मकवानपुर । रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा प्रतिक्षा न्यौपाने चयन भएकी छन् । क्लबको सोमबार बसेको बैठकले वर्ष सन् २०२१/२२ का लागि न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको स्थापनाकालमा कोषाध्यक्ष, इन्टरनेशनल सर्भिस डाइरेन्टर र उपाध्यक्षमा रहेर काम गरिसकेकी न्यौपानेलाई वर्ष २०२१/२२ का लागि अध्यक्ष चयन गरिएको हो ।
यसैगरि बैठकले सचिवमा प्रदीप कुमार राईलाई चयन गरेको हो । क्लबको सदस्य र सहसचिवको भूमिका निर्वाह गरिसकेका राईलाई सचिवमा चयन गरिएको हो । क्लबका अध्यक्ष महेन्द्र रानाको अध्यक्षतामा भएको बैठकमा संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्षहरु विजय पौडेल, क्लबका कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।
वर्ष सन् २०१५/१६ मा रोटरी क्लब अफ मकवानपुरको मातृत्वमा रोट्रयाक्ट क्लब अफ मकवानपुर स्थापना भएको हो । अध्यक्षमा चयन भएकी न्यौपानेले सामाजिक कार्यसंगै क्लवमा आबद्ध युवाहरुको नेतृत्व विकासमा लागिपर्ने प्रतिबद्धता जनाइन् ।

