मकवानपुर । नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट चलचित्र पत्रकार एंव गीतकार गीता अधिकारी हेटौडामा सम्मानित भएकी छिन् । उक्त पुरस्कार नेपाल चलचित्र संघका अध्यक्ष एंव निर्माता नरेन्द्र महर्जनले बुबा नन्दबहादुर महर्जन नाममा स्थापना गरेका हुन् ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा बिहीबार अधिकारीलाई ११ हजार १ सय ११ रुपैयाँकाे उक्त पुरस्कार प्रदान गरेकाे हाे । मिलाप राष्ट्रिय मासिक पत्रिकामा आवद्ध अधिकारी दुई दशक भन्दा बढी समयदेखि चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले बिहीबार हेटौंडामा अधिकारी सहित अन्य चार जनालाई पुरस्कृत तथा सम्मान गरेकाे छ । संघले चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट बालकृष्ण अधिकारीलाई पुरस्कृत गरेको छ । संघको संस्थापक सह सचिव अधिकारी मकवानपुरमा रहेर कान्तिपुर टेलिभिजनमा आबद्ध छन् ।
त्यस्तै, सोही अवसरमा चलचित्र कलाकर्मी सम्मान २०८१ बाट कलाकार कोशिश क्षेत्रीलाई सम्मान गरिएको छ । कलाकार सुशान्तकुमार श्रेष्ठले बुबाको नामबाट स्थापित धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८१ बाट कलाकार ध्रुव न्यौपानेलाई सम्मानित भएका छन् । मकवानपुरमा जन्मिएर राष्ट्रमा आफ्नो कला, साहित्य, संगीत क्षेत्रमा सक्रिय कलाकर्मीहरुलाई उक्त विधामा सम्मान गरिएको हो ।
सोही अवसरमा चलचित्र पत्रकार संघ नेपालको हेटौंडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पत्रकारिता कार्यशाला कार्यक्रमलाई साथ सहयोग गरेका मकवानपुरका पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
संघका अध्यक्ष कपिल खड्काको सभाध्यक्षत तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी, हेटौंडा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, संघ महिला विभाग संयोजक दीपज्योति थापा, संघ उपाध्यक्ष श्रीराम अर्जुन लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, एनएस सिनेमाका सञ्चालक नवराज आचार्य, ओम्याक्स सिनेमा सञ्चालक राम राजभण्डारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको अतिथ्यता रहेको थियो ।

