मकवानपुर / हेटौंडानगर भित्रका महिलाहरुलाई व्यवसायीक बनाउने उदेश्यसहित आयोजना गरिएको ब्युटिपार्लर सम्बन्धि एक महिने तालिम समापन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा महिला बालबालिका तथा असहाय कल्याण समुहको आयोजनामा भएको तालिम शुक्रबार समापन गरिएको हो । समापन कार्यक्रममा तालिममा सहभागी २० जना महिला र प्रशिक्षक इन्दिरा गुरागाईंलाई प्रमाणपत्र प्रदान गरिएको थियो। उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रमाणपत्र प्रदान गरेका थिए ।
तालिम समापन कार्यक्रम बोल्दै उपमहानगरपालिकाका मेयर महतले महिलाहरु जबसम्म आर्थिक रुपले सबल हुदैनन् तबसम्म महिला हिंसामा कमि नआउने बताए । महिलाहरु जन्मेदेखी बृद्धअवस्थासम्म अरुमा निर्भर बन्नुपर्ने अवस्था भएको उनले बताए । ‘महिलाहरुलाई तालिम दिएर व्यवसायिक बनाई आर्थिक रुपले सबल बनाउन उपमहानगरपालिका हरदम तयार छ’ उनले भने । यस्तै मेयर महतले महिलाहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड निर्माण गर्न समेत आग्रह गरे । बजारमा पाईने सेनेटरी प्याडहरुमा केमिकल प्रयोग हुने हुँदा महिलाहरुलाई त्यसले असर गर्ने बताउदै समुहमार्फत सेनेटरी प्याड उत्पादन गर्न सुझाव दिदै उपमहानगरपालिकाले आर्थिक सहयोग गर्ने समेत बताए ।
कार्यक्रममा वेपा ग्रुप नेपालकी अध्यक्ष इन्दिरा न्यौपानेले विभिन्न निकायबाट दिइने तालिमहरुलाई छुट्टाछुट्टै भन्दापनी सबैसङ्ग समन्वय गरेर दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिन आग्रह गरिन । उनले छुट्टाछुट्टै व्यक्तिलाई तालिम दिनुभन्दापनी एउटै व्यक्तिलाई सामान्यदेखी एडभान्स तालिमसम्म प्रदान गरि व्यवसायिक बन्नसक्ने सम्मको सहयोग गर्नुपर्ने बताइन् ।
यस्तै सन्जिवनी बचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष जानकी चौधरीले एड्भान्स तालिम लिएका इच्छुक महिलाहरुलाई व्यवसाय स्थापना गर्न ऋण सहयोग गर्ने बताइन् ।
कार्यक्रममा महिला बालबालिका तथा असहाय कल्याण समुहकी अध्यक्ष अम्बिका खतिवडाले महिलाहरुको आर्थिक आयाअर्जन वृद्धिका लागि संस्थाले सिपमुलक र आयमुलक तालिमको आयोजना गर्दै आएको बताईन ।

