चितवन । थारु कला संस्कृति संरक्षण गर्न चितवनको खैरहनीमा ११ औं खिचरा महोत्सव–२०८२’ सुरु भएको छ ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले थारु समुदायको महत्वपूर्ण चाड माघी ‘खिचरा’ पर्वको संरक्षण गर्न महोत्सव नै आयोजना गर्नु सकरात्मक कदम भएको बताएका छन् । खैरहनी–५ गौचरनमा सुरु भएको खिचरा महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले कृषिसँग घनिष्ठ सम्बन्ध रहेको थारु समुदायको उत्थानका लागि प्रदेश सरकार सदैव तयार रहेको बताए ।
“आफ्नो संस्कृति नयाँ पुस्तालाई सिकाउनु आवश्यक छ । कृषि मन्त्रालयको तर्फबाट थारु समुदायको कृषि पद्धतिलाई अझ राम्रो र आधुनिक बनाउन सकिन्छ, त्यसका लागि बागमती प्रदेश सरकारले सहयोग गर्नेछ” मन्त्री पौडेलले भने । मन्त्री पौडेलले भदौ २३ को आन्दोलनलाई युवा विद्रोहको रूपमा व्याख्या गरेका छन् । तर, सोही आन्दोलनलाई दुरुपयोग गरेर २४ गते देश जलाउने काम भएको भन्दै उनले आक्रोश व्यक्त गरे । “युवा विद्रोहलाई दुरुपयोग गरेर हिंसा मच्चाउने र देश जलाउने तत्वहरूलाई जनताले चिन्न जरुरी छ,” उनले थपे ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव समुद्घाटन अघि झाकी सहितको शोभा यात्रा निकालिएको थियो । चितवनका थारु समुदायले खिचरा पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए।
‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला संस्कृतिको प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न संघसंस्थाका स्टल रहेको छ । यस्तै महोत्सव परिसरमा थारु कलासंस्कृति झल्किने आर्ट ग्यालरी समेत निर्माण गरिएको छ ।

