबाट देवघाटबाट बाहिरिने र रामनगर देवघाटको बाटो भित्रने व्यवस्था छ । दासढुङ्गावाट सिधै जाने हकमा सवारी साधन देवघाटको महेश सन्यास आश्रम सम्म आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको छ ।
रातमा आउने भक्तजनकालागि धुनीको व्यवस्था मिलाइएकोमा सोमबार बिहानसम्म पनि धुनीकाे व्यवस्था गरिएकाे थियाे । शान्ति सुरक्षा र यातायात ब्यवस्थाकालागि चितवन, तनहुँ र नवलपरासीबाट प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
माघेसंक्रान्तिसँग देवघाटको धार्मिक एवं सांस्कृतिक महत्वको सम्वन्ध जोडिएको छ । दामोदर कुण्ड स्रोत भएर बहँदै आएको त्रिशूली र मुक्तिनाथ हुँदै आएकी कालिगण्डकी नदीको सङ्गम देवघाटको बेणी धार्मिक स्थलकाे रूपमा पनि महत्त्वपूर्ण रहेकाे छ । यहाँ माघेसंक्रान्तिमा स्नान गरे मोक्ष पाइन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ ।
धार्मिक मान्यता अनुसार माघेसंक्रान्तिका रात देवताहरू देवघाट स्नान गर्न आउने जनविश्वासले नै यो दिन स्नान गर्न आउनेको सख्या उल्लेखनीय हुने गरेको हो । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदादान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ।
आइतबार राति भक्तजन देवघाटमा जाग्राम बस्ने प्रचलन छ। धर्मशास्त्रअनुसार सौरमासका हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो। आजदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।
देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन्। विगतका वर्षमा भन्दा यस वर्ष भक्तजनको संख्या बढी हुने अपेक्षा गरिएको भए पनि पहिलेकाे तुलनामा २५ प्रतिशत कम रहेकाे देवघाट तनहुँका स्थानीय शिवराज पौडेल भनाइ रहेकाे छ। पहिलाे राती बस्ने धेरै हुने गरेकाे तर यातायातकाे सहज पहुँचका कारण विहानै आएर स्थान र दर्शन पश्चात फर्कने भक्तजनहरु बढी भएकाेले पहिलेकाे वर्षहरु भन्दा कम नहुने गुरुकुल शिक्षक रत्न कडेंलले बताए ।





मकवानपुर । हत्या गरी फरार रहेकाे आराेप लागेका २ जनालाई मकवानपुर प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय राम चन्द्र स्याङ्तन र ५० वर्षीय कालु गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार आइतबार दुबै जनालाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल जेठ १९ गते थाहा–१२ स्थित गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेको ठहर अदालतले गरेकाे छ ।
उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ साल असोज ८ गते २० वर्षको कैद सजाय तोकेको थियो । जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भएर फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले आइतबार घरबाटै पक्राउ गरेको भण्डारीले जानकारी दिए ।
पक्राउ परेको दुबैजनालाई जिल्ला अदालत मकवानपुरमा आइतबार नै उपस्थित गराएको प्रहरीले जनाएको छ ।