मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङ्गस्थित चुलेहिल अस्पताल नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्गको हेटौंडाको थानाभर्याङ सडक खण्डमा सर्लाहीबाट काठमाडौ तर्फ जादै गरेको ना ७ ख १६७५ नम्बरको बसले पैदल यात्री हाल नामथर वतन नखुलेको अन्दाजी ३५/४० बर्षको पुरुषलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पैदल यात्रीलाई ठक्कर दिने बस प्रहरी चौकी बसामाडीको नियन्त्रणमा रहेको छ । प्रहरीका अनुसार बस चालक जिल्ला रौतहट चन्द्रनिगाहापुर नगरपालिका १ पौराही बस्ने ५८ वर्षीय कृष्णबहादुर थापा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको छ ।
मकवानपुर । अपाङ्गताकाे वर्गिकृत तथ्याङ्क नहुदा याेजनामा समस्या भएकाे पाइएकाे छ । राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता सम्बन्धी तथ्याङ्कीय प्रतिवेदन नतिजाले वर्गिकृत नसमेटेकाे कारण कस्ताे प्रकारकाे अपाङ्गता भएकाहरुलाई सम्बाेधन गर्ने गरी कस्ताे कार्यक्रम बनाउने भन्ने बारेमा नै समस्या भएकाे सराेकारवालाहरुले बताएका हुन् ।
राष्ट्रिय जनगणना २०७८ मा समेटिएका विषयहरुमा प्रदेश स्तरिय सरोकारवाला निकायसंग पैरवी तथा अन्तरक्रियामा यसबारे छलफल गरिएकाे छ ।
तथ्याङ्कमा अपाङ्गताबारे विविधिकरणमा ध्यान नदिएकाेले याेजना निर्माणमा त्यसले प्रत्यक्ष असर पारेकाे बताइएकाे थियाे । अपाङ्ता भएकाहरुकाे ठ्याक्कै र विस्तृत विवरण नआएकाेले राज्यले निर्माण गर्ने याेजना तयारी गर्ने कार्यक्रमहरु समेत प्रभाकारी हुन नसकेकाे सराेकारवालाहरुले बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाे आयाेजना भएका कार्यक्रममा बागमती प्रदेशकाे नीति तथा याेजना आयाेग, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयाेगलगायतका प्रतिनिधिहरुले आगामी कार्यक्रममा यस्ताे सवालमाथि संवेदनशिल हुने बताएका थिए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार संरक्षण, संवर्द्धन र प्रवर्धनका लागि वि.स. २०५० सालदेखि निरन्तर क्रियाशील राष्ट्रिय स्तरको छाता संस्था हो । यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापित गर्न समन्वय, सहकार्य, संज्ञ्जालिकरण, क्षमता विकास र सशक्तीकरणको सवाललाई अनवरत रूपमा उठान गर्न क्रियाशील रूपमा कार्य गरिरहेको छ।
यसै सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले युएनडिपिको सहयोग एवम् राष्ट्रिय तथ्याङ् कार्यालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्राविधिक सहयोगमा सञ्चालित ‘अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क र सर्वेक्षण परियोजना अन्तर्गत राष्ट्रिय जनगणना २०७८ अपाङ्गता सम्बन्धी तथ्याङ्कीय प्रतिवेदन नतिजाले समेटिएका विषयहरुमा प्रदेश स्तरिय सरोकारवाल निकायसंग पैरवी तथा अन्तरक्रिया कार्यक्रम गरिएकाे महासचिव सुगम भट्टराइले बताए ।
कार्यक्रमपछी सराेकारवालाहरुकाे प्रतिवद्धता सुन्नुहाेस्:
मकवानपुर । नीति तथा योजना बनाउँदा र भौतिक संरचना निर्माण गर्दा अपाङ्गताको सवाललाई विशेष ध्यान दिनु पर्ने सुझाव दिइएको छ ।
मकवानपुरको हेटौंडामा ३ दिनदेखि जारी अपाङ्गता मैत्री पर्यटन प्रबर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो सुझाव दिइएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ बामगती प्रदेशको आयोजना र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । प्रदेशको विभिन्न पर्यटकीय क्षेत्र अपाङ्गतामैत्री भए नभएको अनुगमन रिपोर्टको प्रस्तुती समेत रहेको कार्यक्रममा प्रदेश सरकारका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
पर्यटकीय क्षेत्रलाई सबै प्रकारका अपाङ्गमैत्री सहज पहुँच पु-याउन कसरी संभव छ ? अर्थात पहुँच नभएको अवस्थामा कसरी बहस पैरवी गर्न सकिन्छ ? भन्नेबारे समेत कार्यक्रममा छलफल गरिएको थियो । आगामी नीति तथा योजना निर्माण र भौतिक निर्माणको क्रममा अपाङ्गतामैत्री विषयलाई संवेदनशील रुपमा ग्रहण गर्ने कार्यक्रममा सहभागीहरुले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको समापनमा प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश लगायतका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती थियो ।
मकवानपुर । नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट चलचित्र पत्रकार एंव गीतकार गीता अधिकारी हेटौडामा सम्मानित भएकी छिन् । उक्त पुरस्कार नेपाल चलचित्र संघका अध्यक्ष एंव निर्माता नरेन्द्र महर्जनले बुबा नन्दबहादुर महर्जन नाममा स्थापना गरेका हुन् ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा बिहीबार अधिकारीलाई ११ हजार १ सय ११ रुपैयाँकाे उक्त पुरस्कार प्रदान गरेकाे हाे । मिलाप राष्ट्रिय मासिक पत्रिकामा आवद्ध अधिकारी दुई दशक भन्दा बढी समयदेखि चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले बिहीबार हेटौंडामा अधिकारी सहित अन्य चार जनालाई पुरस्कृत तथा सम्मान गरेकाे छ । संघले चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट बालकृष्ण अधिकारीलाई पुरस्कृत गरेको छ । संघको संस्थापक सह सचिव अधिकारी मकवानपुरमा रहेर कान्तिपुर टेलिभिजनमा आबद्ध छन् ।
त्यस्तै, सोही अवसरमा चलचित्र कलाकर्मी सम्मान २०८१ बाट कलाकार कोशिश क्षेत्रीलाई सम्मान गरिएको छ । कलाकार सुशान्तकुमार श्रेष्ठले बुबाको नामबाट स्थापित धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८१ बाट कलाकार ध्रुव न्यौपानेलाई सम्मानित भएका छन् । मकवानपुरमा जन्मिएर राष्ट्रमा आफ्नो कला, साहित्य, संगीत क्षेत्रमा सक्रिय कलाकर्मीहरुलाई उक्त विधामा सम्मान गरिएको हो ।
सोही अवसरमा चलचित्र पत्रकार संघ नेपालको हेटौंडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पत्रकारिता कार्यशाला कार्यक्रमलाई साथ सहयोग गरेका मकवानपुरका पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
संघका अध्यक्ष कपिल खड्काको सभाध्यक्षत तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी, हेटौंडा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, संघ महिला विभाग संयोजक दीपज्योति थापा, संघ उपाध्यक्ष श्रीराम अर्जुन लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, एनएस सिनेमाका सञ्चालक नवराज आचार्य, ओम्याक्स सिनेमा सञ्चालक राम राजभण्डारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको अतिथ्यता रहेको थियो ।
मकवानपुर । पूर्व अर्थमन्त्री युवराज खतिवडाले प्रदेशकाे विकासकोलागि एकरुपता ल्याउनुपर्ने बताएका छन् ।
बागमती प्रदेशकाे आर्थिक वर्ष २०८१/०८२ को बजेटका सन्दर्भमा पूर्व अर्थमन्त्री, प्रदेशका पूर्व आर्थिक मामीला तथा योजनामन्त्री एवम् प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष तथा सदस्यसँगकाे छलफलमा उनले यस्ताे बताएका हुन् ।
विकासका अयामहरु स्थापित गर्न स्थानीय तहमा औद्योगिक ग्रामहरू स्थापना गर्नुपर्ने खतिवडाले बताए । उनले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्नुपर्ने र लैङ्गिक असमानताको अन्त्य गर्ने गरी बजेटमा व्यवस्था गरिनु पर्ने उल्लेख गरे ।
खतिवडाले राजधानीका जिल्लामा सामान्य र अन्य जिल्लामा कुपोषणको समस्या रहेको बताउँदै कमीकमजोरी रहेका क्षेत्रकोे सुधार गर्नुपर्ने र जलविद्युत् क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । युवा, नवप्रवर्तन र कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र बायोग्यास तथा गोबरग्यास उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव थियाे ।
यसैगरी प्राङ्गारिक खेतीमा जोड दिनुपर्ने र कृषि आयोजनाहरूमा महानगर, उपमहानगर, नगर तथा गाउँपालिकाका लागि फरक मापदण्ड बनाउनुपर्ने खतिवडाको धारणा छ । प्रविधिक शिक्षामा लगानी बढाउनुपर्ने र प्रदेशहरूमा संघीय सरकारको बजेट शीर्षक नदोहोरिने गरी बजेट बनाउनुपर्ने समेत उनले सुझाव दिएका छन् ।
सरकारलाई आवश्यक पर्ने बाहेकका व्यवसायहरू निजी क्षेत्रले गर्नुपर्ने र निजीकरणको मोडालिटीबारे पुनर्विचार गर्नुपर्ने उनले बताए । ‘उत्पादनमुखी होइन, वितरणमुखी बजेट निर्माणमा प्रतिस्पर्धा भइरहेकाले सरकारी खर्च साना–साना कामहरूमा मात्र भएकाे छ’ खतिवडाले भने ‘देशले अपेक्षा गरेअनुरूप आर्थिक विकास हुन बजेट उत्पादनमुखी हुन जरुरी छ ।’
पूर्व अर्थमन्त्री खतिवडाको प्रमुख आतिथ्यता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको अध्यक्षतमा मन्त्रालयले काठमाडौमा प्रदेशकाे बजेट सम्बन्धमा छलफल गरेको हो ।
यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले स्रोत हेरेर मात्र छलफल गरी बजेट बनाउनुपर्ने बताए । अनुत्पादक क्षेत्रमा लगानी नगरी उत्पादनसँग जोडिएका क्षेत्रहरूमा मात्र लगानी गर्न उनले सुझाव दिएका छन् । पाण्डेले स्थानीय माग अनुसार ३० प्रतिशत खर्च गरेर बाँकी ७० प्रतिशत संसदबाट पारित गरी रणनीतिक योजना राख्नुपर्ने बताए । नीति तथा योजना आयोग चलायमान हुनुपर्ने र उत्पादन हुने क्षेत्रमा लगानी गर्दा कुनै पनि कन्जुस्याइँ गर्न नहुने समेत उनकाे धारणा थियाे ।
दुग्ध क्षेत्रलाई उद्योगसँग जोड्न सुझाव दिदैं पर्यटन क्षेत्रलाई आकर्षक बनाउन विभिन्न कार्यक्रमहरू बनाउनुपर्ने उनले बताए । ‘कृषि जनशक्ति स्वयंले तयार गर्नुपर्छ’ पाण्डे भने ‘राम्रा योजनाहरूलाई निरन्तरता दिनुपर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्ने गरी बजेट बनाउनु पर्छ ।’
यसैगरी, राष्ट्रिय सभाका पूर्व सदस्य एवम् बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष खिमलाल देवकोटाले आन्तरिक स्रोतको पाटो कमजोर रहेको बताए । आन्तरीक स्रोत दरीलो पार्दै बजेट विनियोजन गर्दा सीमा तोक्नुपर्ने उनले सुझाब दिए ।
देवकोटाले सानातिना योजनामा हात हाल्नु नहुने र गेमचेन्जर योजनालाई अगाडि बढाउनुपर्ने सुझाव दिए । लगानीकर्तालाई आकर्षण गर्नुपर्ने र करदाताले स्वेच्छा बुझेर कर तिर्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ । ‘विकासका मोडेलहरू सत्ता र प्रतिपक्षी दुवैको अपनत्व हुनेगरी ल्याउनुपर्छ’ उनले भने।
बागमती प्रदेशका पूर्व योजनामन्त्री कैलाश ढुङ्गेलले दिगो विकासका लागि बलियो सरकार हुनु जरुरी रहेको बताए । उनले कृषि, पर्यटन र विद्युत् क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताए । राजनीतिक र प्रशासनिक अस्थिरताले बजेटमा असर पर्ने र बहुवर्षीय योजनाहरू धेरै हुँदा दायित्व बढ्ने भन्दै ढुंगेलले योजना सम्पन्न गराउन प्राविधिक जनशक्ति कम रहेको बताए ।
ढुङ्गेलले हरेक जिल्लामा प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने, विद्यालयहरूको मर्ज गदै आवासिय विद्यलयमा जोड दिन आवश्यक हुने भन्दै अनावश्यक खर्च कटौती गर्नुपर्ने बताए ।
नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् पूर्व आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बागमती प्रदेशमा स्रोत कम रहेको बताए । सिमित स्राेतलाई मध्यनजर गर्दै धेरै काम गर्नुपर्ने बताउँदै उनले पहिले बहुबर्षीय आयोजनाको स्रोत सुनिस्चित गर्ने तर्फ सरकारले ध्यान दिनु पर्ने सुझाब दिए । ‘बजेटलाई सन्तुलित र आवश्यकता अनुसार बनाउनु पर्छ’ उनले भने ।
यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले प्रदेशलाई आत्मनिर्भर बनाउने सोचका साथ अगाडि बढ्ने जानकारी दिए । सुझावका अनुसार आवश्यकता र ठाँउको भौगोलिकता हेरेर सन्तुलित र परिणाममुखी बजेट बनाउने उनले बताए ।
‘बजेट बनाउने सन्दर्भमा छलफलबाट आएका सुझाव मार्गदर्शकका रुपमा रहेकाे छ’ मन्त्री थपलियाले भने ‘करको दायरा बढाएर प्रदेशका स्थायी स्रोत खोजिने छ ।चुहावट नियन्त्रण एवम् अनुत्पादनक क्षेत्रको खर्च कटौंती नियन्त्रण गर्नु पर्छ ।’
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष डा. नरविक्रम थापा, सदस्य दिपेन्द्र श्रेष्ठ, प्रदिपकुमार मैनाली, निलम ताम्रकार, पूर्व उपाध्यक्ष कृष्ण पन्त, होमनाथ चालिसे, जगत बस्नेत, पूर्व कार्यवहाक उपाध्यक्ष श्याम बस्नेत, पूर्व सदस्य प्रल्हाद लामिछाने, यमूना कँडेल, मन्त्रालयका सचिब कृष्णप्रसाद मैनालीलगायतकाे सहभागिता थियो ।