सुदूरपश्चिम प्रदेशका प्रदेश लोक सेवा आयोगका पदाधिकारीले लिए शपथ लिएका छन् । प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई बुधबार पदको शपथ गराएकी हुन् ।
यस्तै प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराएका छन् ।
नेपालको संविधानको धारा २४४ मा प्रदेश लोक सेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश लोक सेवा आयोग ऐन, २०७६ बमोजिम प्रदेश प्रमुख पन्तले प्रदेश लोक सेवा आयोग पदाधिकारीलाई चैत ९ गते नियुक्त गरेका थिए । डडेल्धुरा जिल्लाको अजयमेरु–४ निवासी आयोगका नवनियुक्त अध्यक्ष बोहरा यसअघि कैलाली जिल्लाको प्रजिअ थिए ।
यस्तै, आयोगका नवनियुक्त सदस्य खड्का अछाम जिल्ला साँफेबगर–१० र अर्का सदस्य राना कञ्चनपुर लालझाडी–१० निवासी हुन् ।

