मकवानपुर / स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले लैङ्गिकताको आधारमा हुने हिंसा उन्मुलनको लागि सूचना प्रणाली व्यवस्थापन, गोपनियता व्यवस्थापन जस्ता सवालमा नेपाल सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।
पीडितको सुरक्षा र संरक्षणमा सरकारी दायित्व अपुग भएको आभास भएमा खबरदारी गर्न सरोकारवालालाई मन्त्री खतिवडाले आग्रह गरे । क्षेत्रीय स्तरको सम्बन्धित सरोकारवाला कार्यशाला महिला किशोरीहरू विरुद्ध हुने हिंसा अन्त्य गर्न प्रेषण प्रणाली तथा मार्ग सुदृढीकरण सम्बन्धि कार्यशालामा खतिवडाले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले घरैभित्रबाट अभिभावकले गर्ने विभेदित व्यवहारले महिला उत्पीडनमा पर्ने गरेको बताए । गरिब र कमजोर वर्गमा बढी हिंसा हुनेगरेको उनले बताए ।
यसैगरी प्रदेश सभा सदस्य मुनु सिग्देलले सामाजिक संस्कारको कारण किशोरीको स्वास्थ तथा मानसिक रूपमा असर पुग्ने गरेको बताइन् । मर्यादित महिनावारीको चलन नभएकोले समस्या भएको सिग्देलले बताइन् । धार्मिक रूपमा कतै पनि महिनावारीमा छुवाछूत बार्ने बारे उल्लेख नभएको तर सामाजिक संस्कारले किशोरील तथा महिलालाई समस्यामा पार्ने गरेको उनले बताइन् । महिनावारी बार्ने, यो बेलामा छुवाछूत गर्ने गर्नाले पनि हिंसा भएको उनले बताइन् । हिंसामा परेको व्यक्तिलाई हिंसाबाट उन्मुक्ति गराउनु तिनै तहको जिम्मेवारी सिग्देलले बताइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनीले हिंसा प्रभावित तथा पीडितलाई उद्वार तथा राहतका लागि एकद्वार संकट व्यवस्थापन प्रणाली धेरै प्रभावकारी भएको बताइन् । सबै स्थानीय तहमा यस्तो व्यवस्था हुनुपर्ने उनले बताइन् । पीडितहरू बिच पुनर्मिलनको कार्यक्रम पनि संगसंगै अगाडि बढाउन स्थानीय न्यायीक समितिले गर्नुपर्ने पुडासैनीले बताइन् ।
कार्यक्रममा हेउमपना सामाजिक विकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले लैङ्गिक समुदायमा आधारित घटना व्यवस्थापन तथा प्रेषण प्रमाणी बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा माडी नगरपालिका चितवन,
पर्सा जिल्ला पटेवा सुनौली गाउंपालिकालगायतका सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मकवानपुर, चितवन, पर्सालगायत ५ जिल्लाका सरोकारवालाहरूको उपस्थिति रहेको नगर स्तरीय महिला जागरण समूहको अध्यक्ष तारा ढुङ्गानाले बताइन् । हेटौंडा उपमहानगरपालिकाको समन्वय, एक्सन एड नेपालको आर्थिक सहयोग तथा नगर स्तरीय महिला जागरण समूहको आयोजना कार्यक्रम भएको नगर स्तरीय महिला जागरण सचिब निशा लामाले बताइन् । कार्यक्रममा मकवानपुर महिला समूह अध्यक्ष कमला सुबेदीले स्वागत गरेकी थिइन् ।
मकवानपुर । मकवानपुरका साहित्यकार देवराज खरेलको निबन्ध संग्रह ‘जिन्दगीदेखि जिन्दगीसम्म’ शनिबार लोकार्पण गरिएको छ । गजल मञ्च मकवानपुर र हाम्रो मातृभूमि साहित्यिक त्रैमासिकको संयुक्त आयोजनामा कृति लोकार्पण कार्यक्रम भएको हो ।
मातृभूमि साहित्यिक त्रैमासिक संरक्षक मुक्तिगोविन्द वैद्यको सभाध्यक्षता तथा बागमती प्रदेश लोकसेवा आयोग अध्यक्ष सुरेशमान श्रेष्ठको प्रमुख आतिथ्यमा खरेलको कृति विमोचन गरिएको हो ।
खरेलले आफ्नो जीवनको भोगाई र हेटौंडाको परिवेशमा लेखेका २१ वटा निबन्ध समेटिएको छ । जिन्दगीदेखि जिन्दगीसम्म खरेलको चौथो कृति हो । यस अघी खरेलको एउटा कविता संग्रह र एउटा मुक्तक संग्रह र एउटा निबन्ध संग्रह प्रकाशित छ ।
पुस्तकका बारेमा समीक्षक घनश्याम घिमिरेले बोलेका थिए । कृति विमोचन कार्यक्रममा साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष आरसी रिजाल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, मकवानपुरका अग्रज साहित्यकार ह्यग्रीव आचार्य, रामचन्द्र फुर्सती लगायतकाकाे उपस्थिति रहेको थियो ।

मकवानपुर । मकवानपुर ग्याँस व्यवसायी संघको नवौं वार्षिक सभा शनिबार पुष ३ गते हेटौंडामा भएको छ । संघका अध्यक्ष दिलिश गोविन्द जोशीको सभाध्यक्षता तथा नेपाल ग्याँस व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख अतिथ्यतामा वार्षिक सभा भएको हो ।
सभामा मकवानपुर उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी र सदस्यलाई स्वागत तथा सम्मान गरिएको थियो । यसै गरी लामो समय हेटौंडामा ग्याँस व्यवसायी गर्दै आउनुभएका अग्रज व्यवसायी पिताम्बर ढकाललाई समेत सम्मान गरिएको थियो ।
साधारणसभामा ग्यास विक्रेता संघ मकवानपुरका सचिव केशव मुडभरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कृष्ण ढुंगानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले आगामी दिनमा संघले प्रमाणीकरण गरेपछि मात्रै ग्यासको अधिकृत विक्रेता हुने व्यवस्था गर्ने प्रस्ताव गरेको अध्यक्ष जाेशीले बताए । संघमा मकवानपुर जिल्लामा ग्यास विक्री गर्ने ६३ वटा अधिकृत विक्रेताहरु आवद्ध छन् ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, नेपाल ग्याँस व्यवसायी महासंघका बागमती प्रदेश अध्यक्ष राधिका महर्जन, उद्योग वाणिज्यका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, ग्याँस व्यावसायीका संस्थापक अध्यक्ष धनप्रसाद पौडेल, साहारा ग्याँस उद्योगका प्रमुख खड्क थापा, बाबा ग्याँस उद्योगका प्रमुख विमल कालाखेती, मकवानपुर होटल एशोसियसनका अध्यक्ष शंकरलाल श्रेष्ठ, मकवानपुर मदिरा व्यवसायी संघका अध्यक्ष सर्वेन्द्र पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगितामा एबीसी भेट्रान्स पोखराले नागस्वती भेट्रान्स हेटौंडालाई हराउँदै जीत हात पारेकाे छ । नागस्वती हेटौंडालाई २-१ गोल अन्तरले हराउँदै एबीसी पोखरा विजेता भएको हो ।
खेलको निर्धारित समयको सातौं मिनेटमा एविसीको तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए । खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल फर्काएर बराबरीमा पुर्याएका थिए । खेलको दोस्रो हाफको २७ औं मिनेटमा एविसीको तर्फबाट नरेन्द्रजंग गुरुङले १ गोल थपेपछि एविसी भेट्रान्सले उपाधि जित्न सफल भएको हो । खेलको म्यान अफ द म्याच एबीसीका नरेन्द्रजंग गुरुङ हुनुभएको थियो ।
विजेता एबीसीले ट्रफि सँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गरेकाे छ । यस्तै उपविजेता नागस्वती भेट्रान्सले ट्रफि सँगै ५५ हजार ५ सय ५५ रुपैया, प्रमाणपत्र र मेडल प्राप्त गरेकाे छ।
प्रतियाेगिता अन्तरगत विभिन्न विधामा समेत खेलाडीलाई पुरस्कार प्रदान गरिएकाे छ । खेलको उत्कृष्ट गोल किपर एबीसीका सुर्य शर्मा, कोच एबीसीका सुरज गुरुङ, मिड फिल्डर एबीसीका महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी एबीसीका विश्वराज श्रेष्ठ भए भने उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित भएका छन् । उनीहरुलाई ट्रफि र जनही ५/५ हजार नगद सहित पुरस्कृत गरिएकाे छ ।
विजेता र उपविजेता लगायतलाई हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महत र हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्रचार्यले पुरस्कार प्रदान गरेका थिए । पिप्ले युवा क्लबले निर्माण गर्दै गरेकाे खेलमैदान क्याम्पा रंगशालाका अध्यक्ष सुशील घिमिरेलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, वडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलका कार्यक्रम संयोजक मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर / उद्यमशीलता तथा नेतृत्व विकासको लागि महिलाहरूलाई अग्रसर बन्न हेटौंडा उपमहानगरपालिका वडा ४ का अध्यक्ष नवीन सिग्देलले आग्रह गरेका छन्।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा वडा स्तरीय महिला जागरण समूहद्वारा आयोजित ३ दिने उद्यमशीलता तथा उद्घोषण सम्बन्धि तालीममा वडा अध्यक्ष सिग्देलले यस्तो बताएका हुन् ।
समूहले २ चरण गरेर ४५ जना महिलालाई उद्यमशीलता तथा उद्घोषण तालीम प्रदान गरेको थियो। स्थानीय २६ वटा टोल विकास संस्थाबाट, अखिल नेपाल महिला संघ, तथा स्थानीय इच्छुक महिलालाई तालीम प्रदान गरेको समूह अध्यक्ष राधिका चौलागाईंले बताइन् ।
तालिममा आशाकाजी श्रेष्ठले उद्घोषण सम्बन्धी र डाक्टर यम सिलवालले उद्यमशीलता सम्बन्धी प्रशिक्षण गराएका थिए । वडा स्तरीय महिला जागरण समूहको अध्यक्ष राधिका चौलागाईंको अध्यक्षतामा कार्यक्रम भएको थियो ।