मकवानपुर । मकवानपुरकाे छुट्टाछुट्टै स्थानमा भएकाे सवारी दुर्घटनामा परी १ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । बुधबार मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकामा सवारी दुर्घटना भएकाे हाे ।
हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ का ३० वर्षीय गुणसिंह वाइबा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार उदयपुर घर भएका २७ वर्षीय मुकेश परियार घाइते भएका छन् ।
घाइते परियारको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रक तथा चालक प्रहरी नियन्त्रण रहेको बताइएको छ ।
यस्तै कान्ति लोकमार्गको मकवानपुरगढी गाउँपालिका–१ कर्मे खोलामा जन्ती बोकेको सुमो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बकैया–४ बाट जन्ती बोकेर ठिङ्गन जाँदै गरेको ना १ ज १७५१ नम्बरको सुमो दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

