मकवानपुर । च्योवाङ राष्ट्रिय परिषदले आफूहरुको भाषा, सस्कृती र पहिचान नेतृत्वको कमजोरीको कारण गुम्दै आएको भन्दै यस विरुद्ध ध्यानाकर्षण गराएका छन् ।
परिषदले विभिन्न मागहरु राख्दै चरणबद्ध आन्दोलको घोषणा गरेको छ । च्योवाङहरुलाई जंगली, पछौटे, अल्पसंख्यक, लोपोन्मुख, चेपाङ, प्रजा जस्ता विशेषण र नामद्वारा चिनिने गरेकोले यसले आफूहरुको आत्मासम्मान, गर्विलो ईतिहास, राजनीति, अर्थतन्त्र तथा आत्मारक्षा क्षमतालाई निच देखाएको उनीहरुको ठहर छ ।
नेतृत्व वर्गले राजनैतिक स्वार्थ पुर्ति गर्नको लागि दुई प्रदेश, चार जिल्ला तथा विभिन्न नगर तथा गाउँ पालिकामा विभाजन गर्ने कार्य प्रति च्योवाङ समूदायको गम्भिर असहमती रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
परिषदले च्योवाङहरुको ऐतिहासिक भूमीलाई च्योवाङ स्वायत्त क्षेत्र घोषणा गर्न जोडदार माग गरेको छ ।
च्योवाङ पुर्खाहरुले ऐतिहासिक कालदेखी अभ्यास गर्दै आएको सामाजिक(सांस्कृतिक, आर्थिक तथा राजनीतिक प्रणालीको आधारमा च्योवाङ राष्ट्रिय परिषदले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गरि निर्माण गरेको च्योवाङ स्वशासन विधानको आधारमा च्योवाङ स्वायत्त क्षेत्र स्वशासित हुने हुदाँ उक्त स्वशासन विधान तथा स्वायत्त क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय मान्यता प्रदान गर्न माग गरेको छ ।
परिषदले सामुदायिक वन, राष्ट्रिय निकुन्ज, राष्ट्रिय गौरवको आयोजना, औद्योगिक क्षेत्र, खानी लगाएत विभिन्न बहाना बनाई खोसिएका च्योवाङहरुको भूमी, भूक्षेत्र तथा श्रोतहरु तुरुन्त फिर्ता गर्दै आगामी दिनमा यस्तो औपनिवेसिकता नहुने सुनिश्चितता गर्न माग गरेको च्योवाङ राष्ट्रिय परिषद संयोजक गाब्रियल च्योवाङले बताए ।
मकवानपुर । हावापानी र माटो सुहाउँदो प्रजातिको अन्न तथा फलफुल उत्पादन गर्न सके बिकटको पाखो र भिरालो जग्गाबाट पनि उपार्जन लिन सकिन्छ ।
जग्गा बांझो नराख्नको लागि तीनै तहको सरकारले प्रोत्साहन गर्ने लक्ष्य लिए पनि कस्तो जग्गामा के लगाउने भन्नेबारे रणनीति र कार्यनीति देखिदैन । दुरगामी भिजन नभएपछि ग्रामीण भेगका जमिन बाझो नै रहने गरेका छन् । स्थानीयका अनुसार रैथाने बालीनाली पनि लोप हुँदै आएका छन् । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ६ तिर केहिबर्ष अघिसम्म राज्मा (रातो सिमी) प्रसस्तै उत्पादन हुने गरेको थियो ।
उत्पादन घट्न थालेपछि पछि एक दशकदेखि यो सिमी लगाउनै छाडिएको स्थानीय कल्पना देवकोटाले बताइन् । “हामी रातो सिमी, सेतो सिमी र कोदो लगाउथ्यौ,अहिले फल्नै छाड्यो,वारि बांझै छ” उनले भनिन् ।
यता यसै गाउंपालिका चिनो भनिने रौथाने धानबाली भने लगाउन भने किसानलाई प्रोत्साहन गर्दै आईएको छ । नेपालको उच्च पहाडी क्षेत्रमा परावूर्वकालदेखि धानकोदो (चिनो) Porso Millet खेती हुदै आएको पाईन्छ ।
विभिन्न अध्ययन अनुसन्धानले नेपालका विभिन्न पहाडी जिल्लाहरुमा यसको खेती भईरहेको उल्लेख भएपनि मकवानपुर जिल्लाको मकपानपुरगढी वडा नं. १ मा पनि करिब ५० औ वर्ष देखि धानकोदो खेती हुदै आईरहेको वडा न.१ का वडाध्यक्ष श्री आईत सिं लो ले जानकारी दिए ।
केहि वर्ष पहिला बढी मात्रामा लगाउदै गरेको धानकोदो पनि क्रमश: घट्दो अवस्थामा रहेको छ । मकवानपुरगढी वडा न.१ रानीडाँडा लगायतका स्थानमा हाल अनुमानित एकसय रोपनी क्षेत्रफलमा धानकोदो खेती लगाएको कृषक छोइशान्ति दोङ्गले बताइन । दोङ्गले अहिले ५ कठामा धानकोदो लगाएकी छिन् ।
धानकोदो (चिनो) को दाना फलेर भुस हटाई भात वा खिरका साथै दाना भुटेर वा पिठो बनाएर विभिन्न परिकार बनाई खाने गरिन्छ । यसको दानामा ११.९ प्रतिशत पानी १२.५ प्रतिशत प्रोटिन, १.१ प्रतिशत चिल्लो पदार्थ, ७०.४ प्रतिशत कार्बोहाईड्रेट पाईन्छ ।
मधुमेह रोगको समस्या भएका मानिसका लागि चिनो अति उतम खानेकुरा मानिन्छ । चिनोमा फेनोल्स, फाइटेट्रस नाम गरेका क्यान्सर निरोधक फाइटोकेमिकल्स र क्याल्सियम, म्यगनेसियम, सोडियम, म्याग्निज, आइरन जस्ता खनिजतत्वहरु पाईने मकवानपुर गढी गाउंपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत चन्द्रकान्त चौधरीले बताए ।
मधुमेह रोगको समस्या भएकाहरूलाई चिनो धानको भात अति उतम खानेकुरा मानिन्छ । चिनोमा फेनोल्स, फाइटेट्रस नाम गरेका क्यान्सर निरोधक फाइटोकेमिकल्स र क्याल्सियम, म्यगनेसियम, सोडियम, म्याग्निज, आइरन जस्ता खनिजतत्वहरु पाईन्छन् ।
मकवानपुर । मोटरसाइकलको ठक्करमा परि मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ मा एक जनाको मृत्यु भएको छ ।
धरान चतरा सडकखण्ड अन्तरगत हेटौडाबाट ठुलोदमार तर्फ जादै गरेको बा ५८ प ५६५४ नम्बरको मोटरसाइकलले पैदल यात्री हेटौंडा १८ रामधुनीका ३५ वर्षिय बिनोद रमतेललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएका रम्तेलको उपचारको क्रममा हेटौँडामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले बताए ।
चाडपर्वको समयमा तिव्र गतिमा सवारी नलचाउन प्रहरीले अनुरोध गर्दै टाइम कार्ड लागू गरेको छ, तर मोटरसाइकलहरूमा हुने तिव्र गति प्रहरीले पनि रोक्न सकेको छैन ।
मकवानपुर । विशेष गरि हिन्दु समाजमा मनाइने दशैं पर्व भर्खरै सकिएको छ । यतिबेला चुनावी तयारीले छपक्कै ढाकेको छ ।
र, चुनावी सरगर्मी बढ्दै गर्दा तिहारको रमझम पनि सुरू भएको छ । फूलहरूको पर्वको रूपमा चिनिने तिहार घर आंगनमा भित्रदै छ । आँगनका डिल र बारीका कान्लाहरूमा मखमली र सयपत्री फूलहरू हांसिरहेका छन् ।
सदा जसो नेताहरूको कार्यक्रममा मालाको व्यवस्थापनमा लाग्ने हेटौंडा ६ चौघडाका पुष्पव्यवसायी बालकृष्ण चौलागाईंलाई अहिले तिहारको व्यस्तताले पनि छोएको छ ।
तिहार पर्वको पर्याय जस्तै हुन् पुष्पमाला, सेलरोटी, दाजुभाइ र दिदिबहिनी । फूलको सुगन्धले सबैको मन तान्छ, सबैलाई आकर्षण गर्छ । तर फूल जति आकर्षक छ, यसको व्यवसाय तेति सहज भने छैन ।
पुष्प व्यवसायी चौलागाईं सबै क्षेत्रमा संघर्ष र चुनौती रहेको बताउँछन् । “संघर्ष र रिस्क सबै क्षेत्रमा हुन्छ, फूलको व्यवसाय झन् रिस्की छ” उनले भने “छोटो समयमा उपलब्धि लिन सकिने भए पनि भण्डारणलय्यगायतको समस्या भएकोले लगानी डुब्ने चिन्ता पनि उस्तै हुन्छ ।”
चौलागाइले ५ कठ्ठा जमिनमा विगत ५ वर्षदेखि फूल खेती गर्दैै आएका छन् । चुनावी सरगर्मी बढ्दै गर्दा फूलमालाको माग बढीरहेको छ । सुरुसुरुका वर्षमा पुष्प व्यवसायबाट राम्रो आम्दानी लिएका चौलागाई पछिल्ला वर्षहरुमा भने समयले साथ नदिएको बताउँछन् । गतवर्ष कोरोनाको कारण औपचारीक कार्यक्रमहरु नै भएनन्, फूल खतप गर्नै समस्या भयो, अहिले माग राम्रो छ, तर मौसमले साथ दिएन” उनले भने । यो वर्ष झरीको समय लामो भएको कारण जिमा अर्थात पानी बढी भएर फूलका बिरुवाबाट राम्रो उत्पादन नभएको उनले बताए ।
फूलको विरुबा रोपेपछि ३ महिनामा आम्दानी दिन्छ । प्रति फूलको बिरुवामा कम्तिमा एक सय वटा फूल फुल्यो भने राम्रो आम्दानी हुने उनी बताउँछन् । हेटौंडा बजारमा हाल प्रतिमाला औषत ८० रूपियामा विक्री हुने गरेको छ ।
हाल हेटौंडामा मालाको माग सम्बोधन गर्न चौलागाई आफैंले सर्लाहीबाट माला झिकाएर पनि बिक्री गर्ने गरेका छन् । सर्लाही जिल्लादेखि ल्याइएको मालालाई स्टोर गर्न उनले भण्डारण कक्षको समेत व्यवस्था गरेका छन् ।
जुन स्टोरमा १० हजार माला अटाउने १५ दिनसम्म राख्न सकिने चौलागाईले बताए । उनी पूर्व लडाकुँ हुन, तर पछिल्लो समय उनी कुनै पनि दलमा आवद्ध छैनन् । “जहाँ निष्ठा सहित बाँच्न सकिन्छ, त्यही बसौ भनेर मैले कृषि रोजे” चौलागाई भन्छन् । उनले आफ्नो रोजाइ आज पनि हतियार नै भएको ठट्टाको शैलीमा भने “उबेला राजनीतिमा थिएँ, हतियार ९बन्दुक० चलाउँथे, अहिले कृषीमा छु, यहाँ पनि हतियार ९कुटो, कोदालो० नै चलाउँछु ।” हाल कुनै पनि दलमा आवद्ध नभएपछि सामाजिक कार्य र कृषि कर्ममा तल्लिन छन् उनी ।
पुष्प व्यवसायको काम उनी आफैं र परिवारको सदस्यहरुको सहायतामा गर्छन, नभ्याएको काम ज्यालामा लगाउँछ, जसले अरुलाई समेत सानोतिनो खर्चको जोहो हुने गरेको छ । माला उने बापत प्रतिमालाको २ रूपिया, फूल टिप्ने, तथा गोडमेल गरेको प्रतिघण्टाको सय रुपिया ज्याला तोकिएको छ ।
५ वर्ष पहिले घाँस फुल्दै आएको भिरालो जगामा पछिल्लो ५ वर्षदेखि फूल खेल्ने गरेको छ । स्वरोजगार बन्नको लागि यो बलियो आधार भएको बताउँछन् उनी ।
तिहारमा फूलको मालाले घर सजाउने मौलिक परम्परा हराउँदै गएको छ । यसको स्थान झिलिमिली बत्ती र प्लास्टिक तथा कागजका मालाहरूले लिंदै आएका छन् । जुन बातावरणमैत्री समेत छैन । युवाहरूलाई स्वरोजगार बन्नतर्फ प्रेरित गर्ने हो भने यो व्यवसायले पनि एउटा विकल्प बन्न सक्छ, र यसले पनि देशको अर्थतन्त्रमा टेवा दिन सक्छ ।
युवालाई कृषिमा आकर्षण गरि टिकाउको लागि स्थानीय सरकारले कसरत गरिरहेको बताईरहेको छ,तर युवाहरूको आकर्षण अहिले पनि वैदेशिक रोजगार नै छ ।
कृषि प्रधान देशमा कृषिमा यात्रीकिकरण र विबिधिकरणको खोजी अझै भएको छैन । स्थानीय तहले यसतर्फ ध्यान दिने हो भने नेपाललाइ फूलमा आत्मानिर्भर बनाउन सकिने बताउँछन् उनी ।
प्रतिबन्धित फूल बजारमा छ्यापछ्याप्ती

नेपाल सरकारले पछिल्लो समय प्लाष्टिक प्रतिबन्ध लगाउँदै आएको छ । हेटौंडा बजारमा पनि विगत १ दशकदेखि प्लाष्टिक न्यूनिकरण अभियान जारी छ । तर तिहारको संघारमा हेटौंडा बजारमा प्रतिबन्धित प्लाष्टिकका मालाहरु छ्यापछ्याप्ति विक्रिी भइरहेका छन् । यसको नियमन तर्फ स्थानीय प्रशासन र स्थानीय सरकारले चासो दिएको छैन ।
सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा ल्याउने भनेर ४ दिन अघि सूचना जारी गर्दै यस्ता मालाहरु विक्री नगर्ने आग्रह गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो ।
वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ । कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख छ । तर हेटौंडा उपमहानगरपालिकामा खुलेयाम यस्ता मालाहरु विक्री भइरहेका छन् । प्रशासनले वास्ता गरेको छैन ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ५ सय ३ प्रकारको मतपत्र प्रयोग हुने भएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभाको क्षेत्र अनुसार मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ १ सय ६५ र प्रदेशसभाको प्रत्यक्ष तर्फ ३ सय ३० क्षेत्रका फरकफरक मतपत्र हुने भएको हो । यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभाको देशभर एउटै र सात प्रदेशका लागि सात थरी मतपत्र हुने आयोगले जनाएको छ । यसैगरी उम्मेदवारी नपरेको दलको चिन्ह भने मत पत्रमा प्रयोग हुने छैन । मतपत्रमा प्रत्यक्ष तर्फ रातो र समानुपातिकमा कालो रङ्गको चुनाव चिन्ह हुनेछ ।
समानुपातिकका लागि ४ करोड मतपत्र छपाइसकेको र प्रत्यक्षतर्फको मतपत्र छपाइ जारी रहेको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक मतपत्र उम्मेदवारको बन्दसूची बुझाउने दलको मात्रै चिह्न राखेर छापिएको छ । अन्य प्रदेशको समानुपतिकतर्फको मतपत्र भने दल दर्ताका लागि निवेदन दिएको आधारमा छापिएको छ । भुसालका अनुसार मतपत्रको कागज सेतो हुनेछ तर प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ रातो र समानुपातिकतर्फ कालो रङको चुनाव चिह्न हुनेछ ।
राजनीतिक दलले ०७४ को निर्वाचनमा समानुपातिकतर्फ पाएको मतका आधारमा मतपत्रमा चिह्नको क्रम राखिएको छ । प्रदेशको मतपत्रमा प्रदेशमा समानुपातिकमा प्राप्त मत संख्यालाई आधार बनाइएको छ । निर्वाचन आयोगले प्रदेशअनुसार फरकफरक मतपत्रको ढाँचा बनाई छापिरहेको जनाएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ मतपत्रको पहिलो लहरको सुरुमा एमालेको सूर्य चिह्न छ । यही लहरको दोस्रोमा कांग्रेसको रूख चिह्न, तेस्रोमा माओवादीको गोलाकारभित्र हँसिया हथौडा, चौथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता र पाँचौंमा राप्रपाको निर्वाचन चिह्न हलो राखिएको छ । प्रतिनिधिसभाको मतपत्रमा ४८ प्रकारको निर्वाचन चिह्न राखिएको छ । मतपत्रको सुरुमा समानुपातिकमा पाएको मत र राष्ट्रिय मान्यता प्राप्त दलको निर्वाचन चिह्न कायम गरिएको आयोगले जनाएको छ ।
आउँदो निर्वाचनमा सबैभन्दा कम दुईवटा चिह्न भएको मतपत्र छापिएको छ । प्रदेशसभाका ५ वटा क्षेत्रमा दुई जनाको मात्रै उम्मेदवारी कायम भएकाले त्यहीअनुसार मतपत्र छापिएको हो । प्रतिनिधिसभामा सबैभन्दा कम चिह्न भएका हुम्ला र मनाङ हुन् । त्यहाँका लागि तीनवटा चिह्न भएको मतपत्र छापिएको छ । प्रत्यक्षतर्फ प्रदेशमा सबैभन्दा बढी रौतहट १(१) मा ३० वटा र प्रतिनिधिसभातर्फ काठमाडौं–१ मा ३२ वटा चिह्न भएको मतपत्र छापिँदै छ ।