मकवानपुर । मकवानपुरको हेटाैडाबाट काठमाडाैं प्रवेश गर्ने हेटाैडा–कुलेखानी–फाखेल– काठमाडाैं छाेटाे मार्ग अन्तरगत कुलेखानी–फाखेल सडकखण्ड आज चैत २८ शनिबारदेखि एक महिना बन्द हुने भएको छ ।
इन्द्रसरोवर गाउँपालिका अन्तरगत पर्ने कुलेखानी–फाखेल सडकखण्ड पुनः मर्मत गर्नको लागि अाज चैत्र २८ गतेदेखि २०७८ साल बैशाख २८ गतेसम्मका लागि बन्द हुने यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।
निर्देशनालयका अनुसार कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौंकाे सिमाना फर्पिङसम्मको सडकको मर्मत गरिने भएकाे हाे । मर्मत अन्तरगत ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यको लागि कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सबै प्रकारको यातायात सेवा बन्द गर्न लागिएकाे निर्देशालयले जनाएकाे छ ।
तर, हेटाैडा– कुलेखानी– सिस्नेरी–दक्षिणकालिका काठमाडाैं सडकखण्डमा भने सवारी यातायात संचालन हुने बताइएकाे छ । प्रदेश यातायात पूर्वाधार निर्देशनालय, यातायात व्यवसायी, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीहरुको शुक्रबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
मकवानपुरकाे कुलेखानीदेखि सिस्नेरी र दक्षिणकालिकासम्मकाे सडक ढल निकास र कालो पत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि मात्रै बन्द गर्ने सहमति भएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

