मकवानपुर । बागमती गाँउपालिका खेलकुद विकास समितिकाे आयाेजनामा मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप अन्तरगत शुक्रबार भएको पहिलाे सेमिफाइनल खेलमा अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन फाइनल प्रवेश गरेको छ ।
जावलाखेल युथ क्लबलाइ टाइवेकरमा ५–३ गाेल अन्तरले हराउँदै अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुनले फाइनल यात्रा तय गरेका हाे । जाबलाखेल र क्याम्रुन बीच भएकाे पहिलाे सेमिफाइनल खेलमा निर्धारित समयमा दुबै टेलीबाट कुनै गाेल हुन नसके पछी खेल टाइबेकरमा धकेलिएकाे थियाे । उपाधिका लागि भाेली हुने बागमती यूथ क्लव सर्लाही र थ्रीस्टार क्लव ललितपुरकाे विजेतासँग २३ गते प्रतिस्पर्धा गर्नेछ ।
दाेस्राे हाफकाे ३६ औं मिनेटमा अफ्रिकन रुट्का खेलाडी जर्सी नं. १७ का यानिकले जावलाखेलका सन्त गुरूङ फल गरे पछी राताे कार्ड पाएर १० खेलाडीमा सिमित भएकाे थियाे । जावलाखेलले उक्त अवसरकाे सदुपयाेग भने गर्न सकेन ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका जावलाखेल युथ क्लबका जर्सी नं. ४ का रक्षक सिमान्त थापा म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तरगत चैत २१ गते शनिबार दाेस्राे सेमिफाइनल खेल थ्रीस्टार क्लब र बागमती युवा क्लब सर्लाही बीच हुने आयाेजकले जनाएकाे छ ।
खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।

प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन ।
