मकवानपुर । बागमती प्रदेशसभाको बैठक चैत २४ गते बस्ने भएको छ । यसअघि पटकपटक स्थगित हुँदै आएको प्रदेशसभाको सातौं अधिवेशन अन्तर्गत्को बैठक बस्ने मिति तोकिएको हो । प्रदेशसभा सचिवालयका अनुसार चैत २४ दिनको १ बजेकाे लागि सभा बस्ने गरी सूचना जारी गरिएकाे हाे ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पटक पटक सूचना टाँस गरी स्थगित हुँदै आएको बैठक २४ गते मंगलबारका लागि आह्वान भएको हो । प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो ।
गत माघ ७ गतेदेखि सुरु भएको सातौं अधिवेशनमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धकाे अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी स्थगन गरिएको थियो । तत्कालिन नेकपाका ४५ जना सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पुस १० गते दर्ता गराएका थिए ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार चैत २४ गतेकाे बैठकमा मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वास प्रस्ताव सम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिइने छ । त्यसै गरी सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक, २०७७ र प्रदेश पर्यटन विधेयक, २०७७ माथि छलफल प्रारम्भ हुने उनले बताए ।
मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावक अरुणकुमार नेपालसहित समर्थक भएका सदस्यले चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएअनुसार प्रदेशसभा सचिवालयमा १८ गते प्रस्ताव फिर्ता लिएको सूचना दर्ता गरिएको थियो । प्रदेशसभामा तत्कालीन सत्तारुढ दल नेकपाको ८० सदस्य रहेका थिए । सर्वोच्च अदालतको फैसला अनुरुप सत्तारुढ नेकपा एकिकरण पूर्वकाे अवस्थाका नेकपा एमाले र माअाेवादी केन्द् रहने गरी विभाजित भएपछि प्रदेशसभाको समिकरणमा परिवर्तन भएको छ ।
हाल प्रदेशसभामा नेकपा एमालेका ५७, प्रमुख प्रतिपक्ष दलका रुपमा नेकपा माओवादी केन्द्रका २३ जना र नेपाली कांग्रेसका २२ जना सदस्य रहेका छन् । विगतमा प्रमुख प्रतिपक्षी रहेको कांग्रेस अहिले तेस्रो ठूलो दलका रुपमा देखिएको छ । यसैगरी विवेकशील साझा दलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपाको २ र एक स्वतन्त्र सांसद गरी कूल ११० जना प्रदेशसभा सदस्य छन् ।

