मकवानपुर । चेपाङ समुदायले मनार्ने न्वागी पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिएको छ । राक्सिराङ गाउँपालिकाले २१, २२ र २३ भदौमा सूचना जारी गर्दै न्वागी (छोनाम) पर्वको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले चेपाङ समुदायको बाहुल्य रहेकाले राक्सिराङमा न्वागी पर्वका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए।
गाउँपालिका अध्यक्ष मल्लद्वारा जारी गरिएकाे न्वागी पर्वकाे शुभकामनामा भनिएकाे छ ‘बहु-जातीय, बहुभाषिक, बहु-धार्मिक र बहुसांस्कृतिक राष्ट्र रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्वपूर्ण अङ्गको रुपमा प्रकृति पुजक अति सीमान्तकृत चेपाङ्ग जातिको महत्वपूर्ण पर्व न्वागी (छोनाम) को अवसरमा यहि मिति २०८२ भाद्र २१,२२ र २३ गते ३ (तिन) दिन राक्सिराङ्ग गाउँपालिका भरी स्थानीय सार्वजनिक विदा दिने निर्णय भएको हुँदा उक्त दिन गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्थाहरुमा सार्वजनिक विदा हुने भएकोले सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
राक्सिराङले चेपाङ समुदायको संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि विशेष पहल गर्दै आएको उनले बताए । मल्लले भनेका छन् ‘चेपाङ्ग समुदायको महत्वपूर्ण न्वागी पर्वको अवसरमा सम्पूर्णमा सुख, शान्ति, सम्वृद्धिको कामना गर्दै उक्त पर्व हर्षोल्लासका साथ मनाउनुहुन सम्पूर्ण राक्सिराङ्ग वासी तथा देश विदेशमा रहनु भएका चेपाङ्ग सामुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

