मकवानपुर । मकवानपुरको प्रसिद्ध पर्यटकीय क्षेत्र स्मारक परिसरमा व्यवस्थित होटल खुलेको छ । पर्यटनको क्रममा स्मारक आइपुगेकाहरुलाई आवासीय सुविधा तथा तालिम सेमिनार समेतको व्यवस्था हुनेगरी होटल सञ्चालनमा ल्याइएको हो । स्थानीय युवाहरु बालकृष्ण बजगाई, रोशन बर्तौला, गोपाल श्रेष्ठ र बसन्त नेपालको लगानीमा होटल खोलिएको हो ।
कुल ३३ करोड लगानीमा सुरु गरिएको होटल आगामी कात्तिक २ गते बागमती प्रदेशका मुख्यसचिव मुकुन्द निरौलाले उद्घाटन गर्ने तयारी भएको छ । ३३ वटा कोठाहरु रहेको होटलमा सबै वर्गमा व्यत्तिहरुलाई आवासीय सुविधा प्रदान गर्न सकिने गरी व्यवस्थापन गरिएको बालकृष्ण बजगाइले बताए ।

होटलमा ३० वटा डिलक्स कोठाहरु छन् । जसमा ३ हजार ५ सयदेखी १८ हजार रुपियाँसम्म शुल्क तोकिएको छ । सबैभन्दा महङ्गो कोठा सुपर स्वीटको शुल्क १८ हजार तोकिएको बजगाईले बताए ।
सहकारी तथा संस्थागत प्रयोजनको लागी समेत कोठाहरु रहेको उनले बताए । यस प्रकारको कमन कोठामा २० जनासम्म आवासीय सेवा लिन सक्नेछन् ।
होटलमा हाल प्रत्यक्ष रुपमा ३७ जनाले रोजगार पाएका छन् । भुकम्प प्रतिरोधात्मक, प्राकृतिक सौन्दर्य रहेको यो होटल शान्त र प्रसस्त पार्किङ सुविधा रहेको छ । काठमाडौको विभिन्न होटलमा कुकको काम गरेर अनुभव कमाएका कुकहरूबाट बनाईने खाना अर्को सञ्चालक गोपाल श्रेष्ठले बताए ।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको मनोरम पर्यटकीय क्षेत्र सहिद स्मारक नजिकै सुबिधा स्थापना गरिएको यो होटलले स्मारकको पर्यटकहरुलाई विशेष सुविधा दिने छ ।
प्रदेशको राजधानी भएपछि हेटौंडामा बास बस्न तथा कार्यक्रमहरु गर्न होटेल नपाउने समस्या थपिदै आएको बेला यसले केही राहत प्रदान गर्ने अपेक्षा गरिएको छ ।
१२ कठ्ठा ११ धुर क्षेत्रफलमा फैलिएको होटेलको निर्माण लागत ३३ करोड रहेको छ । ३०० जना क्षमताको बेन्क्युट हल, १५० जना क्षमताको कन्फ्रेन्स हल यहाँ रहेको छ । हाेटलमा आज आयाेजित पत्रकार सम्मेलनमा यस्ताे जानकारी गराइएकाे हाे ।

