मकवानपुर । बागमती प्रदेश सरकारले बैठकले ३२ वटा ‘प्रदेश गौरवका आयोजना’ छनोट गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न मन्त्रालयहरूले प्रस्ताव गरेका प्रदेश गौरवका आयोजना तथा बहुवर्षीय आयोजनालाई पारित गरेको हो । सरकारले प्रदेशमा ३२ वटा आयोजनाहरूलाई गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
‘बुधबारको बैठकले गौरवका आयोजनाको शीर्षक मात्र स्वीकृत गरेको छ’ मन्त्री तामाङले भने ‘बजेटको हकमा आर्थिक मामिला मन्त्रालयले वित्तीय व्यवस्थापनको क्षमता हेरेर तय गर्नेछ ।’
अरु के के भए निर्णय:
• केही समयदेखि रोकिएको प्रदेश सचिवहरूको तलबका विषयमा प्रदेश ऐनले तोके बमोजिम प्रक्रिया अगाडि बढाउने ।
• प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा तयार गरी परामर्शका लागि लोक सेवा आयोगमा पठाउने। निजामती सेवा ऐनले निदृष्ट गरे बमोजिमका विषयमा थप प्रस्ट पार्न र ऐनले नसमेटेका विषयहरूलाई तोकिएको ढाँचामा प्रस्तुत गर्न नियमावली तयारी गरिएको ।
• ‘विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष नियमावली २०८२’ स्वीकृत । उक्त नियमावली सामाजिक विकास मन्त्रालयको प्रस्तावमा पेश गरिएको हो ।
• कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा ‘प्रादेशिक कृषि थोक बजार सञ्चालन निर्देशिका २०८२’ को मस्यौदा स्वीकृत ।

