मकवानपुर । हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप अन्तरगत आइतबार भएकाे खेलमा बागमती युवा क्लब सर्लाहीले विभागीय टिम सशस्त्र प्रहरी बल(एपिएफ)लाई हराएकाे छ ।वन विज्ञान अध्ययन संस्थानकाे खेल मैदानमा भएको खेलमा एपिफलाई बागमती युवाले २–१ ले हराएको हो ।
बागमतीको पहिलो गोल विक्रम धिमालले हेड मार्फत गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको ३७ मिनेटमा धिमालको गोलबाट अग्रता लिएको बागमतीले ७४ औं मिनेटमा सागर शाहीले फ्रि किकबाट आएको पासलाई डि बक्स भित्र सदुपयोग गर्दै जाली चुमाएका थिए । खेलकाे म्यान अफ दी म्याच बागमतीका विक्रम धिमाल भएका छन् ।
दोस्रो गोल पछि दबाबमा आएको एपिएफले ८० मिनेट पनि निरन्तर बागमती युवा क्लबलाई दबाबमा राखेको थियो । बागमती युवा क्लबका खेलाडीले डि बक्स भित्र हातले बल छुँदा एफिएफले पेनाल्टी पाएको थियो । पेनाल्टीको रवि थिङले सदुपयोग गरेर खेलमा फर्काउन खोजेता पनि स्कोर भने बढाउन नसकेको हो ।
सेमिफाइनल प्रवेशका लागी बागमती युवा क्लब सर्लाहीले विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनसँग मंगलबार प्रतिस्पर्धा गर्ने छ ।
मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको तेस्रो संस्करणको फुटबल प्रतियोगिता अन्तरगत सोमबार संकटा क्लब र मच्छिन्द्र क्बल विच खेल हुने आयोजकले जनाएको छ । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।

