मकवानपुर । नीति तथा योजना बनाउँदा र भौतिक संरचना निर्माण गर्दा अपाङ्गताको सवाललाई विशेष ध्यान दिनु पर्ने सुझाव दिइएको छ ।
मकवानपुरको हेटौंडामा ३ दिनदेखि जारी अपाङ्गता मैत्री पर्यटन प्रबर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो सुझाव दिइएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ बामगती प्रदेशको आयोजना र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । प्रदेशको विभिन्न पर्यटकीय क्षेत्र अपाङ्गतामैत्री भए नभएको अनुगमन रिपोर्टको प्रस्तुती समेत रहेको कार्यक्रममा प्रदेश सरकारका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
पर्यटकीय क्षेत्रलाई सबै प्रकारका अपाङ्गमैत्री सहज पहुँच पु-याउन कसरी संभव छ ? अर्थात पहुँच नभएको अवस्थामा कसरी बहस पैरवी गर्न सकिन्छ ? भन्नेबारे समेत कार्यक्रममा छलफल गरिएको थियो । आगामी नीति तथा योजना निर्माण र भौतिक निर्माणको क्रममा अपाङ्गतामैत्री विषयलाई संवेदनशील रुपमा ग्रहण गर्ने कार्यक्रममा सहभागीहरुले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको समापनमा प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश लगायतका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती थियो ।

