मकवानपुर । नेकपा (एमाले) संसदीय दलको विधान संशोधनका लागि समिति निर्माण गर्दै बागमती प्रदेशको पार्टी संसदीय दलको बैठक सकिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा पौडेलले विगतका कमि कमजोरीलाई त्यागेर अघि बढ्नु पर्ने धारण व्यक्त गरे । बैठकमा नेपाल समूहको तर्फबाट प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले नेकपा एमालेलाई बलियो बनाएर अघि बढ्नु पर्ने भएकाेले पार्टीलाई एकताबद्ध बनाउन मुख्यमन्त्री पौडेल विरुद्धकाे अविश्वास प्रस्ताव फिर्ता लिएको बताइन् ।
उनले कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई लत्याएर विधि र विधान मिच्दै अघि बढ्दा कम्युनिष्ट पार्टी धरासायी बनेको बताइन् । नेकपा एमालेलाई जनताले विश्वास गरेर बहुमत दिएको भएपनि सरकारले जनता हितमा काम गर्न नसकेको धारणा व्यक्त गरिन् । बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएका कारणले सो विषयमा छलफल नभएको नेकपा एमालेका प्रमुख सचेतक केशव राज पाण्डेले बताए ।
बैठकले पाण्डेको नेतृत्वमा ३ जना सदस्य रहने गरी नेकपा एमाले बागमती प्रदेश संसदीय दलको विधान संशोधन समितिसमेत गठन गरेको छ । समितिको सदस्यमा प्रदेशसभा सदस्य नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेका छन् ।

