प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ५ सय ३ प्रकारको मतपत्र प्रयोग हुने भएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभाको क्षेत्र अनुसार मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ १ सय ६५ र प्रदेशसभाको प्रत्यक्ष तर्फ ३ सय ३० क्षेत्रका फरकफरक मतपत्र हुने भएको हो । यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभाको देशभर एउटै र सात प्रदेशका लागि सात थरी मतपत्र हुने आयोगले जनाएको छ । यसैगरी उम्मेदवारी नपरेको दलको चिन्ह भने मत पत्रमा प्रयोग हुने छैन । मतपत्रमा प्रत्यक्ष तर्फ रातो र समानुपातिकमा कालो रङ्गको चुनाव चिन्ह हुनेछ ।
समानुपातिकका लागि ४ करोड मतपत्र छपाइसकेको र प्रत्यक्षतर्फको मतपत्र छपाइ जारी रहेको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक मतपत्र उम्मेदवारको बन्दसूची बुझाउने दलको मात्रै चिह्न राखेर छापिएको छ । अन्य प्रदेशको समानुपतिकतर्फको मतपत्र भने दल दर्ताका लागि निवेदन दिएको आधारमा छापिएको छ । भुसालका अनुसार मतपत्रको कागज सेतो हुनेछ तर प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ रातो र समानुपातिकतर्फ कालो रङको चुनाव चिह्न हुनेछ ।
राजनीतिक दलले ०७४ को निर्वाचनमा समानुपातिकतर्फ पाएको मतका आधारमा मतपत्रमा चिह्नको क्रम राखिएको छ । प्रदेशको मतपत्रमा प्रदेशमा समानुपातिकमा प्राप्त मत संख्यालाई आधार बनाइएको छ । निर्वाचन आयोगले प्रदेशअनुसार फरकफरक मतपत्रको ढाँचा बनाई छापिरहेको जनाएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ मतपत्रको पहिलो लहरको सुरुमा एमालेको सूर्य चिह्न छ । यही लहरको दोस्रोमा कांग्रेसको रूख चिह्न, तेस्रोमा माओवादीको गोलाकारभित्र हँसिया हथौडा, चौथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता र पाँचौंमा राप्रपाको निर्वाचन चिह्न हलो राखिएको छ । प्रतिनिधिसभाको मतपत्रमा ४८ प्रकारको निर्वाचन चिह्न राखिएको छ । मतपत्रको सुरुमा समानुपातिकमा पाएको मत र राष्ट्रिय मान्यता प्राप्त दलको निर्वाचन चिह्न कायम गरिएको आयोगले जनाएको छ ।
आउँदो निर्वाचनमा सबैभन्दा कम दुईवटा चिह्न भएको मतपत्र छापिएको छ । प्रदेशसभाका ५ वटा क्षेत्रमा दुई जनाको मात्रै उम्मेदवारी कायम भएकाले त्यहीअनुसार मतपत्र छापिएको हो । प्रतिनिधिसभामा सबैभन्दा कम चिह्न भएका हुम्ला र मनाङ हुन् । त्यहाँका लागि तीनवटा चिह्न भएको मतपत्र छापिएको छ । प्रत्यक्षतर्फ प्रदेशमा सबैभन्दा बढी रौतहट १(१) मा ३० वटा र प्रतिनिधिसभातर्फ काठमाडौं–१ मा ३२ वटा चिह्न भएको मतपत्र छापिँदै छ ।

