मकवानपुर । मकवानपुरे साहित्यकार दीपक गौतमको पहिलो साहित्यिक कृति मुक्तक सङ्ग्रह ‘विसङ्गत वर्तमान’ विमाेचन सहित सार्वजनिक भएको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमकाबीच गौतमको मुक्तक सङ्ग्रह ‘विसङ्गत वर्तमान’ विमोचन गरिएको हो ।
झरना साहित्यिक परिवारले प्रकाशन गरेको मुक्तक संग्रहकाे विमाेचन कार्यक्रम सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भएको हाे । १ सय ५१ वटा मुक्तक समेटिएको मुक्तक विमोचन तथा विमर्श कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार विश्वनाथ सञ्जेलले गौतमका सङ्ग्रहमा शृङ्गारिक भावका मुक्तक समेटिएको बताए । रुवाइयात शैलीको मुक्तक संग्रहमा जीवन बोधका अभिव्यक्तिका साथै सामाजिक विसङ्गती मनोविज्ञानलाई पनि उजागर गरिएका छन् ।

सङ्ग्रहमाथि प्यानल डिस्कसनसमेत गरिएको थियो । राम अविकासको सहजीकरणमा घनश्याम घिमिरे, शान्तिप्रिय बन्दनाले पुस्तकमाथि टिप्प्णी गरेका थिए । लेखक गौतमले आफ्ना कृतिमाथि उठेका जिज्ञासा र प्रश्नकाे जवाफ दिएका थिए ।
कार्यक्रममा लोकेन्द्र डहरे, सन्तोष अमगाईं, बिर्खे अन्जान र आरसी रिजालले मुक्तक बाचन गरेका थिए । सञ्जालका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएकाे हाे । साहित्यकार सरुभक्त प्रमुख अतिथि रहेको कार्यक्रममा मुक्तककार हरिकृष्ण काफ्ले विशिष्ट अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा लेखक गौतमका पिता बलराम गौतमलगायतको आतिथ्यता रहेको थियो ।

